रोचेस्टर स्वीप्स फेस्टिभलमा ढोल र झ्याम्टा


लण्डन । रोचेस्टर केन्टमा आयोजना गरिएको स्विप्स फेस्टिभल २०२४ मा नेपाली समुदायले साँस्कृतिक झाँकी र पहिरनसहित सहभागिता जनाएका छन् ।
मेडवेको पुरानो ऐतिहासिक शहर रोचेस्टरको गिल्डहल म्यूजियम फोरकोर्ट बाहिर ४ मे २०२४ शनिबार बेलायतको स्थानीय समय १०ः४५ मा मेडवेकी मेयर काउन्सिलर श्रीमती नीना गुरुङ्ले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रम सफलताको शुभकामनासहित नृत्य प्रदर्शन गर्दै कार्यक्रमको उदघाटन गर्नु भएको थियो । त्यसपछि सो फेष्टिभल तीन दिनसम्म चलेर समापन भएको हो ।
मोरिस नर्तक नर्तकीहरुको खुट्टाको चाँप घण्टी, मौलिक लोक धुन, बाजा र अन्य साँगीतिक धुनसहित रोचेस्टरको शहर साथै रोचेस्टर क्यासलको प्राङ्गण महोत्सवमा रमाउन सहभागी हुनेहरुको भीडले पूरै भरिएको थियो । मोरिस नर्तकहरुको रंगीबिरंगी पहिरन, अनुहार पोतेर विभिन्न रंगमा सजिएर कोही बाजासहित त कोही लाठी बोकेर लोक धुन र संगीतमा आफ्नो मौलिक लोक नृत्य प्रस्तुत गरिरहेका देखिन्थे ।
सहभागीहरु युरोपदेखि मात्र होइन दक्षिण एशिया र अफ्रिकी महादेशदेखि पनि आएका भेटिए । यो महोत्सव विश्वको लोक गीत संगीत र नृत्यको संगम स्थल बनेको थियो ।
यो वर्ष पहिलोपटक गोर्खा नेपाली समाज मेडवेलाई पनि स्विप्स फेस्टिभलमा सहभागिताको अवसर प्राप्त भएको थियो । त्यसको सदुपयोग गर्दै नेपाली लोक गीतमा दुईवटा सोलो नृत्य गोर्खालीको पहिचान एड्भान्स खुखुरी प्याटर्न, किरात राईहरुको साकेला अनि गोर्खालीहरुका बारेमा, नेपाल र नेपाली सामाग्रीहरुको प्रदर्शनी (वर्कसप) प्रस्तुत गरेर नेपाली संस्कार, लोक नृत्य र सङ्गीतको प्रस्तुति दिएर आफ्नो बलियो उपस्थिति जनाउन सफल बनेको छ ।
साकेला नृत्यमा स्थानीय र महोत्सवमा सहभागीहरु समेत ढोल र झ्याम्टाको तालमा ताल मिलाउँदै साकेलामा रमाएको दृष्य हेर्दै महोत्सवमा सहभागी ठूलो संख्याको नेपालीहरु गर्व मानिरहेका देखिन्थे ।
महोत्सवमा नेपाली उपस्थितिले केही हदसम्म भए पनि नेपालको पर्यटनमा टेवा पुग्ने र स्थानीयहरुका बीच नेपाली संस्कार संस्कृति, सँगीत र कलाको बारेमा केही जानकारी दिन सफल बनेकोमा नेपाली समाज मेडवे आफ्नो सहभागिता उपलब्धिमूलक बनेको जस्तो लागेको संस्थाका उपाध्यक्ष ज्ञानेन्द्र राईले जानकारी दिनु भयो । छोटो समयका बाबजुद पनि गोर्खा नेपाली समाज मेडवेले दिन रात खटेर भए पनि आफ्नो उपस्थिति बलियो देखाउन पाएको अनुभवसहित आगामी वर्षहरुमा फेरि सहभागी हुन पाए अझै बढी प्रस्तुतिहरु दिने प्रयास गर्ने महासचिव हरित पोख्रेलको भनाइ छ ।
“अझै धेरै गर्न सकिन्थ्यो तर करिब एक महिना अगाडी मात्रै सहभागी हुन पाउने जानकारी आएकाले निक्कै धपेडीका साथ यत्तिको प्रस्तुति दिन सकियो यसैमा गर्व लागेको छ । भविष्यमा फेरि मौका पाए अझै बढी अन्य जात जाति र लोक संस्कृति मिसाएर उपस्थिति जनाउने छौं । यो वर्षको प्रस्तुतिहरुमा सहभागी सम्पूर्णलाई संस्थाको तर्फबाट धन्यवाद दिन चाहन्छु,” महासचिब पोखरेलले भने ।
