भारत र पाकिस्तानबीचको तनाव घटाउन सहयोग गर्न बेलायत तयार : व्यापारमन्त्री

लन्डन । भारत र पाकिस्तानबीच तनाव कम गर्न दुवै देशलाई सहयोग गर्न तयार रहेको बेलायतले जनाएको छ । आणविक शक्ति सम्पन्न भारत र पाकिस्तानमा दुई दशकयताकै सबैभन्दा तनावको अवस्था आएपछि बेलायतका व्यापारमन्त्री जोनाथन रेनोल्ड्सले सहयोग गर्न तयार रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “हामी दुवै देशका मित्र र साझेदार हौँ । हामी दुवै देशलाई सहयोग गर्न तयार छौं । हाम्रो सन्देश के हुनेछ भने क्षेत्रीय स्थिरताका लागि वार्तामार्फत् तनाव कम गर्न र उनीहरूलाई सहयोग गर्न हामी सबै सम्भावित पहल गर्न सक्छौं र इच्छुक पनि छौँं,” उहाँले बीबीसी रेडियोसँगको अन्तवार्तामा बताउनुभयो । पाकिस्तानी विदेश मन्त्रालयले ब्रिटिस नागरिकलाई भारत–पाकिस्तान सीमाको आठ किलोमिटर भित्र, नियन्त्रण रेखाको १६ किलोमिटरभित्र यात्रा नगर्न र सबैलाई पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा यात्रा नगर्न सल्लाह दिएको छ ।

उहाँले भन्नुभयो, “हामीले स्थितिलाई नजिकबाट नियालिरहेका छौँ । बेलायती नागरिकहरूले हाम्रो यात्रा सल्लाहको साथ अद्यावधिक रहनुहुनेछ र स्थानीय अधिकारीहरूको सल्लाह पालन गर्नुहुनेछ ।”

भारतले बुधबार बिहान पाकिस्तानमाथि गरेको सैन्य आक्रमणमा उग्रवादी समूह जैस-ए-मोहम्मदका संस्थापक तथा कमाण्डर मसूद अजहरको परिवारका १० सदस्यसहित १४ जना मारिएका छन् । पाकिस्तानको बहावलपुरमा रहेको सुभान अल्लाह मस्जिदमा भारतले गरेको आक्रमणमा उनीहरूको ज्यान गएको हो ।

बुधबार बिहान पौने २ बजेतिर भारतले पाकिस्तानको नियन्त्रित क्षेत्र कश्मीरमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै गरिएको आक्रमणपछि भारत–पाकिस्तान तनाव चुलिएको छ । भारतीय सञ्चारमाध्यमले १०० भन्दा बढी मारिएको दाबी गरेका छन् ।

यता अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले कम्तिमा ३५ जना मारिएको बताएका छन् । तर पाकिस्तानले भने दुई बालबालिकासहित ७ जना मारिएको दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री