
लन्डन । तमु समाज युकेले तमु तथा नेपालीहरुको महान् सांस्कृतिक पर्व सप्री ल्होछार/ल्होसार भव्य रुपमा मनाएको छ ।
शनिबार ४ जनवरी २०२५मा लन्डनस्थित ह्यारो लेजर सेन्टरको बाईरोन हलमा भव्य रुपमा ल्होछार/ल्होसार (नयाँ वर्ष) मनाइएको हो । काउन्सिल लिडर लन्डन बारो अफ ब्रेन्टका काउन्सिलर मोहमेद बटको प्रमुख आतिथ्यमा सम्पन्न भएको बृहत् तमु सप्री ल्होछार कार्यक्रमको उद्घाटन प्रमुख अतिथि, समाजका अध्यक्ष बिन्दु कुमारी गुरुङ घले र संस्थापक अध्यक्ष चित्र बहादुर गरुङले संयुक्त रुपमा दिप प्रज्ज्वलन गरी गर्नुभएको थियो ।
समाजका अध्यक्ष बिन्दु कुमारीको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रम सन्चालन समाजका महासचिव सुब घलेले गर्नुभएको थियो भने निवर्तमान महासचिव धरमबल गुरुङले सहयोग गर्नुभएको थियो । कार्यक्रमको आरम्भमा उपाध्यक्ष तथा ल्होछार कार्यक्रम संयोजक केदार बहादुर गुरुङले हेल्थ र सेफ्टीसम्बन्धी जानकारी दिनुभएको थियो भने त्यसपश्चात् स्वागत मन्तब्य राख्दै तमु ल्होछार सेलेब्रेसन र संस्थाको बारेमा सबैलाई संक्षिप्त जानकारी गराउनुभएको थियो ।

त्यसैगरी धन्यवाद मन्तव्य राख्दै कार्यक्रममा प्रत्यक्ष उपस्थित भई अथवा अप्रत्यक्षरुपमा सहभागी बनि विभिन्न सहयोग गर्ने सबै संघ संस्थाका महानुभवहरु, समाजका पदाधिकारीहरु र सदस्यहरुलाई अध्यक्ष बिन्दु कुमारीले धन्यवाद दिनुभएको थियो भने सम्मानित हुनुभएका सबैजनालाई बधाई तथा उत्तरोतर प्रगतिका शुभकामना ब्यक्त गर्नुभएको थियो ।
मन्तब्य राख्नेक्रममा कार्यक्रमका प्रमुख अतिथि लिडर अफ लन्डन बरोअफ ब्रेन्टका काउन्सिलर मोहमेद बटले तमु समाज युकेले भव्यताकासाथ आयोजना गरेको तमु ल्होछार कार्यक्रममा सहभागी हुन पाउँदा अत्यन्त खुशी लागेको बताउनुभयो । उहाँले तमु समाज युकेले संस्थागत रुपमा ब्रेन्ट काउन्सिलमा धेरै साथ र सहयोग दिँदै आएको र समाजलाई काउन्सिलबाट आवश्यक सहयोग दिइरहेको उल्लेख गर्नुभयो । उहाँले भविष्यमा पनि समाजलाई आवश्यक सहयोग अझ ठूलो मात्रामा दिने प्रतिबद्धता व्यक्त गर्दै ल्होछार र अंग्रेजी नयाँ वर्षको पावन अवसरमा सबैलाई सुख, शान्ति, उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्नुभएको थियो । उहाँले कार्यक्रममा कलाकारहरुले गरेको उत्कृष्ट नृत्य प्रस्तुतिको पनि प्रशंसा गर्नुभएको थियो।
विगतका जस्तै यस वर्षको सप्री ल्होछार कार्यक्रममा समाजका नयाँ आजीवन सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र तथा समाजको लोगो अंकित ब्याज वितरण गरी औपचारिक रुपमा स्वागत गरिएको थियो । यसको अलावा शैक्षिक सत्र २०२४ मा स्नातक तथा स्नाकोत्तर तहमा सफलता प्राप्त विद्यार्थीहरु तथा विगतका वर्षहरुमा सामाजिक जीवनको विभिन्न पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुको साथै सामाजिक सेवा र संस्थाको विकासमा उल्लेख्य योगदान पुर्याउने विभिन्न महानुभावहरुलाई तमु समाज युके विशिष्ठ समाजसेवा सम्मान (लाईफ टाईम अचिभमेन्ट अवार्ड – २०२५), तमु समाज युके उत्कृष्ट समाजसेवा सम्मान पत्र २०२५ तथा प्रशंसापत्रहरु प्रदान गरिएको थियो । सम्मान तथा प्रशंसापत्र वितरण प्रमुख अतिथि काउन्सिलर मोहमेद बट र समाजका अध्यक्ष बिन्दु कुमारी गुरुङ घले, संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्र बहादुर गुरुङ र आमा समूहका अध्यक्ष बिमला गुरुङले गर्नुभएको थियो ।

कार्यक्रममा समाजको स्थापनाकालदेखि अनवरतरुपमा विभिन्न महत्वपूर्ण पदहरुमा रहेर तमु समाज युकेको संरक्षण, संवर्द्धन र विकास गर्नको निम्ति अहोरात्र खटिई अतुलनीय योगदान गरेका सामाजिक अभियन्ताहरु तमु समाज युकेका निवर्तमान अध्यक्ष शिव कुमार गुरुङ र पूर्वउपाध्यक्ष तथा सल्लाहकार कन्याप्रसाद गुरुङलाई तमु समाज युके विशिष्ट समाजसेवा सम्मान (लाईफ टाईम अचिभमेन्ट अवार्ड २०२५) बाट सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वहरु र उहाँहरुका धर्मपत्नीहरुलाई प्रमुख अतिथि, अध्यक्ष , संस्थापक अध्यक्ष र आमा समूहकी अध्यक्ष बिमला गुरुङले विशिष्ट सम्मानपत्र प्रदानसहित फेटा, खादा दोसल्ला ओढाई र पुष्पगुच्छा प्रदान गर्नुभएको थियो ।
सम्मान कार्यक्रममा निवर्तमान अध्यक्ष शिब कुमार गुरुङले धन्यवाद तथा शुभकमाना मन्तव्य दिनुभएको थियो। उहाँले तमु समाज युकेको स्थापना कालदेखि समाजमा निष्ठापूर्वक विभिन्न महत्वपूर्ण पदमा रही समाज सेवाको कार्यमा अतुलनीय योगदान गरेको मूल्यांकन गरी समाजले आफूलाई तमु समाज युकेको सर्वश्रेष्ठ सम्मान लाईफ टाईम अचिभमेन्ट अवार्ड २०२५ बाट सम्मानित गर्नुभएकोमा समाजका अध्यक्ष, संस्थापक अध्यक्षलगायत पूर्व तथा वर्तमान सम्पूर्ण पदाधिकारीहरु सदस्यहरुप्रति धन्यवादसहित कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले यस सम्मानले आफूलाई आगामी दिनहरुमा पनि निरन्तरुपमा सामाजिक सेवामा लागिरहन उर्जा तथा उत्प्रेरणा प्राप्त भएको महसुस गरेको बताउनुभएको थियो।
यसैगरी यस वर्ष तमु समाज युकेले उत्कृष्ट समाजसेवा सम्मानपत्र २०२५ बाट सल्लाहकार लेख गुरुङ, सल्लाहकार कमल बहादुर गुरुङ, सल्लाहकार नारायन सिंह गुरुङ, आमा समूहका कार्यसमितिका सदस्य लक्ष्मी गुरुङ र युवा समूहका निर्वतमान अध्यक्ष ओमकार गुरुङलाई सम्मानित गरिएको थियो।

नेपालबाट तमु धीं यूकेको निमन्त्रणामा संस्थाको रजत जयन्ती महोत्सव तथा ल्होछार कार्यक्रममा बेलायत आउनुभएका तमु धीं नेपालका अध्यक्ष हुम बहादुर गुरुङ, सप्री ल्होछार उत्सव कार्यक्रममा तमु समाज युकेको निमन्त्रणामा बेलायत आउनुभएका तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालका अध्यक्ष लाला गुरुङ र मन्जुश्री बालबालिका संरक्षण केन्द्रका संस्थापक तथा प्रबन्ध निर्देशक सुश्री माया (दोर्जे डोल्मा) गुरुङलाई तमु समाज युकेमा स्वागत तथा उहाँहरुले नेपाली समुदायलाई पुर्याएको अतुलनीय योगदानको कदर गर्दै तमु समाज युके विशिष्ट समाजसेवा सम्मानपत्र २०२५ बाट सम्मानित गरिएको थियो ।
तमु धिं नेपालका अध्यक्ष हुम बहादुर गुरुङले मन्तव्य दिँदै तमु समाज युकेले प्रदान गरेको सम्मान सँधै शिरोपर गरेर सँधै सकारात्मक भावनाका साथ तमुहरुको हित, समुदायको निम्ति र सबै नेपालीको हितको निम्ति काम गर्ने प्रेरणा मिलेको बताउनु भएको थियो । तमु समाज युकेले आमन्त्रण गरिदिनु भएकोमा आभार ब्यक्त गर्दै तमुहरु जहाँ रहेता पनि एक भएर अगाडि पढ्नु पर्ने र भावना पनि एक हुनु पर्नेमा जोड दिनु भएको थियो ।
यसैगरी तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालका अध्यक्ष लाला गुरुङले तमु समाज युकेले आफूलाई युकेमा निमन्त्रणा गर्नुभएकोमा धन्यवादसहित आभार व्यक्त गर्दै आफूले नेपालबाट ल्याएको माया चिनो तमु समाज युकेकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेलाई प्रदान गर्नुभएको थियो । उहाँले पनि तमु एकतामा जोड दिनु पर्ने र भावी सन्ततिलाई स्वदेशमा वा विदेशमा जहाँ रहेता पनि आफ्नो धर्म संस्कार, संस्कृति, परम्परा, तमु भाषालाई जोगाई राख्नुमा सबैले मद्दत गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा अतिथि तथा तमु समाज युकेका शुभचिन्तक साथै तमु समाज युकेलाई विशेष प्रकारको सहयोग पुर्याउँदै आएका ब्रेन्ट काउन्सिल किङ्सबरी वडाका काउन्सिलर सकिब बटलाई समाजकी अध्यक्ष र प्रमुख अतिथिको हातबाट खदा लगाई धन्यवाद तथा मायाको चिनो कोथिमारा खुकुरी प्रदान गरी सम्मान गरिएको थियो ।
यसैगरी विभिन्न संघ संस्थाका नवनिर्वाचित अध्यक्षहरुमा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, तमु धीं यूके आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङ, पत्रकार महासंघ युके अध्यक्ष विमला सेने र तमु समाज युकेका आजीवन सदस्य बुद्धिराज घले ब्रिटिस आर्मी वारन्ट अफिसर क्लास २ (WO2)बाट ब्रिटिस आर्मी क्याप्टेन पदमा पदोन्नति हुनु भएकोमा उहाँ र उहाँको धर्मपत्नी डिना गुरुङ घलेलाई समाजको तर्फबाट, खादा, फेटा र दोसल्ला ओढाई पुष्पगुच्छासहित बधाई तथा कार्यकाल सफलता र उत्तरोत्तर प्रगतिको शुभकामना दिनुभएको थियो।
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले शुभकामना तथा धन्यवाद मन्तव्य दिनुभएको थियो। तमु समाज युकेले आफूहरुलाई बधाई तथा सम्मान गरेकोमा आभारसहित धन्यवाद व्यक्त गर्दै तमु धीं यूके र तमु समाज युकेको सम्बन्ध प्रगाढ हुँदै गएको र सबै तमहरु एक हुनु पर्दछ भन्नेमा जोड दिनुभएको थियो ।
यसै कार्यक्रममा तमु समाज युकेका सामुदायिक भवन खरिद परियोजनमा आर्थिक सहयोग प्रदान गर्नुहुने दाताहरु तमु समाज युकेका सल्लाहकारहरु ले.रि . पन्चबहादुर गुरुङ तथा श्रीमती रेणुमाया गुरुङ, तमु प्ये ल्हु संघ युकेका पूर्वअध्यक्ष सोम त्होर्जे तमु र तमु प्ये ल्हु संघ युकेका आमा समूहकी अध्यक्ष बबिता गुरुङ, तमु समाज युकेका आजीवन सदस्य जमानसिङ गुरुङ र श्रीमती बिजय गुरुङलाई समाजको फेटा, खदा, दोसल्ला अढाई ताम्रपत्रमा लेखित कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
सांस्कृतिक तथा मनोरन्जन कार्यक्रममा पूर्वसांस्कृतिक सचिव तथा तमु चलचित्रका नायिका सरु गुरुङ रानाको करियोग्राफीमा तमु समाज युकेको आमा समूह, युवा समूह तथा गोर्खा जिल्ला गुरुङ समाज युकेका सौजन्यमा स्थानीय युवा कलाकारहरुबाट र नेपालबाट आउनु भएका डान्सर तथा कोरियोग्राफर शेखर घर्तिमगरको नृत्यहरु प्रस्तुत भएको थियो । साँस्कृतिक कार्यक्रममा अर्को आकर्षण नेपालबाट आउनुभएको लोकगायकहरु बिमला गुरुङ, शितल गुरुङ र हरिमाया गुरुङको जोडदार गीत प्रस्तुतिमा कार्यक्रममा उपस्थित सबैले नाचेर साथ दिनुभएको थियो । नेपालबाट पाल्नुभएका लोक दोहोरी गायकहरु गोर्खा जिल्ला गुरुङ समाज युकेले सौजन्य गर्नुभएको थियो । सांस्कृतिक कार्यक्रम संचालन निरज गुरुङ र मिस्टी गुरुङले गर्नुभएको थियो।
यस वर्षको सप्री ल्होछार सेलेब्रेसन कार्यक्रममा विशेष अतिथिको रुपमा रोयल बरोअफ ग्रिनविचका मेयर काउन्सिलर जित रानभाट, मेयरेस श्रीमती गौमाया गुरुङ रानाभाट, पूर्वमेयर तथा काउन्सिलर बिष्णु गुरुङ, काउन्सिलर कमल बहादुर गुरुङ, काउन्सिलर सकिब बट, गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष हित काजी गुरुङ, तमु धीं नेपालका अध्यक्ष हुम बहादुर गुरुङ, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, तमु प्ये ल्हु संघ युकेका अध्यक्ष क्या. रि. डेम बहादुर गुरुङ, गैर आवासीय नेपाली संघ युकेका उपाध्यक्ष नम्रता घले, पत्रकार महासंघ युकेका अध्यक्ष बिमला सेने, तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालका अध्यक्ष लाला गुरुङ र गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु विशेष उपस्थिति र अन्य ६० भन्दा धेरै संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रह्यो ।
कार्यक्रमलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्नको निम्ति समाजका संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरु, सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, युवा समूह, आमा समूहका साथै र समाजको शुभेच्छुकहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । ल्होछार कार्यक्रममा यस पटक युवा समूहका अध्यक्ष प्रज्ज्वलमान गुरुङ र उपाध्यक्ष प्रशान्त गुरुङको संयोजकत्वमा युवा समूहको तर्फबाट बालबालिकाहरुलाई मनोरन्जनका लागि विभिन्न प्रकारका खेलको आयोजना र ल्होछार उपहारको व्यवस्थापन गरेको थियो । यसले गर्दा बालबालिकाहरुले अत्यन्तै मनोरन्जन लिएका थिए भने आभिभावकहरुलाई पनि केही समय भएपनि कार्यक्रम सहज रुपले मनोरन्जन गर्न अवसर मिलेको थियो।
सप्री ल्होछार सेलेब्रेसन सांस्कृतिक कार्यक्रममा उत्कृष्ट नृत्यहरुको प्रस्तुति गरेका कलाकारहरु सरु गुरुङ राना, बिमला गुरुङ, रितु गुरुङ, कमला गुरुङ, प्रजु गुरुङ, सुजिता गुरुङ, ओसिअन राना, ओसिस राना, सुमि गुरुङ, जरिना गुरुङ, सुबिना घले, अर्जुन कुमार गुरुङ, डेविड गुरुङ र गोर्खा जिल्ला गुरुङ समाज युकेका युवा कलाकारहरु दिवस गुरुङ, अरुप क्षेत्री, अभिशा गुरुङ, सुसान गुरुङ र नेपालबाट आउनुभएका अतिथि कलाकारहरु शेखर घर्तिमगर, शितल गुरुङ, बिमला गुरुङ, हरिमाया गुरुङलाई धन्यवाद व्यक्त गर्दै खादा र कदरपत्रबाट सम्मान गरिएको थियो ।
कार्यक्रममा ओमकार गुरुङ र टेकबहादुर गुरुङ र गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले फोटोग्राफी गर्नुभएको थियो भने भिडियोग्राफी बिसन गुरुङ र साउण्ड सिस्टमको व्यवस्थापन विशाल मोक्तान र प्रज्ज्वल गुरुङले गर्नुभएको थियो । यसैगरी कार्यक्रममा खानाको व्यवस्थापन रारा केटर्सका प्रोपाईटर प्रताप रायमाझी र सहयोगीहरुले गर्नुभएको थियो भने पेय पदार्थको बिक्री वितरण तमु समाज युके युवा समूहले गरेको थियो ।
दिउँसो ४:३० बजे आरम्भ भएको सप्री ल्होछार कार्यक्रमको अन्तमा सबैजनाले प्रज्ज्वलमान गुरुङ र बिशाल मोक्तानको डिजेमा स्वस्फूर्त नाचेर मध्यरातसम्म भरपुर मनोरन्जन लिएका थिए ।
नेपालमा प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खस्योः आयोग
फैलिँदै इरान–इजरायल युद्ध
नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन : देशभर मतदान जारी
नेपालमा बिहीबार प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने आयोगको तयारी
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध