बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने

लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने भएको छ ।

धार्मिक पूजापाठसहित अल्डरसटस्थित एम्पायर हलमा बुद्ध जयन्ती मनाउन लागिएको बीसीसी यूकेका अध्यक्ष आङ्ग दावा शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार समारोहमा काठमाडौं बौद्धस्थित सेचेन गुम्बाका खेन्पो गुरु संगय फुन्टशोक शेर्पाको विशेष उपस्थिति रहनेछ । यस्तै बुद्ध जयन्ती समारोहमा लन्डनस्थित नेपाली दूतावासका प्रतिनिधि, स्थानीय रस्मोर बोरो काउन्सिलका मेयर, काउन्सिलर, विभिन्न धार्मिक, सामाजिक एवं परोपकारी संघसंस्थाका प्रतिनिधि, समाजसेवी, उद्यमी, व्यापारीलगायत भक्तजनहरुको सहभागिता रहने छ ।

कार्यक्रम बिहान ८ बजेदेखि १० बजेसम्म अल्डरसटस्थित बीसीसी गुम्बामा प्रमुख लामा खेन्पो छिरिङ्ग, खेन्पो यन्तेन, लामा कोशिषलगायत धर्म गुरुहरुले बुद्ध साधना पूजा गर्नुहुनेछ । दोस्रो चरणमा सोही दिन बिहान ११ बजेदेखि अल्डरसटस्थित एम्पायर हलमा बुद्धजयन्ती मनाइने बीसीसी यूकेका उपाध्यक्ष एवं बुद्ध जयन्ती समारोह आयोजक समितिका संयोजक रोबिन गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सुरुमा अतिथिहरुको स्वागत, शुभ–मंगल पाठ, मण्डला अफरिङ्ग गरिने कार्यक्रम छ । त्यसपश्चात् प्रवचन र अभिषेक प्रदान गरिने छ ।

कार्यक्रमको अन्त्यमा खेन्पो फुन्टुशोक शेर्पाले अमितायुस लङ्ग लाईफ इम्वापरमेन्टको बिशेषता र महत्वबारे प्रवचन दिनुका साथसाथै आयुको अभिषेक (वाङ्ग) दिने अध्यक्ष शेर्पाले बताउनुभयो ।प्रवेश, खाना र चियापन निःशुल्कको व्यवस्था गरिएको कार्यक्रमका लागि भोजनतथा दिपप्रज्वलनमा दान गर्न इच्छुक महानुभावहरुले बीसीसी गुम्बाको कार्यालयमा सम्पर्क गर्न कार्यक्रम संयोजक गुरुङले आग्रह गर्नुभयो । साथै, बीसीसी यूकेका महासचिव मेजर कुमार गुरुङ एमभिओका अनुसार कार्यक्रममा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीलाई विशेष अतिथि, विभिन्न संघसंस्थाका अध्यक्षहरु, विभिन्न गुम्बाका गुरुहरु, उद्यमी, व्यापारी एवं दाताहरुलाई अतिथिको रुपमा निमन्त्रणा गरिसकिएको छ ।

बुद्ध जयन्तीलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि बीसीसी यूकेको सिंगो कार्यसमिति, आमाहरु र सल्लाहकारहरु तयारीमा जुटिरहेको अध्यक्ष शेर्पाले जानकारी गराउनुभयो । उहाँले कार्यक्रममा सहभागी हुनका लागि सम्पूर्ण बेलायतवासी नेपाली आमाबुबा, दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री