नेपाली प्रस्तुतिहरु उत्कृष्ट रहनुका साथै धेरै सहभागीहरुले मन पराइदिएको र नेपालको बारेमा धेरै बुझ्ने मौका पाएको प्रतिक्रिया धेरैको रहेको जानकारी दिनु हुँदै मेडवेकी मेयर काउन्सिलर श्रीमती नीना गुरुङ्ले आफू नेपाली मूलकी पहिलो महिला मेयर भएर कार्यक्रमको उद्घाटन गर्न पाउनु गर्वको कुरो रहेको बताउनु भयो । नेपाली संस्कृति, नृत्य, वीर गोर्खालीहरुको पहिचानको पर्याय खुकुरी प्याटर्न, जनजाति राईहरुको साकेला प्रस्तुति दर्शक सहभागीहरुलाई नचाउन सक्नु सबै कार्यक्रममा सहभागिताको सफलताको उदाहरण भएको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रम अत्यन्तै सफलतापूर्वक र सुरक्षित साथ सपन्न भएकोप्रति पनि मेयर गुरुङ्ले सन्तोष व्यक्त गर्नुभयो । मेडवे अत्यन्तै सुन्दर र भ्रमणयोग्य रहेको जानकारी दिनु हुँदै मेयर गुरुङले सबैलाई मेडवे भ्रमण गर्न निम्तो दिनु भयो ।
गोर्खा नेपाली समाज मेडवेका सल्लाहकार शिवराम राईले आफूले १४ वर्षको उमेरदेखि नाची आएको साकेला युकेको रोचेस्टर स्विप्स महोत्सवमा नाच्न पाउनु आफैँमा गर्वको कुरा भएको बताउनु भयो । उभौली पनि नजिक आइरहेको बेला यहाँ साकेला नाच्न पाउनु अत्यन्तै संयोग र खुशीको कुरा हो भन्दै उहाँले खुशी व्यक्त गर्नु भयो ।
साकेला संयोजक श्रीमती चन्द्रावती राईले गैर राई र पहिलो पटक सिकेर छोटो समयमा पनि राम्रो साकेला प्रस्तुत गर्न सघाउने सबैलाई धन्यबाद दिंदै साकेला देखाउन पाउनु साँस्कृतिक प्रदर्शनी स्थलमा अत्यन्तै खुशीको कुरा हो भन्नु भयो ।
ब्यांक होलिडेको लामो सप्ताहान्तको तीन दिने महोत्सवमा विभिन्न ब्याण्डहरुले आफ्नो गीत संगीत प्रस्तुत गरेका थिए । विभिन्न पेय, खानाको स्टल देखि बिबिध सामाग्रीका स्टलहरुमा सहभागीहरुले मज्जाले किनमेल समेत गरेका थिए ।
बेलायतमा भर्खरै जाडो मौसम सकिएको समयमा आयोजना गरिएको रोचेस्टर स्विप्स फेस्टिभलमा युकेका मात्र नभएर विश्व भरिबाट महोत्सवमा सहभागी हुन् आउने गर्दछन ।
करिब ६० हजार बढीले महोत्सवमा सहभागिता जनाएको आँकलन गरिएको छ ।
मेयर गुरुङले समापन समारोहमा मन्तब्य दिनु हुँदै कार्यक्रम भब्य रुपमा सम्पन्न गर्न खटिएका सम्पूर्णलाई धन्यवाद दिंदै बधाई ज्ञापन गर्नु भयो ।
स्विप्स फेस्टिभलका शुरुवातकर्ता गोर्डन न्युटनलाई मायाको चिनो दिंदै कार्यक्रम सफलताको बधाई दिंदै कार्यक्रम शुरु गरेकोमा मेयरले धन्यवाद ज्ञापन गर्नु भयो ।
सन् १९८१ सालमा गोर्डन न्युटनले रोचेस्टर स्विप्स महोत्सवको शुरुवात गरेका थिए भने हरेक वर्ष मेडवे काउन्सिलसँगको सहकार्यमा यो महोत्सव आयोजना हुने गरेको छ ।
स्विप्स ब्रिटिश मौसमको गर्मीको शुरुवातको प्रतीक हो जस्लाई चिम्नी स्विप्स र मोरिस नर्तकहरुले रमाउंदै स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री