
रजोनिवृत्ति (Menopause) महिलाको जीवनमा आउने एउटा प्राकृतिक र महत्त्वपूर्ण चरण हो। धेरै महिलाहरूले मेनोपजको नाम सुनेका हुन्छन्, तर यसले शरीर, मन र भावनामा पार्न सक्ने प्रभावबारे पर्याप्त जानकारी नहुन सक्छ। अझै पनि धेरै समाजमा मेनोपजलाई खुलेर छलफल गर्ने विषय मानिँदैन, जसको कारण कतिपय महिलाहरूले आफ्ना अनुभव र समस्याहरू एक्लै सहनुपरेको हुन्छ। तर मेनोपज कुनै रोग होइन, यो बुझ्नुपर्ने, स्वीकार गर्नुपर्ने र आवश्यक सहयोग पाउनुपर्ने जीवनको एउटा स्वाभाविक यात्रा हो ।
मलाई पनि सुरुमा मेनोपजको बारेमा धेरै कुरा थाहा थिएन। हाम्रो समाजमा महिलाको स्वास्थ्यसँग सम्बन्धित धेरै विषयहरू अझै पनि खुलेर छलफल हुने गर्दैनन्। महिनावारी, हर्मोन र शरीरमा आउने परिवर्तनहरूबारे कुरा गर्न धेरै महिलाहरूलाई अप्ठ्यारो लाग्छ। तर जीवनको कुनै न कुनै चरणमा हरेक महिलाले आफ्नो शरीरमा आउने परिवर्तनलाई बुझ्नुपर्ने हुन्छ।
मेनोपज भनेको के हो?
मेनोपज महिलाको जीवनमा आउने एउटा प्राकृतिक अवस्था हो, जहाँ शरीरमा हुने हर्मोन परिवर्तनका कारण महिनावारी स्थायी रूपमा बन्द हुन्छ।
महिलाको शरीरमा अण्डाशय (ovary)ले बनाउने एस्ट्रोजेन र प्रोजेस्टेरोनजस्ता हर्मोनहरू उमेरसँगै बिस्तारै कम हुँदै जान्छन्। यही कारणले महिनावारी पहिले अनियमित हुन सक्छ र पछि पूर्ण रूपमा बन्द हुन्छ। सामान्यतया ४५ देखि ५५ वर्षको उमेरबीच धेरै महिलामा मेनोपज देखिन्छ, तर हरेक महिलाको अनुभव फरक हुन सक्छ।
मेनोपज केवल महिनावारी रोकिने कुरा मात्र होइन। हर्मोनमा आउने परिवर्तनले शरीर, मन र भावनामा पनि धेरै असर पार्न सक्छ।
मेनोपजका सम्भावित लक्षणहरू:
यी सबै लक्षण हरेक महिलामा एउटै हुँदैनन्। तर यदि यस्ता परिवर्तनहरूले दैनिक जीवनमा असर पारिरहेका छन् भने चिकित्सकहरुको सहयोग लिनु आवश्यक हुन्छ |
मेरो आफ्नै मेनोपज यात्रा:
मेरो यात्रा पनि सजिलो थिएन। जब मेरो जीवनमा मेनोपजको समय आयो, मैले पनि शरीर र मनमा धेरै परिवर्तन महसुस गरेँ। सुरुमा मलाई थाहा थिएन कि यी धेरै अनुभवहरू मेनोपजसँग सम्बन्धित हुन सक्छन्।
शरीरमा आएको परिवर्तन मात्र होइन, मनभित्र आउने भावनाहरू पनि चुनौतीपूर्ण थिए। कहिलेकाहीँ अति नै थकान महसुस हुने, अहिले भनेको कुरा अहिले बिर्सने, बेचैनी हुने, आत्मबल घट्ने, कसैसँग धेरै कुराकानी गर्न मन नलाग्ने, एक्लै बस्न मन लाग्ने, यो जीवन त केही होइन भने जस्तो लाग्ने र आफूलाई आफैंले नचिनेको जस्तो महसुस हुने अवस्था आउँथ्यो। मेनोपज हुनु भन्दा अगाडिको ‘म’ र अहिलेको ‘म’ मा आकाश पातालको फरक पाउँछु ।
त्यसपछि मैले यो विषयलाई बुझ्ने प्रयास गरेँ। मैले धेरै अनुसन्धान गरेँ, पढेँ, स्वास्थ्य विशेषज्ञहरूको कुरा सुनेँ, चिकित्सकहरूका अन्तर्वार्ता सुनेँ। बिस्तारै मैले बुझ्दै गएँ—ज्ञानले डर कम गर्छ र सही जानकारीले जीवन सहज बनाउन सक्छ। र मलाई पनि त्यस्तै भयो |
‘म बेलायतमा बस्छु। यहाँ National Health Service (NHS) बेलायतको सरकारी स्वास्थ्य सेवा प्रणाली हो, जसले महिलाहरूलाई मेनोपजसम्बन्धी स्वास्थ्य सेवा, परामर्श र सहयोग उपलब्ध गराउँछ। आफ्नो समस्या लिएर स्वास्थ्यकर्मीसँग कुरा गर्नु र सहयोग लिनु कति महत्त्वपूर्ण रहेछ भन्ने मैले मेरो अनुभवबाट सिकेँ। मैले HRT (Hormone Replacement Therapy) उपचार सुरु गरेको दुई वर्ष भयो। मेरो व्यक्तिगत अनुभवमा, यसले मलाई धेरै सहयोग गरेको छ। यसले मेनोपजका कारणले आएका कठिन पक्षहरूलाई व्यवस्थापन गर्न र जीवनलाई फेरि सहज बनाउन मद्दत गरेको छ। तर HRT सबै महिलाका लागि एउटै उपचार हुँदैन। हरेक महिलाको स्वास्थ्य अवस्था फरक हुन्छ, त्यसैले चिकित्सकसँग सल्लाह गरेर मात्र उपचारको निर्णय लिनुपर्छ।
मेरो अनुभवबाट एउटा सन्देश
म सबै दिदीबहिनीहरूलाई भन्न चाहन्छु, कृपया आफ्नो समस्या लुकाएर एक्लै नबस्नुहोस्। यदि मेनोपजका कारण तपाईंको जीवन कठिन भइरहेको छ भने आफ्नो GP वा चिकित्सकहरुसँग भेट्नुहोस्, आफ्नो समस्या खुलेर भन्नुहोस् र आवश्यक सहयोग लिनुहोस्। मेनोपज रोग होइन, यो महिलाको जीवनको एउटा प्राकृतिक अध्याय हो।
समयमा आफ्नो जीवनशैलीमा ध्यान दिनु धेरै महत्त्वपूर्ण हुन्छ। नियमित व्यायाम, योग, हिँडडुल, स्वस्थ खाना, पर्याप्त आराम र आफ्नो लागि समय निकाल्नुले धेरै सहयोग गर्छ। जब मैले आफ्नो अनुभव र जानकारी अरू महिलासँग बाँड्न थालेँ, मैले महसुस गरेँ कि धेरै दिदीबहिनीहरूलाई यस विषयमा जानकारीको आवश्यकता रहेछ।
त्यसैले मैले सामाजिक सञ्जालमार्फत मेनोपजसम्बन्धी सचेतनामूलक भिडियोहरू बनाउन थालेँ। जहाँ-जहाँ कार्यक्रमहरूमा जाने अवसर मिल्छ, म दिदीबहिनीहरूसँग यो विषयमा खुलेर कुरा गर्ने प्रयास गर्छु। मेरो उद्देश्य केवल आफ्नो कथा सुनाउनु होइन, मेरो चाहना हो, कुनै पनि महिला दिदीबहिनीहरू जानकारीको कमीका कारण आफ्नो पीडा एक्लै सहन नपरोस्। परिवारको साथ यस समयमा अत्यन्त महत्त्वपूर्ण हुन्छ। विशेषगरी श्रीमान्को भूमिका धेरै ठूलो हुन्छ। मेनोपजका कारण आउने परिवर्तनलाई बुझ्ने प्रयास, धैर्य र साथले महिलाको जीवन धेरै सहज बनाउन सक्छ। कहिलेकाहीँ एउटा सानो वाक्य जस्तै तिम्रो उपचार के हुँदैछ? मैले केही सहयोग गर्न सक्छु? ‘म तिम्रो साथमा छु।’ यति मात्र वाक्यले पनि एक पीडित महिलाको लागि ठूलो शक्ति दिन सक्छ।
हामीले मेनोपजलाई लुकाउने विषय होइन, बुझ्ने विषय बनाउनुपर्छ। किनकि हरेक महिलाको स्वास्थ्य, आत्मसम्मान र खुशी महत्त्वपूर्ण छ। मेरो मेनोपज यात्राले मलाई सिकाएको सबैभन्दा ठूलो कुरा यही हो—आफूले पाएको ज्ञान अरूको जीवन सहज बनाउन प्रयोग गर्न सक्नु नै मेरो ठूलो उद्देश्य हो।
बेलायतमा रजोनिवृत्ति (Menopause) सम्बन्धी जनचेतना अभियान पछिल्ला केही वर्षमा निकै प्रभावकारी रूपमा अघि बढेको छ। विश्वस्तरमा मेनोपजबारे सही जानकारी फैलाउने उद्देश्यले अन्तर्राष्ट्रिय रजोनिवृत्ति समाज (International Menopause Society)को पहलमा सन् २००९ देखि हरेक वर्ष अक्टोबर १८ तारिखमा विश्व मेनोपज दिवस मनाउन थालियो। बेलायतमा भने सन् २०१० को दशकपछि मेनोपजबारे खुला छलफल र जनचेतना बढ्दै गयो। सन् २०१९ मा डियान डान्जेब्रिङ्क (Diane Danzebrink)ले सुरु गरेको ‘मेक मेनोपज म्याटर’ (#MakeMenopauseMatter) अभियानले मेनोपज शिक्षा, स्वास्थ्यकर्मीको तालिम र कार्यस्थलमा सहयोगको आवश्यकता उठायो। त्यसपछि सन् २०२१ मा टेलिभिजन प्रस्तोता डाभिना म्याकल (Davina McCall)ले आफ्नो वृत्तचित्र सेक्स, मिथ्स एन्ड द मेनोपज’मार्फत मेनोपजका अनुभव र चुनौतीहरूलाई सार्वजनिक बहसको विषय बनाउँदै बेलायतमा जनचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेलिन् ।
नेपालमा पनि पछिल्ला वर्षहरूमा महिलाको स्वास्थ्यसँग सम्बन्धित विषयहरूमा खुला संवाद र सचेतना बढ्दै गएको छ। तर अझै पनि धेरै महिलाहरूले मेनोपजका लक्षण, उपचार र सहयोगका विकल्पबारे पर्याप्त जानकारी पाउन सकेका छैनन्। त्यसैले बेलायत होस् वा नेपाल, मेनोपज लुकाउने विषय होइन, बुझ्ने, स्वीकार गर्ने र आवश्यक सहयोग पाउने जीवनको स्वाभाविक चरणका रूपमा हेर्नु आवश्यक छ।
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी