‘वरिष्ठ बलराम’ स्थापित र उदाउँदो व्यक्तिबीचको संघर्षको कथा : अभिनेता राई

काठमाडौं । अभिनेता दयाहाङ राईले ‘वरिष्ठ बलराम’ स्थापित र उदाउँदो व्यक्तिबीचको संघर्षको कथा भएको बताउनुभएको छ । आफ्नो इज्जत र प्रतिष्ठा बचाइराख्न खो’ज्ने स्थापित व्यक्ति र त्यसलाई टक्कर दिँदै आफू स्थापित हुन खोज्ने उदाउँदो व्यक्तिबीचको कथा चलचित्र ‘वरिष्ठ बलराम’मा रहेको उहाँले बताउनुभयो ।

‘वरिष्ठ बलराम’मा स्थापित भइसकेको पात्र दयाहाङ हुनुहुन्छ भने उहाँलाई टक्कर दिन उदाउँदै गरेको अर्का पात्र विजय बराल हुनुहुन्छ । मान्छेको भित्री रुप जे भए पनि आवरणमा भने प्रतिष्ठित र वरिष्ठ भनाउन र देखाउन रुचाउने चरित्र हरेक व्यक्तिमा हुने उहाँ बताउनुहुन्छ । ‘मान्छे जस्तो सुकै होस् आवरणमा भने समाजमा ऊ वरिष्ठ र प्रतिष्ठित हुन चाहन्छ, यो मानवीय स्वभाव हो,’ दयाहाङ भन्नुहुन्छ, ‘यो चलचित्रमा यही कुरा छ । मेरो चरित्र पनि त्यही हो ।’ आफ्नो चरित्र र चाहनामा टक्कर दिँदै अर्को पात्र आफू वरिष्ठ देखिने लोभमा हुने संघर्ष चलचित्रमा रहेको उहाँ बताउनुहुन्छ ।

अर्का अभिनेता विजय बरालले चलचित्र ‘वरिष्ठ बलराम’ सामान्य व्यक्तिबाट वरिष्ठ हुन चाहना राख्ने सोचको कथा भएको बताउनुहुन्छ । व्यक्तिमा रहेको सोचबीचको टकराब सिनेमाको मुख्य विषय भएको उहाँले बतानुभएको छ । ‘वरिष्ठ बलराम’का मुख्य दुई पात्र दयाहाङ र विजयको टकराबमा आफू बले पात्रका रूपमा रहेको उहाँले बताउनुभएको छ ।

‘सिनेमाको नाम कसको नाममा रह्यो, कसको नाम बलराम हो भन्ने सिनेमा रिलिज भएपछि र त्यसअघि ट्रेलरमा केही कुरा थाहा होला,’ विजय भन्नुहुन्छ , ‘तर, चलचित्रमा मलाई बले भनेर भनिएको छ । त्यसैले वरिष्ठ बलराम को हो नभनौँ तर बले भनेर मलाई बोलाइएको छ ।’

उहाँले सिनियर कलाकार दयाहाङसँग सिनेमामै भए पनि घम्साघम्सी र टकराब लिन केही कठिन भएको अनुभव सुनाउनुभयो । ‘अग्रज र मैले मान्ने भएकाले दाइ के गरौँ, कसरी गरौँ भन्थेँ । दाइले अफ्ठ्यारो नमान्, यसरी गर भनेपछि, म गर्थें,’ विजय भन्नुहुन्छ, ‘अग्रज र सधैँ सम्मान गर्ने कलाकार भएकाले केही अड चाहिँ हुनेरहेछ ।’

दयाहाङ भने सेटमा व्यक्ति भन्दा पनि चरित्र हुने भएकाले को सिनियर र जुनियर भन्ने नहुने बताउनुहुन्छ । आफूले पनि ‘दासढुंगा’मा गुरु अनुप बरालसँग यस्तै रोलमा काम गरेको उहाँले स्मरण गर्नुभयो ।

‘उहाँले चरित्रमा गुरुचेला हुँदैन, भँडास पोख्ने मौका पनि यही हो भन्नुभयो,’ दयाहाङ भन्नुहुन्छ, ‘भँडास पोख्ने भनेर चरित्रभन्दा माथि चाहिँ जानु भएन । चरित्र निभाउन हिचकिचाहट मान्नु हुँदैन ।’

नायिका समृद्धि अर्याललले आफू सिनेमामा शो पिस मात्रै नरहेको बताउनुहुन्छ । दुई अग्रज र अब्बल कलाकारको बीचमा आफ्नो पनि राम्रो रोल रहेको उहाँको भनाइ छ । ‘म जहाँजहाँ आउँछु, त्यहाँ इम्प्याक्टफुल भूमिका छ भन्ने लाग्छ,’ समृद्धि भन्नुहुन्छ, ‘दुई लिड क्यारेक्टरलाई प्रभाव पार्ने खालको भूमिका छ ।’ ‘वरिष्ठ बलराम’को क्यारेक्टर’ले आफ्नो सिने करियरमा सहयोग गर्ने उहाँको भनाइ छ ।

कात्तिक ६ गते भाइटीकामा रिलिज हुने ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गर्नुभएको छ । ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेख्नुभएको हो । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता हुनुहुन्छ ।

मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।

यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री