बिसौं शताब्दीको अन्तिम दशकताका राजनीतिज्ञहरु, कुटनीतिज्ञहरु र गृहयुद्ध, युद्ध एवं आतंक अन्वेशकहरुले अब शीतयुद्धको अन्त भएपछि विश्वमा शान्ति छाउने कुराहरु गरिरहेका थिए । हातहतियारको युग सकिएको, सर्वसाधारण जनताबीचको दुस्मनी (कन्ल्फिक्ट)को अन्त भएको, अब काटमारको बदला स्वेच्छाको सरसल्लाह, समझदारी र सम्झौता हुने भनेर बहस गर्दथे । तर त्यसको ठीक विपरित अब बिस्तारै मानव जातिको मन धर्मराउन थालेको छ । इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्राटजीको एक अध्ययन अनुसार विश्वभर अहिले ४१ हातहतियार सहितका युद्धहरु भैरहेका छन् । र, अहिले लाग्छ हरेक हप्ता नयाँ युद्धको शुरुवात हुँदैछ । युक्रेन, सिरिया, इराक, यमन, लिबिया, नाइजेरिया, इजरायल र प्यालेस्टाइन यसका केही उदाहरण मात्र हुन् । के यो विश्व साँच्चै छलकपट, युद्ध, आतंक र काटमारको विश्व बन्ने हो त ? के मानव जाति युद्धबिना बाँच्न सक्तैन ?
अहँ ! युद्धबिना मानव जाति बाँच्न सक्तैन भनी दाबी गर्छन् बेलायती इतिहासकार इआन मोरिस । उनको केही समयअघि प्रकाशित उत्तेजित शीर्षक “युद्ध केका लागि राम्रो हो” नामक पुस्तकमा उनी लेख्छन् —युद्धहरु ठूला मुलुकहरुले आ—आफ्नो शक्ति प्रदर्शन गर्न र आफ्ना राज्यहरु अझ शक्तिशाली बनाउन गरिएका छन् । र, संसारमा जति जति ठूला सामाजिक संघ, संस्थाहरु बन्छन् त्यति नै ब्यक्तिवादी हत्या र अपराधहरु कम हुँदै जान्छन् । त्यतिखेर आफूलाइ ठूलो शक्ति मान्ने मुलुकले आफूमाथि आएको धम्की सम्झिन्छ र हतियारसहितको युद्ध शुरु गर्छ ।
इआन मोरिसका उक्त पंक्तिहरुले बेलायती अर्का दार्शनिक थोमस होब्सको सिद्धान्त राज्यशक्तिको एकाधिकार (मोनोपोली अफ स्टेट)को ताजा सम्झना गराउँछ । थोमस होब्सका अनुसार सर्वसाधारण जनता आफ्नो भए भरको सम्पत्ति, इज्जत, मूल्य र मान्यता सुरक्षाका निम्ति राज्यविरुद्ध आन्दोलित हुन्छन् । आन्दोलनबाटै आफ्ना मूल्य, मान्यता, सम्पत्ति र इज्जतको सुरक्षा होस् भन्ने चाहन्छन् । तर आन्दोलित हुँदै जाँदा सुरक्षाको सम्भावना झन् भन्दा झन् तुहिंदै जान्छ । किनभने या त राज्यशक्तिले आन्दोलनलाई तितरबितर पार्छ या त त्योभन्दा ठूलो शक्तिले आन्दोलनलाई हाँक्न थाल्छ र अर्को ठूलो राज्यशक्तिबीच युद्ध सुरु हुन्छ । ठीक यस्तै भैरहेको छ विश्वका विभिन्न मुलुकहरुमा ।
इआन मोरिसले यसप्रकारका युद्धलाई “उत्पादनमुलक युद्ध (प्रोडक्टिभ वार)” भनेर नामाकरण गरेका छन् । उनका अनुसार युद्ध नै नयाँ समाज र नयाँ सामाजिक मान्यता निर्माणको एउटा सही उपाय हो । उनले यसलाई पाक्स रोमनको उदाहरण दिएका छन् । उनका तर्कलाई सरसर्ती हेर्दा अहिलेको फ्रान्सको विद्यमान समाज एउटा ठूलो विश्व प्रसिद्ध युद्धबाट विकसित समाज हो भन्ने बलियो तर्क दिन्छ ।
इआन मोरिसको तर्कहरु जतिसुकै बलियो तर्क भएपनि उनको तर्कमा खोटहरु भने सहजै देख्न सकिन्छ । युद्ध परिस्थितिको अनायास विकास भैरहेको बेला एउटा ब्यक्ति वा एउटा समुदायले त्यसलाई नियन्त्रणमा लिन वा तत्कालिक ब्याख्या गर्न सक्तैन । उत्तेजित मानवद्धारा परिचालित हातहतियार पनि नियन्त्रण हुन सक्तैन । यो लथालिंग र भताभुंग नोक्सानदायी हुन्छ । अघिल्ला शताब्दीहरुमा र २१सौं शताब्दीको सुरुमै भएका युद्धहरु उत्पादनमुलक थिए भन्न सक्ने बलियो आधार पनि छैन । शान्ति भनेको सामान्य अवस्था हो तर शान्तिलाई एक पछि अर्को युद्ध अपराधहरुले दख्खल दिइरहेको छ । यस अर्थमा युद्ध प्रोडक्टिभ हुन्छ भन्न सकिन्न । बरु यसलाई समाजको नोक्सानदायी कारकभन्दा उपयुक्त हुने छ । अपराधीहरुको दम्भ, रिस, राग, द्वेस र बदला लिन चाहनेहरुको घमण्डभन्दा अनुपयुक्त हुने छैन । जसले मानव समाजलाई छिन्नभिन्न पारिरहेको छ ।
युद्ध जसले यसै पनि विश्व तहसनहस पारिरहेको बेला पश्चिमाहरु रुसका विरुद्ध जाइलाग्ने तयारी गरिरहेका छन् । युक्रेन युद्धको एकमात्र जिम्मेवार रुसलाई ठहर्याएका छन् । युद्ध अपवाद नभएर महाशक्तिहरुको आफ्नो शक्ति परीक्षण गर्ने एउटा नियम जस्तो बनिसकेको छ अहिले । १९९१ देखि वशुरु भएको सोमालियाको जनयुद्ध (सिभिल वार) ले मुलुक क्षतविक्षत बनाएको छ जहाँ कुनै सरकारी संयन्त्र संचालन हुन सकिरहेका छैनन् । विगत तीन वर्षदेखि निरन्तर भैरहेको सिरियाको युद्धले त्यहाँका लाखौं सर्वसाधारण जनतालाई तितरबितर मात्र पारेको छैन कि दैनिक सयौंको संख्यामा टाउको गिंडिएको छ । सत्ता र शक्तिको दम्भ र तेलको लोभमा अमेरिकाले इराकमा छेंडेको युद्धले अहिले आएर स्थानीय सर्वसाधारण जनता इस्लामिक स्टेटको नाममा धार्मिक युद्धमा फंसिरहेका छन् । संसारको कान्छो राज्य दक्षिणी सुडान अहिले दुई भिन्न भिन्न समुदायबीच शक्ति युद्धमा फसेको छ । हाम्रै नेपालमा माओवादीका नाममा गरेको दश वर्षे जनयुद्धले मुलुक खोक्रो मात्र भएको छैन कि ठूला तीन शक्तिशाली राज्यहरु (भारत, अमेरिका र युरोपियन)ले क्षेत्रीयता, जातीयता, धार्मिकता र सम्प्रदायको खिचलो पारेर सिभिल वारमा धकेल्ने प्रयास गरिरहेका छन् । समय बित्दै जाँदा नेपालमा भएको माओवादी जनयुद्ध पनि नेपाल र नेपाली भूमिबाट मात्र परिकल्पित, उत्पादित र परिचालित रहेनछ भन्ने प्रमाणित भएको छ । जहाँ जहाँ आर्थिक स्थिति कमजोर हुन्छ, जहाँका जनता गरिब छन्, त्यहाँ त्यहाँ शक्तिशाली राज्यहरुले आगो सल्काउने र आफ्नो स्वार्थ र शक्ति प्रदर्शन गर्ने गरेको