
लन्डन । मानव जीवनको गहिरो अर्थ, धर्म, त्याग, सङ्घर्ष र आत्मबोधलाई उजागर गर्ने सत्य कथामा आधारित ऐतिहासिक नाटक ‘मिलारेपा’ साउथ ईष्ट लन्डनमा पनि मञ्चन हुने भएको छ । गत आइतबार ८ मार्चका दिन उक्त नाटकका निर्देशक बुद्धि तामाङ तथा नेपाल संयोजक लामा कोसिस वाइबाको उपस्थितिमा अल्डरसटमा सफल प्रदर्शनपश्चात् दर्शकहरुको विशेष अनुरोधमा साउथ ईष्टमा प्रदर्शन गर्न लागिएको हो ।
निर्देशक तामाङ र लामा वाइबाको विशेष उपस्थितिमा यही २९ मार्च २०२६ साँझ ४.३० बजे लन्डन, विलविचस्थित ट्रामसेड हलमा प्रदर्शन गरिने छ । लन्डनको प्लमस्टिड, विलविच, वेलिङ्ग, चाल्टर्नलगायतका क्षेत्रमा बसोबास गर्ने नेपालीहरुलाई केन्द्रमा राखेर बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले मिलारेपा च्यारिटी शो आयोजना गर्न लागेको जनाएको हो ।
आरआईओ शुशी फ्रेन्चाईजका छोङ्ग शेर्पा र कैलाश मोमो प्लमस्टिडका तेन्जिङ्ग डक्पाको हल स्पोन्सरमा प्रदर्शन हुन लागिएको सो नाटक नेपाल–तिब्बत सीमावर्ती क्षेत्र क्याङ्त्सामा जन्मिएका महान् योगी तथा कवि जेत्सुन मिलारेपाको जीवनकथामा आधारित छ । कालो तान्त्रिक साधनामा संलग्न एक भड्किएको युवाबाट गुरु मार्पा लोचावाको मार्गदर्शनमा कठोर साधना गर्दै आत्मज्ञान प्राप्त गर्ने साधकसम्मको उनको जीवनयात्रा यस नाटकको मुख्य विषयवस्तु हो । यसले मानव जीवनमा परिवर्तन सम्भव छ भन्ने सन्देशलाई अत्यन्त प्रभावकारी र प्रेरणादायी रूपमा प्रस्तुत गर्दछ ।
मण्डला थिएटर नेपालको विशेष प्रस्तुति रहेको उक्त नाटक चाङ ङोन हेरुकको लेखन, बुद्धि तामाङ र उमेश तामाङको निर्देशन रहेको छ । त्यस्तै, रुपेश लामा, रमिला मोक्तान, विकास लामालगायतका कलाकारको जोडदार अभिनय छ । साथै, आनी छोइङ डोल्माको स्वरसहितको परम्परागत संगीत प्रस्तुत रहेको छ, जसको संगीत संयोजन सुदीप खतिवडाले गर्नुभएको हो । उहाँहरुको सशक्त अभिनयलाई अत्याधुनिक क्यामरा तथा प्रविधिको सहयोगमा छायांकन गरिएको नाटकलाई हलमा देखाइने कार्यक्रम संयोजक एवं बीसीसी यूकेका उपाध्यक्ष क्याप्टेन देब घलेले जानकारी दिनुभयो ।
प्रवेश शुल्कबापत २५ पाउन्ड तोकिएको जनाउँदै बीसीसी यूकेका अध्यक्ष आङ्गदावा शेर्पाले उक्त नाटक हेर्न इच्छुकहरुले बीसीसी यूकेको अल्डरसटस्थित गुम्बा वा प्लमस्टिडस्थित कैलाश मोमो र एभरेष्ट प्लमस्टिडबाट टिकट लिन सकिने बताउनुभयो ।
त्यस्तै, ‘मिलारेपा’ नाटक बौद्ध धर्मावलम्बीहरूका लागि मात्र नभई, सर्वसाधारण दर्शकहरूका लागि पनि जीवनको यथार्थ सत्य, धर्मको मर्म, लोभ–क्रोध–अहंकारबाट मुक्त हुने मार्ग तथा आत्ममन्थनको गहिरो अवसर प्रदान गर्नेछ र मिलारेपाको त्याग, पश्चात्ताप र कठोर साधनाले दर्शकलाई आफ्नै जीवनमाथि पुनः सोच्न प्रेरित गर्ने विश्वास आयोजकको रहेको छ ।
नाटक बेलायतमा प्रस्तुत् गर्न निर्देशकसँग समन्वयको महत्वपूर्ण भूमिका खेल्दै आएका बीसीसी यूकेका महासचिव मेजर कुमार गुरुङ एमभिओले मानव जीवनलाई सकारात्मक दिशातर्फ मोड्ने उक्त ऐतिहासिक नाटक हेर्न सम्पूर्ण यूकेवासी नेपाली समुदाय, संघ–संस्था, गुम्बा, मन्दिर तथा कला–संस्कृतिप्रेमी दर्शकहरूलाई आग्रह गर्नुभएको छ ।
त्यस्तै, बीसीसी यूकेकी आमा प्रमुख शारदा गुरुङले अन्य स्थानहरुबाट पनि अनुरोध आएमा नाटक प्रदर्शन गराउन सकिने बताउनुभएको छ ।
साउथ ईष्ट लन्डनमा ‘मिलारेपा’ मञ्चन हुँदै, निर्देशक बुद्धि तामाङ उपस्थित हुने
अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो