काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको नाराबाजीकाबीच प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल अघि बढाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको नाराबाजीबीच प्रतिनिधिसभाको बैठक सञ्चालन भइरहेको छ । बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भइरहेको छ ।
आइतबारको बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरूले बेलघेराउ गर्दै नाराबाजी गर्दा पनि सभामुख देवराज घिमिरेले बैठक अघि बढाउनुभएको हो । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रस्ताव प्रस्तुत गर्दै उहाँले प्राङ्गारिक र प्राकृतिक मल उत्पादनलाई प्रवर्द्धन, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यसमा लागेको कर हटाइएको तथा बजेटको कार्यान्वयनबाट आर्थिक गतिविधि वृद्धि हुने बताउनुभएको थियो ।
अर्थमन्त्री पौडेलले प्रस्ताव प्रस्तुत गरिरहनुभएका बेला सांसद राजेन्द्र पाण्डेले सांसदको नाराबाजीका कारण मन्त्रीले भनेको कुरा नसुनिएकाले यसलाई एउटा निष्कर्षमा लगेरमात्र सभा सञ्चालन गर्न माग गर्नुभएको थियो ।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले उठेर विरोध जनाउनुभएको थियो । विरोधका बीच पनि सभामुख देवराज घिमिरेले बैठक चलाएको भन्दै राप्रपाले बैठक बहिष्कार गरेको हो ।
‘भिजिट भिसा’ र अध्यागमनको विषयलाई लिएर रास्वपाले विगत केहीदिनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ । रास्वपाले भिजिट भिसा र अध्यागमनका विषय उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको हो ।