कुरा दिनको घाम जत्तिकै छर्लंग छ । उदाहरण खोज्न टाढा जानु पर्दैन । अमेरिकाले २००४ सालदेखि सिआइएको स्पेशल एक्टीभिटी डिभिजनको नेतृत्वमा उत्तर पूर्व पाकिस्थानमा रिमुट कन्ट्रोलद्धारा CREECH AIR FORCE BASE AMERIKA बाट युद्ध गरिरहेको छ । उक्त रिमुट कन्ट्रोल युद्ध लडाकु (UAV) (अन म्यान्ड एरियल भिएकल्स) मान्छे नभएको लडाकु विमान २००४ को तुलनामा बाराक ओबामाको पालादेखि अरु बढ्दै गैरहेको छ । अमेरिकीहरुले खासगरि “वार अन टेरोर” घोषणा गरेदेखि यसप्रकारको स्ट्राटजी प्लान गरेका हो ।
अचम्मको कुरा त के भने सत्ताधारीहरुले आफू सत्तामा बसिरहन र नितान्त ब्यक्तिगत स्वार्थ पूर्तिका निम्ति दोहरो चरित्र देखाउने गर्दछन् । एकातिर पाकिस्तानी सरकारले आफ्ना जनतासमक्ष पाकिस्तानमाथि भैरहहेको अमेरिकी आक्रमणको विरोध गरेको देखाएको छ भने अर्कोतिर पाकिस्तान सरकारले अमेरिकालाई साम्जी एयर फिल्ड पाकिस्तानबाट मान्छे नभएको लडाकु विमान अर्थात रोबोट चलाउन अनुमति दिइरहेको छ । अमेरिकाले लगभग एक दशकदेखि पाकिस्तानी गुरिल्ला एबं स्वतन्त्रता सेनानी विरुद्ध आक्रमण गरिरहेको छ र सिआइएले यसको प्रतिफल लिंदै आइरहेको छ । एक पत्रकार सम्मेलनमा तत्कालिन अमेरिकी विदेश मन्त्री हिलरी क्लिन्टन समक्ष पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा उनले अमेरिकाको युद्ध स्ट्राटजी प्लान र टेक्नोलजी बारे कुनै कमेन्ट गर्न चाहन्न भनिन् । यस प्रकारको युद्ध लडाकु विमानहरु २००१ मा अफगानिस्तानमाथि आक्रमण गरेदेखि पाकिस्तानमाथिको आकाशमा उडिरहेका छन् । यी मान्छे विहिन युद्ध विमानहरु अमेरिकी पाइलटहरुले CREECH AIR FORCE BASE AMERIKA बाट उडाइ रहेका छन् र उनीहरुले खिचेका भिडियोहरु पाकिस्तानी सरकारलाई उपलब्ध गराउंदै आइरहेका छन् । ती मान्छे विहिन युद्ध विमानहरु अफगानिस्तानको जलालाबाद र कुनै कुनै पाकिस्तानबाटै उड्दछन् । न्यूयोर्क टाइम्सको एक रिपोर्ट अनुसार ती मान्छे विहिन युद्ध विमानहरु सिआइएको हेड क्वाटर लाङ्गली, भर्जिनियाबाट कन्ट्रोल गरिएका छन् । उता सिआइएले भने अफगानिस्तानमा गरिएका हवाइ आक्रमणबाट थोरै संख्यामा मानिस हताहत हुने गरी डिजाइन गरेको दाबी गरेको छ । तर न्यू अमेरिका फाउण्डेशनको पब्लिक रिपोर्ट अनुसार ८२ वटा मान्छे विहिन युद्ध विमानहरुले २००६ सालदेखि अहिले सम्ममा पाकिस्तानमा मात्र तीनहजार भन्दा बढी मानव हत्या गरेको बताइएको छ । जसमध्ये आधीभन्दा बढी सर्वसाधारण एवं बालबच्चा भएको बताइन्छ ।
त्यति मात्र नभएर पाकिस्तान सरकारले, जुन जुन ठाउँहरुमा मान्छे विहिन युद्ध विमानहरु मार्फत आक्रमण भएको छ, त्यहाँ त्यहाँ पत्रकारहरुलाइ पुग्न र यसबारे रिपोर्ट गर्न प्रतिबन्ध लगाएको छ । त्यसैले यथार्थमा के कति मान्छेहरु, पाकिस्थानमा मान्छे विहिन युद्ध विमानहरुको आक्रमणद्धारा मारिएका छन् भन्ने थाहा लाग्न सकेको छैन । यस्तैगरी अमेरिकाले २००८ साल ताका यस्तै प्रकारको आक्रमण प्यालेस्टिनी मार्ने योजना बनाएको थियो । जुन आक्रमणद्धारा निर्धारित रुपमा “टेरोरिष्ट”हरुलाई मात्र मार्ने योजना भन्दै आइरहेको हो । अमेरिकाका अनुसार यदि उनीहरुले यी मान्छे विहिन युद्ध विमानहरु प्यालेस्टिनीमाथि पनि चलाएमा आफ्ना सैनिकहरु मर्ने छैनन् । अमेरिकाको यो तर्कबारे अमेरिका भित्रै निकै विरोध भएको थियो । जर्ज टाउन युनिभर्सिटी, कानून बिभागका प्रोफेसर ग्यरी सोलीसले न्यू योर्कर पत्रिकासंग यो अमेरिकी योजनाको तीब्र आलोचना गरेका थिए ।
गतवर्ष इजरायलले प्यालेस्टिनामाथि ठूलो संख्यामा बम वर्षा गर्यो । जसबाट हजारौं मानिसहरुको इहलीला समाप्त भयो । त्यस बेलामा आफूलाई संसारको प्रहरी भन्न मन पराउने अमेरिकाले इजरायललाई बम बर्साउन बन्द गर्ने आदेश दिन चाहेन । एकातिर शान्तिवार्ता, हतियार बिसाउने वार्ता भन्दै विश्व जनसमुदायलाई भुलाइरह्यो भने अर्कोतिर इजरायललाई बम बर्साउन स्वतन्त्र छोडिरहेको छ । के यस्तो अवस्थामा एकले अर्कोलाई विश्वास गर्न सक्ला ? के एकतर्फी चाहनाले मात्र युद्ध बन्द होला ? यद्यपि २१सौं शताब्दी लागेपछि न्युक्लियर र एटम युद्ध भएको छैन र यी हतियारहरु मिलिट्री रणनीतिमा मात्र सीमित छ तथापि न्युक्लियर र एटम युद्ध नहोला कि भनेर ढुक्क हुने अवस्था भने अब रहेन । किनभने संसारभर १६ हजार ३०० एटमबम स्टेशनहरु बनाइएका छन् भने ४००० एटम बम पड्काउन तैयारी अवस्थामा राखिएका छन् ।
केही महिनाअघि मैले एकजना भारतीय सैनिक र युद्ध विशेषज्ञ (दुर्भाग्य मैले उनको नाम बिर्सें) ले हिरोसिमाको यात्रा गरेपछि दिएको प्रतिकृया नवभारत टाइम्समा पढेको थिएँ । उनको प्रतिकृया थियो केही ह्ृदयविहिनहरुको घमण्डका कारण चकनाचुर भएको भए पनि आज हिरोसिमा कलकलाउँदो र संसारका लागि उदाहरण बनेको छ । जापानी जनताप्रति म गौरव गर्दछु । हुन पनि हो एउटा न्युक्लियर एटम युद्धले दशौं लाख निमुखा जनताको हत्या हुन्छ भने हज्जारौं बिगाहा जमिन ध्वस्त पार्छ । तर पनि यो विश्वको अन्त भने हुने छैन ।
आफूलाई संसारका शक्तिशाली भन्ने मुलुकहरुले आफ्नो सुरक्षाका लगि भनेर न्युक्लियर र एटमबम स्टेशनहरु बनाएका छन् तर त्यो युद्ध रोक्ने कुनै समाधान होइन बरु यो त युद्ध छेडिने ठूलो समस्या हो जसले संसारका दशौं लाख मानिसहरुको एउटै चिहान बनाउने छ ।
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा