पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण

पोखरा । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज बेलायतका पूर्वअध्यक्ष एवं केन्द्रीय सल्लाहकार सुमलकुमार गुरुङको साझा प्रकाशनद्वारा प्रकाशित युद्ध उपन्यास ‘कर्मवीर’ को शुक्रबार पोखरामा लोकर्पण गरिएको छ ।

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज गण्डकी एवं तमु सांस्कृतिक प्रतिष्ठान नेपालले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तसहित साहित्यकारले कृतिको लोकार्पण गर्नुभयो ।

कार्यक्रममा सरुभक्तले विसं १९६० मा गिरिशबल्लभ जोशीद्वारा लिखित ‘वीरचरित्र’ नेपाली साहित्यको पहिलो मौलिक उपन्यासका रूपमा रहेको बताउँदै नेपाली उपन्यासका क्षेत्रमा हालसम्म एक हजारभन्दा बढी उपन्यास लेखिएका हुनसक्ने बताउनुभयो । बहुआयामिक व्यक्तित्व गुरुङको यो आख्यानात्मक कृति युद्ध साहित्यका रूपमा रहेको उहाँले उल्लेख गर्नुभयो ।

उपन्यासको समीक्षा गर्दै साहित्यकार असफल गौतमले युद्ध उपन्यासका रूपमा कृति लेखिएको बताउँदै हाम्रा संस्कार, संस्कृति, मौलिक परम्परासँगै चालनचलनको जीवन्त चित्रण पुस्तकमा रहेको उल्लेख गर्नुभयो । वरिष्ठ साहित्यकार चन्द्रप्रकाश बानियाँले युद्ध साहित्य पाठकको रुचिको विषय हुने गरेको बताउँदै गुरुङको यो कृति पठनीय बन्ने विश्वास व्यक्त गर्नुभयो ।

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका संस्थापक अध्यक्ष दुर्गाबहादुर शाहले बहुआयामिक व्यक्तित्व सुमलकुमारको कर्मवीर नेपाली साहित्यका क्षेत्रमा एउटा महत्वपूर्ण सम्पत्तिका रूपमा रहने बताउनुभयो । कृतिले हाम्रो समाज, परिवेश र वातावरणलाई जीवन्त चित्रण गरेको उहाँको भनाइ छ ।

वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले यस कृतिका माध्यमबाट गुरुङले नेपाली साहित्यलाई सीमापार गराउनुभएको धारणा राख्नुभयो । कृतिका सर्जक गुरुङले उपन्यास लेखनको पृष्ठभूमिका सम्बन्धमा जानकारी गराउनुभयो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार चन्द्रप्रकाश बानियाँ, गण्डकी प्रज्ञा-प्रतिष्ठानका निवर्तमान कुलपति सूर्यबहादुर खड्का, तमु धीं नेपालका अध्यक्ष होम तमु, तमु प्ये ल्हु सङ्घका अध्यक्ष ओमबहादुर थिम्चे, तमु सांस्कृतिक परिवारका सल्लाहकार सदस्य चिजकाजी गुरुङ, गौरी तमु, कञ्चन तमु, सारादेवी गुरुङलगायतले कृतिकारको व्यक्तित्व एवं कृतिका सम्बन्धमा चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री