तमु धीं यूकेले थाल्यो ‘त ल्हो’ ल्होछार उत्सव-२०२५ को तयारी

लन्डन । तमु धीं यूकेले यस वर्षको ‘त ल्हो’ ल्होछार उत्सव-२०२५ को तयारी थालेको छ ।

आगामी डिसेम्बर २७ तारिख शनिबारका दिन अल्डरसटस्थित एम्पायर हलमा आयोजना हुने ल्होछार कार्यक्रमको तयारी सुरु भएको संस्थाका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक परशु गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार परम्परागत र सांस्कृतिक पर्व ल्होछार भव्यताका साथ मनाउने तयारी छ ।

विगतका वर्षहरूझैं तमु धीं यूकेले समुदायिक एकता, सांस्कृतिक पहिचान र परम्पराको संरक्षणलाई प्राथमिकतामा राख्दै विविध कार्यक्रमका साथ ल्होछार उत्सव आयोजना गर्न लागेको जनाएको छ ।

गुरुङ समुदायको वर्गचक्रअनुसार यस वर्ष सर्प वर्ग (त ल्हो)लाई बिदाइ गर्दै घोडा वर्गलाई स्वागत गरिनेछ। उक्त अवसरमा नेपालबाट आमन्त्रित चर्चित कलाकारहरू दुर्गा गुरुङ, सलामी गुरुङ र आशबहादुर गुरुङको आकर्षक सांगीतिक प्रस्तुति रहनेछ । साथै बेलायतस्थित कलाकारहरूबाट पनि विविध मनोरञ्जनात्मक प्रस्तुति राख्ने तमु धीं यूकेले जनाएको छ ।

कार्यक्रम संयोजक गुरुङले बेलायतवासी सम्पूर्ण तमु समुदायका सदस्यहरू र शुभचिन्तकहरूलाई परिवारसहित उत्सवमा सहभागी भई आफ्नै मौलिक पर्वलाई उत्साह, उमंग र एकताको भावनासाथ मनाउनका लागि निमन्त्रणा दिनुभएको छ ।

कार्यक्रमले प्रवासी गुरुङ समुदायबीच आपसी सद्भाव, संस्कृति र परम्पराप्रतिको सम्मानलाई थप सुदृढ बनाउने विश्वास आयोजकको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री