
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार बेइजिङमा भएको बहुप्रतीक्षित शिखर भेटवार्ता औपचारिक मित्रता, कूटनीतिक सङ्केत र गहिरिँदो रणनीतिक अविश्वासबीच सुरु भएको छ ।
ट्रम्पले सीसँगको सम्बन्धलाई ‘सम्मानको विषय’ भनेर प्रस्तुत गर्न खोजिरहँदा सीले भने विश्वका दुई शक्तिशाली राष्ट्रबीच सम्भावित टकरावको जोखिमबारे चेतावनी दिनुभएको छ ।
“तपाईं एक महान नेता हुनुहुन्छ । कहिलेकाहीँ मानिसहरूले मैले यस्तो भनेको मन पराउँदैनन्, तर म सत्य कुरा नै भन्छु”, ग्रेट हल अफ द पिपुलमा आयोजित औपचारिक भेटअघि ट्रम्पले सीको खुलेर प्रशंसा गर्दै भन्नुभयो, “तपाईंसँग हुनु सम्मानको कुरा हो । तपाईंको साथी हुनु पनि सम्मानको कुरा हो ।” ट्रम्पले अमेरिका र चीनबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।
तर सीको सन्देश भने बढी सतर्क र रणनीतिक थियो । उहाँले विश्व समुदायले अमेरिका र चीन ‘थुसिडाइड्स ट्र्याप’ बाट जोगिन सक्छन् कि सक्दैनन् भनेर हेरिरहेको बताउनुभयो । विदेश नीति अध्ययनमा प्रयोग हुने उक्त अवधारणाले उदाउँदो शक्ति र स्थापित शक्तिबीच प्रतिस्पर्धा अन्ततः युद्धमा परिणत हुनसक्ने खतरा औँल्याउँछ ।
सीले भन्नुभयो, “सहकार्यले दुवै पक्षलाई फाइदा पुर्याउँछ, जबकि द्वन्द्वले दुवैलाई हानि पुर्याउँछ । दुई देश प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ । साझा समृद्धिका लागि सहकार्य गर्दै नयाँ युगअनुसार प्रमुख राष्ट्रबीच सम्बन्धको सही बाटो तय गर्नुपर्छ ।”
सीले यसअघि पनि सन् २०१४ देखि विभिन्न अवसरमा यही अवधारणा उठाउँदै आउनुभएको थियो । उहाँले ट्रम्पका पूर्ववर्ती राष्ट्रपति जो बाइडेनसँगका भेटवार्तामा समेत यो विषय दोहोर्याउनुभएको थियो । तर ट्रम्पले भ्रमणलाई सकारात्मक र मैत्रीपूर्ण बनाउने प्रयास गरिरहँदा सीले फेरि यही चेतावनी दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
बेइजिङस्थित तियानानमेन स्क्वायरमा रहेको ग्रेट हल अफ द पिपुलमा ट्रम्पको स्वागत अत्यन्त भव्य रूपमा गरिएको थियो । क्यानन सलामी, सैनिक परेड, अमेरिकी र चिनियाँ राष्ट्रिय गान तथा विशाल रातो गलैँचाबीच दुवै नेताले एकअर्कासँग हात मिलाउनुभएको थियो । स्कुलका बालबालिकाले दुवै देशका झण्डा फहराउँदै स्वागत गरेका थिए ।
ट्रम्पले भ्रमणका क्रममा ‘टेम्पल अफ हेभन’ को अवलोकन गर्ने कार्यक्रम पनि रहेको छ । १५ औँ शताब्दीको उक्त धार्मिक परिसरलाई चीनमा स्वर्ग र पृथ्वीबीचको सम्बन्धको प्रतीक मानिन्छ । दुवै नेता बिहीबार राजकीय भोजमा पनि सहभागी हुने कार्यक्रम छ ।
यद्यपि भ्रमणको मुख्य केन्द्र व्यापार, इरान र विश्व अर्थतन्त्रसँग जोडिएका जटिल विषय बनेका छन् । ह्वाइट हाउसले ट्रम्प कुनै ठोस उपलब्धिविना चीन नजाने स्पष्ट पारेको छ । अमेरिकी प्रशासन चीनबाट अमेरिकी सोयाबिन, गोमांस र विमान खरिदबारे प्रतिबद्धता खोजिरहेको छ । साथै व्यापार विवाद समाधानका लागि संयुक्त व्यापार बोर्ड गठन गर्ने प्रस्तावमा पनि छलफल भइरहेको जनाइएको छ ।
तर इरानसँग चीनको निकट आर्थिक सम्बन्धले परिस्थितिलाई थप संवेदनशील बनाएको छ । इरान र इजरायलबीचको युद्ध तथा अमेरिकाको प्रत्यक्ष संलग्नताले विश्व बजारमा ऊर्जा सङ्कट निम्त्याएको छ । हर्मुज जलघाँटी प्रभावकारी रूपमा बन्द हुँदा तेल र प्राकृतिक ग्यास ढुवानीमा अवरोध पुगेको छ, जसले विश्वव्यापी आर्थिक वृद्धिमा दबाब बढाएको छ ।
ट्रम्प–सीबीच बेइजिङमा वार्ता
सगरमाथा आरोहण मार्ग खुला
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
पोखरा विमानस्थल अनियमितता प्रकरणमा नेपाली कांग्रेस नेतासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित