स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन

एबर्डिन, स्कटल्याण्ड । एबर्डिनमा बसोबास गर्दै आएका नेपाली चेलीहरू चन्द्रा श्रेष्ठ र श्रुति श्रेष्ठले एबर्डिन हिन्दु मन्दिरको सहयोगार्थ यही शनिबार आयोजित एबर्डिन फुड मेलामा परम्परागत नेपाली परिकार सेलरोटी बिक्री गरी दुई घण्टामै ४०० पाउण्ड संकलन गरेका छन् । श्रेष्ठद्वयले यसअघि आयोजित फुड मेलामा पनि नेवारी परिकार बिक्री गरी मन्दिरलाई आर्थिक सहयोग प्रदान गरेका थिए ।

नेपाली संस्कृति र परम्परागत खानाको प्रवर्द्धनसँगै सामाजिक तथा धार्मिक कार्यमा निरन्तर योगदान दिँदै आएको प्रयासलाई सहभागीहरूले प्रशंसा गरेका छन्। एबर्डिन हिन्दु मन्दिरद्वारा आयोजित फुड मेलामा विभिन्न देश तथा क्षेत्रका परिकारका स्टलहरू राखिएका थिए । अपराह्न ४ बजेदेखि सुरु भएको मेलामा चन्द्रा र श्रुति श्रेष्ठले सेलरोटी, अचार तथा नेपाली चिया बिक्रीका लागि स्टल सञ्चालन गरेका थिए ।

नेपाली स्वादका परिकारप्रति सहभागीहरूको आकर्षण उल्लेखनीय देखिएको थियो । विशेषगरी सेलरोटीप्रति दर्शक तथा सहभागीहरूको उत्साह उच्च रह्यो। मेलामा आएका आगन्तुकहरूले नेपाली परिकारको स्वाद लिन उत्साहपूर्वक सहभागिता जनाएपछि स्टलमा राखिएका सम्पूर्ण खाद्य सामग्री दुई घण्टाभित्रै बिक्री भएका थिए ।

सेलरोटी, अचार र नेपाली चिया बिक्रीबाट संकलित ४०० पाउन्ड रकम कार्यक्रमस्थलमै एबर्डिन हिन्दु मन्दिरको कोषमा हस्तान्तरण गरिएको थियो । एबर्डिन हिन्दु मन्दिर ट्रस्टका पूर्वसचिव तथा समाजसेवी डा.नारायण श्रेष्ठले नेपाली परम्परागत खानाको लोकप्रियताले स्थानीय समुदायमा नेपाली संस्कृति चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले नेपाली समुदाय र स्थानीय समाजबीच सांस्कृतिक आदानप्रदान तथा आपसी सद्भाव बढाउनसमेत सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । एबर्डिन हिन्दु मन्दिरका धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिहरूमा नेपाली समुदायको सक्रिय सहभागिता रहँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री