
काठमाडौँ, २६ माघ । नेपाली कांँग्रेसले पार्टी सभापति सुशील कोइरालाको निधनले कांँग्रेस पार्टीका नेतृत्व र कार्यकर्ता पङ्क्ति मर्माहत र स्तब्ध भएको जनाएको छ ।
पार्टीका कावा सभापति रामचन्द्र पौडेलको अध्यक्षतामा आज बसेको आकस्मिक बैठकले सभापति कोइरालाले राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अविचलित, निष्ठा, सादा र सरल जीवनशैली तथा सुदृढ चारित्रिक र नैतिक बलद्वारा राष्ट्रिय राजनीतिमा शीर्षस्थ स्थान बनाउनुभएको जनाएको छ ।
देशका एक मूर्धन्य, संविधान निर्माणका निर्णायक तथा जनताका लोकप्रिय नेता पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री कोइरालाप्रति कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले भावपूर्ण श्रद्धाञ्जलि अर्पणसमेत गरेको छ । बैठकले स्व कोइरालाका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
बैठकले कोइराला पार्टीका लागि मात्र होइन, मुलुकका निम्ति बोली र व्यवहारमा एकरुपता भएको उदाहरणीय नेता भएको उल्लेख गर्दै कोइरालालाई देश र जनताले अत्यन्त जटिल बन्दै गएको सङ्क्रमणकालीन राजनीतिको बेला संविधानसभाबाट नेपालको संविधान जारी गर्ने अभियानको मुख्य नेताका रुपमा चिरपर्यन्त सम्झिने उल्लेख गरेको छ । संविधान निर्माणपछि पनि संविधानको कार्यान्वयन र यसको निरन्तर परिमार्जनद्वारा संविधानको व्यापक स्वीकारोक्ति बढाउन नेता कोइरालाले संविधान संशोधन प्रक्रियाको समेत नेतृत्व गर्दै आन्दोलनरत सबै पक्षलाई एकता, सहमति र सहकार्यको बाटामा संलग्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको पार्टीले जनाएको छ ।
पार्टीले मधेसमा आन्दोलनरत पक्षलाई निरन्तर संवाद र वार्तामा संलग्न राखेर हिमाल, पहाड, मधेस र तराईका जनताका भावना र पारस्परिक एकतालाई सुदृढ बनाउन र सम्मानजनक निकास खोज्न जीवनको अन्तिम घडीसम्म कोइरालाले निर्वाह गर्नुभएको जनाउँदै शोकको यस घडीमा शान्ति र स्थिरतातर्फ फर्किंदै गएको यात्रालाई सुरक्षित ढङ्गबाट गन्तव्यसम्म पुरयाउने सङ्कल्प गरेको छ ।
पार्टी महाधिवेशनको अन्तिम चरणमा रहँदा आफ्ना प्रिय सभापति र अभिभावकलाई गुमाउनुपरेको पीडाबाट आहत पार्टी कार्यकर्तालाई सभापतिले देखाउनुभएको बाटो, निष्ठा, नैतिकता र सरल जीवन पद्धतिलाई पार्टीको प्रेरणा र पुँजीका रुपमा ग्रहण गर्न बैठकले आग्रहसमेत गरेको छ ।
पार्टीले आफ्ना सभापति स्व कोइरालाको अन्तिम संस्कार बुधबार साँझ आर्यघाटमा राष्ट्रिय सम्मानसहित गरिने निर्णय गरेको छ । स्व कोइरालाप्रति अन्तिम श्रद्धाञ्जलि प्रकट गर्ने प्रयोजनका निम्ति यही माघ २७ गते अपराह्न २ बजेदेखि अन्त्येष्टिका लागि शवयात्रा आरम्भ गर्ने निर्णय गरिएको छ । स्व कोइरालाको शवयात्रा मार्ग त्रिपुरेश्वर–पुतलीसडक–कमलपोखरी–मैतीदेवी–गौशाला हुँदै पशुपति आर्यघाट पुग्ने छ ।
पार्टी मुख्य सचिव ऋषिकेश तिवारीका अनुसार पार्टी केन्द्रीय कार्यालय सहित देशभरिका पार्टी कार्यालयमा १३ दिनसम्म शोकपुस्तिका राखिने र तेह्राँै दिनका दिन ७५ वटै जिल्लामा अन्तिम संस्कारपछिको भष्म प्रवाह गर्ने निर्णय गरिएको छ । स्व कोइरालाप्रति श्रद्धाञ्जलि र सम्मान प्रकट गर्न आजदेखि आगामी फागुन ९ गतेसम्म पार्टी केन्द्रीय कार्यालय र देशभरिका पार्टी कार्यालयमा पार्टीको झन्डा झुकाइने र कुनै पनि अन्य औपचारिक कार्यक्रम आयोजना नगरिने निर्णय गरिएको छ ।
त्यसैगरी पार्टीले आजैदेखि आगामी फागुन ३ गतेसम्म पार्टीको केन्द्रीय कार्यालयसहित सम्पूर्ण कार्यालय र भ्रातृ संस्थाका कार्यालय बन्द गर्ने तथा फागुन ९ गते सबै जिल्लामा श्रद्धाञ्जलिसभा आयोजना गर्ने भएको छ । काठमाडौँ उपत्यकाका लागि केन्द्रीय कार्यालयको आयोजनामा काठमाडौँ, भक्तपुर र ललितपुरको सहभागितामा काठमाडौँमा संयुक्त श्रद्धाञ्जलिसभा गर्ने पार्टीले जनाएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग