संगीता स्वेच्छाको उपन्यास ‘सेतो सिउँदो’लण्डनमा विमोचित

लन्डन । बेलायतबासी साहित्यकार संगीता स्वेच्छाको उपन्यास ‘सेतो सिउँदो’को लण्डनमा विमोचन भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतद्वारा आयोजित र ८७ औं पारिजात जयन्ती उत्सवको अवसरमा शनिबार आयोजित सो कार्यक्रममा विमोचित उपन्यास यसअघि ‘पखालिएको सिउँदो’को नाममा प्रकाशन भएको थियो । 

प्रमुख अतिथि डा. वीरेन्द्र अमात्य रहेको उक्त कार्यक्रममा लेखक डा. रुपक श्रेष्ठ र लेखिका प्रतिमा केसीले उपन्यासको समीक्षा प्रस्तुत गर्नुभएको थियो ।

लेखिका केसीले उपन्यासको गहिराइ र परिपक्वताको प्रशंसा गर्दै टिप्पणी गरिन्,  “उपन्यासले एक महिलाको मन उनको पीडालाई सूक्ष्म रूपमा प्रस्तुत गरेको छ। यसले नेपालमा महिला बेचबिखनको मुद्दालाई सफलतापूर्वक उठाएको छ। उपन्यासले सामाजिक, आर्थिक असन्तुलनलाई पनि देखाएको छ । संगीता स्वेच्छाको किशोरावस्थामा लेखिएको यो उपन्यास हरेक कोणबाट परिपक्व छ र नेपाली साहित्यले यस उपन्यासमा गर्व गर्न सक्छ ।”

डा. रुपक श्रेष्ठले तीन दशकअघि स्वेच्छाको उल्लेखनीय उपलब्धिको प्रशंसा गर्दै भने, “म अझै पनि अचम्ममा छु कि त्यसबेला एउटी १८ वर्षीय किशोरीले कसरी यो उपन्यासको कल्पना गर्न सक्छ । यो उपन्यासको परिपक्वता किशोरीले लेख्न सक्नेभन्दा धेरै अगाडि छ किनभने यसले महिला बेचबिखन, नेपाली समाजको सामाजिक, आर्थिक जीवन, महिलाको मनोविज्ञानलाई प्रस्तुत गर्दछ।”

संगीता स्वेच्छाले तीन दशकअघि प्रकाशित आफ्नो उपन्यासलाई पुनः परिचय गराउने अवसर पाएकोमा कृतज्ञता व्यक्त गरिन् । उनले अनेसास बेलायतलाई आफ्नो उपन्यासले कार्यक्रम मार्फत पुर्नजीवन पाएकोमा धन्यवाद व्यक्त गरिन् ।

बुक हिलद्वारा प्रकाशित ‘सेतो सिउँदो’को हाल अङ्ग्रेजीमा अनुवाद भइरहेको छ र चाँडै अंग्रेजी संस्करण पनि आउने स्वेच्छाले बताइन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री