लन्डन । दुई वर्ष अघि आजकै दिन (अप्रिल २५) नेपाल महाभूकम्पको चपेटामा परयो । ७.८ म्याग्निच्यूडको उक्त भूकम्पले करिब ९ हजार मारिए भने झण्डै २४ हजार घाइते भए । ५ लाख बढि भवन क्षतिग्रस्त भएको अनुमान छ ।
उक्त प्राकृतिक विध्वंशमा चमत्कारिक रुपमा बांचेका ९ जनाको कथा समेटेर तयार पारिएको वृत्तचित्र पहिलो पटक लन्डनमा प्रदर्शन भएको छ, त्यो पनि बेलायती संसद भवनभित्र । निर्देशक गणेश पाण्डे संसद भवनभित्र आफ्नो वृत्तचित्रबारे बेलिविस्तार लगाउंदा सपना झैं ठानिरहेका थिए । ‘बेलायतको संसद भवनमा मेरो वृत्तचित्र देखाइएला भन्ने त कल्पना पनि थिएन’, पाण्डेले भने, ‘यस्तो ऐतिहासिक अवसर दिलाइदिने एसएनपी सांसद स्टेफेन गेथिन्स् र आयोजकप्रति आभारी छु ।’
कमिटी रुम ६ भित्र वृत्तचित्र प्रदर्शनीका क्रममा बेलायती सांसद भने सहभागी हुन पाएनन् । बेलायतमा जुन ८ मा आमनिर्वाचन गर्ने तयारी तीव्र भइरहंदा सांसदहरुलाई आचारसंहिताले रोकेर डकुमेन्ट्री हेर्न उनीहरु अनुपस्थित रहे ।
कार्यक्रममा निर्देशक पाण्डेले करिब ४५ मिनेट लामो र १३ विभिन्न भाषामा सबटाइटल भएको उक्त वृत्तचित्रले १५ वटा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको बताए । ३२ मुलुकका ६० भन्दा बढि चलचित्र महोत्सवमा छानिइसकेको पाण्डेले जनाए । उक्त वृत्तचित्र अमेरिका, अष्ट्रेलिया र केही युरोपेली देश गरि एकसय भन्दा बढि स्थानमा प्रदर्शन भइसकेको छ । वृत्तचित्रले महाभूकम्पको त्रासदी, बांचेकाहरुको रोदन, तिनले स्मृतिमा सांचेका कहालीलाग्दो अनुभव र भूकम्प इतिहास खोतल्ने प्रयास गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले आफू महाभूकम्पको प्रत्यक्ष साक्षी भएको स्मरण गर्दै नेपाल सरकारले पुनर्निर्माणलाई विशेष प्राथमिकता दिएको बताए । उनले सरकारको नीतिगत र व्यवस्थापकीय प्रवन्धपछि पुनर्निर्माण प्राधिकरण पुनर्निर्माणमा जुटिसकेको उल्लेख गरे ।
वृत्तचित्र प्रदर्शनीपछि भूकम्पमा परेर दिवंगत भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्न मौनधारण समेत गरियो । प्रदर्शनीपछि भावुक देखिएका केही सहभागीले वृत्तचित्रमा समेटिएका पात्रलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने चासो समेत देखाएका थिए ।
उक्त अवसरमा कार्यक्रम संयोजन गरेका यूके नेपाल फ्रेण्डसीप सोसाइटीका कार्यकारी निर्देशक एलान सान्का र नेपाल पर्यटन बोर्डका यूके प्रतिनिधि पशुपति भण्डारी, लिटिल शेर्पा फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत जेम्स् ल्याम्ब लगायतले भूकम्प अनुभव सांटेका थिए । कार्यक्रममा नेपाल पर्यटन सम्वन्धि भिडियो पनि देखाइयो ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने