लन्डन । ब्रसेल्स, बर्लिन र लन्डनको हिथ्रो लगायतका प्रमुख युरोपेली विमानस्थलहरू शनिबार ‘साइबर–सम्बन्धित अवरोध’बाट प्रभावित भएको जनाइएको छ । अवरोधले चेक–इन र ब्यागेज ड्रप प्रणालीलाई असर गर्दा सेवा प्रभावित भएको सेवा प्रदायक कोलिन्स एरोस्पेसलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
युरोपेली हवाई सेवा प्रदायकहरुले अवरोधको सामना गर्दा उडानमा ढिलाइ तथा उडान रद्द हुने चेतावनी दिए पछि ‘एयरस्पेस फर्म’ले सम्बन्धित एयरपोर्टहरूका सफ्टवेयरमा साइबर–सम्बन्धित अवरोधको बारेमा सचेत भएको जनाएका छन् ।
अवरोध इलेक्ट्रोनिक ग्राहक चेक–इन र ब्यागेज ड्रपमा मात्र भएकाले म्यानुअल चेक–इन अपरेसनद्वारा सेवा प्रवाह गर्न सकिने कोलिन्स एरोस्पेसले बताएका छन् ।
शुक्रबार राति ‘साइबर आक्रमण’को चपेटामा परेपछि ब्रसेल्स विमानस्थलबाट कम्तीमा १० वटा उडानहरू रद्द गरिएको तथा अन्य १७ वटा उडानहरू ढिलाइ भएको विमानस्थलले जनाएको छ ।
ब्रसेल्समा म्यानुअल चेक–इन र बोर्डिङ सेवा सञ्चालन गरिएको थियो भने शनिबार उडान गर्ने यात्रुहरूलाई एयरपोर्टमा जानुअघि एयरलाइन्ससँग सम्पर्क गरी उडानको स्थिति जाँच गर्न सूचना जारी गरिएको थियो ।
लन्डनको हिथ्रो एयरपोर्टमा भने चेक–इन र बोर्डिङ प्रणाली पनि ‘प्राविधिक समस्या’बाट प्रभावित भएकाले उडानमा ढिलाई हुन सक्ने जनाइएको छ ।
बर्लिन विमानस्थलको वेबसाइटमा अवरोधका कारण युरोपमा चेक–इनमा यात्रुहरुलाई लामो समय प्रतीक्षा गर्नु परेको जनाएको छ ।