
लन्डन । बेलायतमा सम्पन्न १७औँ यलम्बरहाङ कप फुटबल प्रतियोगिताको उपाधि टि डब्लू वारियरले जितेको छ ।
किरात याक्थुङ चुम्लुङ यूकेको आयोजनामा अप्रिल १८ मा केन्टको याल्डिङ, मेडस्टोनस्थित केवाईसी यूके चुम्लुङदेनमा भएको फाइनलमा टि डब्लू वारियरले वाटरमेलोन एफसीलाई १–० ले हराउँदै ट्रफी हात पारेको हो ।
विजेता टिमले १६ सय पाउन्ड नगद, ट्रफी तथा व्यक्तिगत पुरस्कार प्राप्त गर्यो । मेन टिमतर्फ उत्कृष्ट खेलाडी अशिक तुम्बापो घोषित भए भने विजय पुन सर्वाधिक गोलकर्ताको रूपमा पुरस्कृत भए ।
प्रतियोगितामा सुपर भेट्रान, भेट्रान र मेन टिम गरी तीन विधामा प्रतिस्पर्धा भएको थियो। सुपर भेट्रानतर्फ डीएफसी यूकेले उपाधि जित्दा इन्टेक २००० उपविजेतामा सीमित भयो। यस समूहमा सन्तोष सुब्बा उत्कृष्ट खेलाडी र सुरज गुरुङ सर्वाधिक गोलकर्ता बने।
भेट्रान समूहमा टिटबुल एफसी विजेता बन्दा खाम्लालुङ एफसी उपविजेता बन्यो। यसतर्फ खिम (जर्सी नम्बर २) उत्कृष्ट खेलाडी घोषित भए भने अतिश लिम्बु सर्वाधिक गोलकर्ता बने।
उपाध्यक्ष दिपेन्द्र याक्सोका अनुसार प्रतियोगितामा कुल २८ टिमले सहभागिता जनाएका थिए। कार्यक्रममा मुन्धुमविद्, भाषाविद् तथा इतिहासकार येहाङ लावती प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै लावतीले विदेशमा रहेर पनि आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउन यलम्बरहाङ कप जस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको बताए। उनले यलम्बरहाङलाई नेपालको पहिलो राष्ट्र निर्माता भएको उल्लेख गर्दै किरात समुदायको ऐतिहासिक योगदानबारे चर्चा गरे।
अध्यक्ष कमला सेन्दाङ लिम्बु तथा खेल संयोजक राजन लाबुङ लिम्बुले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै विजेता टोलीलाई बधाई व्यक्त गरे। आगामी वर्षमा पनि अझ भव्य रूपमा प्रतियोगिता आयोजना गर्ने अपेक्षा गरिएको उनीहरूले बताएका छन्।
बेलायत बन्यो विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला