बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित


लन्डन । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले पदबाट राजीनामा दिएपछि आगामी जुलाई २२ मा तय गरिएको बेलायत–युरोपेली सङ्घ (इयू) शिखर सम्मेलन स्थगित भएको छ ।

बेलायतका युरोपेली सङ्घ सम्बन्धमन्त्री निक थोमस–साइमन्ड्सले मङ्गलबार उक्त निर्णयप्रति निराशा व्यक्त गर्नुभएको छ । ब्रेक्जिट जनमतसङ्ग्रहको दशौँ वार्षिकोत्सवका अवसरमा बीबीसी रेडियोसँग कुरा गर्दै उहाँले शिखर सम्मेलन स्थगित हुनु निराशाजनक भएको बताउनुभयो ।

बेलायत र इयूबीच ब्रेक्जिटपछिका सम्बन्ध सुधार गर्ने उद्देश्यले आयोजना गर्न लागिएको दोस्रो शिखर सम्मेलनमा स्टार्मर तथा इयूका वरिष्ठ अधिकारी उर्सुला भोन डेर लेयन र एन्टोनियो कोस्टाको सहभागिता रहने तय भएको थियो ।

आन्तरिक राजनीतिक दबाबका कारण स्टार्मरले सोमबार पद त्याग्ने घोषणा गरेपछि युरोपेली आयोगले शिखर सम्मेलन स्थगित गरिएको पुष्टि गरेको हो । युरोपेली आयोगकी प्रवक्ता पाउला पिन्होले शिखर सम्मेलन रद्द नभई स्थगित मात्र गरिएको बताउँदै अनुकूल अवसर मिल्नेबित्तिकै नयाँ मिति तय गरिने जानकारी दिनुभयो ।

बेलायती सरकारका एक प्रवक्ताले सकेसम्म चाँडो अर्को शिखर सम्मेलन आयोजना गर्न सरकार प्रतिबद्ध रहेको तथा स्टार्मरको कार्यकालमा भएका सहमति कार्यान्वयन गरिने बताउनुभयो । झण्डै दुई वर्षे कार्यकालमा स्टार्मरले बेलायतको इयूसँगको सम्बन्ध सुधार गर्ने प्रयास गर्नुभएको थियो । यद्यपि उहाँले सन् २०१६को ब्रेक्जिट जनमतसङ्ग्रहको निर्णय उल्टिने अर्थ लाग्ने भन्दै भन्सार सङ्घमा पुनः आबद्ध हुने सम्भावनालाई अस्वीकार गर्नुभएको थियो । बरु उहाँले साझा बजारसँगको सम्बन्ध थप सुदृढ बनाउने नीति अघि सार्नुभएको थियो ।

स्टार्मरका सम्भावित उत्तराधिकारीका रूपमा हेरिएका लेबर पार्टीका वरिष्ठ नेता एन्डी बर्नह्यामले भविष्यमा बेलायत पुनः इयूमा आबद्ध भएको देख्न चाहेको बताउनुभएको छ । यद्यपि उहाँले यस विषयलाई राजनीतिक विवादबाट टाढा राख्ने प्रयास गरिरहनुभएको छ ।

लन्डन स्कुल अफ इकोनोमिक्सका राजनीतिशास्त्र प्राध्यापक टोनी ट्राभर्सका अनुसार ब्रेक्जिटका कारण बेलायतले आर्थिक उत्पादन र उत्पादकत्वमा क्षति बेहोरेको विषयमा स्टार्मर र बर्नह्याम दुवै सहमत छन् । तर इयूसँग थप निकटता कायम गर्ने प्रयास राजनीतिक रूपमा चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ ।

क्याम्ब्रिज विश्वविद्यालयकी युरोपेली सङ्घ कानुन विषयकी प्राध्यापक क्याथरिन बनार्डले पछिल्ला सर्वेक्षणले अधिकांश बेलायतीले ब्रेक्जिटलाई गल्ती ठाने पनि त्यसले पुनः इयूमा आबद्ध हुन चाहेको अर्थ नलाग्ने बताउनुभयो ।
गत मे महिनामा बेलायत र इयूबीच रक्षा तथा व्यापारिक सम्बन्ध सुदृढ गर्ने ऐतिहासिक सम्झौता भएको थियो । साथै बेलायत सन् २०२७ देखि इयूको लोकप्रिय इरास्मस विद्यार्थी आदानप्रदान कार्यक्रममा पुनः सहभागी हुने सहमति पनि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री