
काठमाडौं । चलचित्र वितरक रोहित कट्टेल पहिलोपटक चलचित्र निर्माणमा आउनुभएको छ । चलचित्र वितरक कम्पनी आरआर फिल्म्सका सञ्चालक रोहित चलचित्र ‘मिरमिरे’मार्फत कार्यकारी निर्माता बन्नुभएको हो ।
चलचित्र वितरण गर्दै आएका उहाँ किन निर्माता बन्नुभयो ? चलचित्रको कथा मन परेपछि आफू चलचित्र निर्माणका लागि अग्रसर भएको उहाँको भनाइ छ । ‘निर्माणका हिसाबले मिरमिरे मेरो पहिलो चलचित्र हो । जब मलाई निर्देशक यम शेर्पाले यो चलचित्रको कथा सुनाउनुभयो मलाई कथा मन पर्यो,’ रोहित भन्नुहुन्छ, ‘एउटा राम्रो कथामा चलचित्र निर्माणका लागि अफर आउँदा किन सहकार्य नगर्ने भन्ने भएर लगानी गरेको हुँ ।’
बाबु र छोरीबीचको कथाले आफूलाई ‘टच’ गरेको रोहित बताउनुहुन्छ । ‘यो हामी सबै नेपालीको कथा हो । घरघरको कथा हो,’ उहाँ भन्नुहुन्छ, ‘हामी धेरै नेपालीले भोगेको र देखेको कथा हो । त्यसैले मलाई सुन्नबित्तिकै यो कथा मन परेको हो ।’
राम्रो कथामा चलचित्र निर्माणका लागि आफू सधैँ तयार रहेको उहाँ बताउनुहुन्छ । कहिले वितरण त कहिले निर्माणमार्फत राम्रो चलचित्र दर्शकमाझ ल्याउनु आफ्नो दायित्व पनि भएको रोहितको भनाइ छ ।
यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’ माघ १ गतेबाट प्रदर्शनमा आउँदै छ । यार्सा फिल्मसको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल हुनुहुन्छ ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदीप कुँवर हुनुहुन्छ । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहनुभएको छ ।
वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बू मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहनुभएको छ । चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।
चलचित्र वितरक रोहित कसरी ‘मिरमिरे’मा लगानीकर्ता बन्नुभयो ?
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन