विश्वकप लिग-२ : युएईमाथि नेपालको जित

काठमाडौँ । आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई)माथि जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेल वर्षाले प्रभावित बनेको खेलमा नेपालले युएईलाई डिएल मेथडका आधारमा छ रनले पराजित गरेको हो । डिएल मेथडका आधारमा नेपालले दिएको २५५ रनको बलियो लक्ष्य युएईले ३८ ओभरको समाप्तिमा सात विकेट गुमाउँदै २४८ रनमा समेटियो ।

युएईका लागि मुहम्मद शहदादले सर्वाधिक ६५ रनको योगदान दिए । त्यस्तै खुजैमा तनवीरले ४९ बनाए । त्यसअघि नेपालले दिएको २९० रनको लक्ष्य पछ्याइरहेको युएईले ४.१ ओभरमा एक विकेट गुमाउँदै ३६ रन जोड्दा वर्षा बाधक बनेको थियो । त्यसपछि खेल करिब ४५ मिनेट रोकिन पुग्यो र अन्तत खेललाई ३८ ओभरमा झारिएको थियो ।

नेपालको जितमा बलिङतर्फ सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिए । त्यस्तै सोमपाल कामी र नन्दन यादवले समान दुई-दुई विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २८९ रनको बलियो योगफल खडा गरेको हो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै ९४ बलमा १३ चौका र एक छक्काको मद्दतमा १०० रनको शानदार शतक प्रहार गरे । उनी अन्तिम बलमा रनआउट भएका थिए । मध्यक्रममा गुल्शन झाले पनि आक्रामक खेल देखाउँदै ३८ बलमा ४४ रन जोडे । ओपनर विनोद भण्डारीले संयमित इनिङ्स खेल्दै ७९ बलमा ५६ रन बनाए भने कप्तान रोहित पौडेलले ४८ बलमा ३९ रनको योगदान दिए । अर्जुन कुमालले ११ रन बनाउँदा भीम सार्कीले खाता नै खोल्न सकेनन् । आरिफ शेखले ११ रन थपे ।

नेपालले सुरुआती ओभरमा केही दबाब झेले पनि मध्यक्रममा ऐरी र भण्डारीबीचको साझेदारीले इनिङ्स सम्हालेको थियो । युएईका लागि जुनैद सिद्दीकी र अजय कुमारले समान दुई-दुई विकेट लिए भने हैदर अली र खुजैमा तनवीरले एक-एक विकेट हात पारे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री