चितवन, १ कात्तिक । शिक्षा मन्त्री धनीराम पौडेलले सरकारले सबै प्रदेशमा एक विश्वविद्यालयको अवधारणाका साथ काम अघि बढाएको बताउनुभएको छ । यसका लागि मन्त्रालयले उच्च शिक्षा ऐन विधेयक संसद्मा लाने तयारी थालेको उहाँले बताउनुभयो ।
नेपाल पब्लिक क्याम्पस सङ्घले आज यहाँ आयोजना गरेको ‘पब्लिक विश्वविद्यालय स्थापना अभियान’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
उच्च शिक्षा ऐनलाई शिक्षा क्षेत्रको छाता ऐनका रुपमा अघि सार्न लागेको मन्त्री पौडेलले बताउनुभयो । ऐन बनिसकेपछि उच्च शिक्षा आयोग गठन गरी विश्वविद्यालयलाई अघि बढाउने उहाँले बताउनुभयो ।
चितवनमा पब्लिक विश्वविद्यालय स्थापनाका लागि आफ्नो तवरबाट पूर्ण सहयोग गर्ने बताउँदै उहाँले विश्वविद्यालयका लागि बनाउन लागिएको छाता ऐन बनाउने समयसम्म पर्खनका लागिसमेत आग्रह गर्नुभयो । नेपालमा अहिले ७५० भन्दा बढी पब्लिक क्याम्पस रहेको र उनीहरुलाई सरकारले साथमा लिएर हिँड्नु आजको आवश्यकता रहेको उहाँले बताउनुभयो ।
पब्लिक क्याम्पस सङ्घका सल्लाहकार चिरञ्जीवी श्रेष्ठले भरतपुरमा रहेको दियालो बङ्गलामा पब्लिक विश्वविद्यालयको केन्द्रीय कार्यालय बनाउन उपयुक्त हुने बताउनुभयो ।
पब्लिक क्याम्पस प्राध्यापक सङ्घका केन्द्रीय अध्यक्ष गोपाल पाण्डेले पब्लिक विश्वविद्यालय अपरिहार्य रहेको भन्दै समयमा नै निर्णय गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा विभिन्न पब्लिक क्याम्पस व्यवस्थापन समितिका अध्यक्षहरु, पब्लिक क्याम्पस सङ्घका पदाधिकारीलगायतले चितवनमा पब्लिक विश्वविद्यालय स्थापना गर्न माग गर्नुभएको थियो । कार्यक्रम सङ्घका केन्द्रीय अध्यक्ष भोलानाथ ओझाको सभापतित्वमा भएको थियो ।
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह