
गलकोट (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएकोको कोदोको बिस्कुट छोटो समयमै उपभोक्ताको रोजाइमा परेको छ ।
काठेखोला गाउँपालिका- ८ लेखानी कादेशका चानसिंह श्रीसले सुरु गर्नु भएको कोदोको बिस्कुट उत्पादन तीन महिनामै माग धान्न नसक्ने अवस्थामा पुगेको हो । पुरानो खाद्य बालीका रुपमा रहेको कोदोलाई ‘ब्रान्डिङ’गर्न गत फागुनदेखि बिस्कुट उत्पादन गरी उहाँले बजारमा पठाउनु भएको थियो ।
बिस्कुट बजारमा पुगेपछि माग ह्वात्तै बढेको हो । ३४ वर्षीय युवा श्रीसले घरेलु उद्योगमार्फत कोदोको बिस्कुट उत्पादन सुरु गर्नुभएको हो । उहाँले उद्योग फस्टाउन थालेपछि पाँचजनालई प्रत्यक्ष रोजगारी दिनुभएको छ । गाउँमै उद्यम गरेर स्वरोजगार बन्न सात वर्षदेखि कोदोको बिस्कुट बनाउन अनुसन्धान गरेपछि श्रीसले उत्पादन सुरु गर्नुभएको हो ।
“कोदोको बिस्कुटको माग दैनिक १५ हजार थान छ तर मेरो उद्योगको क्षमता दैनिक एक हजार पाँच सय छ”,उहाँले भन्नुभयो, “मैले उपभोक्ताको माग पूरा गर्नै सकेको छैन ।” मागको ३० प्रतिशत मात्रै कोदोको बिस्कुट बजारमा पठाउन सकेको उहाँले बताउनुभयो । अझै ७० प्रतिशत माग पुर्याउन बाँकी छ । त्यसका लागि भारतबाट अत्याधुनिक बिस्कुट बनाउने उपकरण भित्र्याउने तयारीमा श्रीस हुनुहुन्छ । एक महिनाभित्र उक्त उपकरण आएपछि मागअनुसार उत्पादन हुने उहाँको भनाइ छ ।
विसं २०७७ मा स्थापना गरिएको उद्योगले अहिले कोदोको बिस्कुट उत्पादन गरेर बजारमा पुर्याएको हो । गाउँमा उत्पादन भइरहेको कोदोको महत्व जगाउँदै कोदोको स्वादमा जागा इन्टरनेसनल इन्भेष्टमेन्ट एन्ड रिसर्च सेन्टर प्रालिको नामबाट बिस्कुट बजारमा पु-याइएको हो ।
लामो समयदेखि आलु, कोदो, जौ र मकैको बिस्कुट बनाउन अध्ययनपश्चात् पहिलो चरणमा कोदोको बिस्कुट उत्पादन गरेको श्रीसले बताउनुभयो । उहाँले रु ४० लाख लागतमा नयाँ उपकरण भारतबाट ल्याउन लागेको जानकारी दिनुभयो । कोदोको बिस्कुटले यत्तिको लोकप्रियता कमाउला भनेर उहाँले सोच्नुभएको थिएन । उहाँका अनुसार छिमेकी जिल्लासँगै विदेशबाट समेत बिस्कुटको माग हुन थालेको छ ।
उहाँले जापानमा समेत आफ्नो बिस्कुट प्रदर्शन भइसकेको बताउनुभयो । घरेलु उद्योगको हिसाबले सानो पूँजीमा सुरु गरेको उद्योगमा राष्ट्रिय उद्योगको जस्तो माग आएपछि थप संरचना निर्माणको काम सुरु गर्नुभएको छ ।“धान्नै नसक्ने माग आयो, अहिले उद्योगको क्षमता विस्तारमा लागेको छु, २० लाखमा सुरु गरेको उद्योग अबको एक महिनामा करोड लागत पुग्छ, मागअनुसारको बिस्कुट उत्पादनका लागि एक महिना लाग्छ,” श्रीसले भन्नुभयो, “अहिले नयाँ उपकरणका लागि संरचनाहरु निर्माण भइरहेको छ, कोदोको बिस्कुटको माग धान्न नसकेर फोन उठाउनै नसक्ने भएँ ।”
सिए पढ्ने सपना अधुरै राख्नुभएका श्रीसल पाँच वर्ष काठमाडौँमा रेष्टुराँ चलाउनुभएको थियो । उहाँ कोरोनाकालमा गाउँ फर्केपछि बिस्कुट उद्योग सञ्चालनमा ल्याउनुभएको हो । कुनै समय गरिबको खानाका रुपमा चिनिएको कोदोको परिकारको महत्व बढेपछि श्रीसले नेपालमै पहिलोपटक कोदोको बिस्कुट बजारमा ल्याएको दाबी गर्नुभएको छ । अहिले गुणस्तरीय प्याकेटमा ७० ग्रामको कोदोको बिस्कुटलाई रु २० मा बजार पठाउनु भएको छ । जसलाई नेपाल सरकारले गुणस्तरको चिह्नसमेत प्रदान गरिसकेको छ ।
उद्योग स्थापनाका लागि गण्डकी प्रदेश सरकारले ग्रामीण साना घरेलु उद्योग स्थापना कार्यक्रमअन्तर्गत रु १० लाख अनुदान दिएको छ । गाउँमै पाइने कच्चापदार्थ कोदोलाई बहुमूल्य बनाउन बिस्कुट निर्माण गरेको उहाँको भनाइ छ । बिस्कुटमा धेरै मात्रमा कोदोको पीठो भए पनि गहुँ, घीउ र तेलको समिश्रण हुने गरेको छ । अर्गानिक कोदोबाट उत्पादित बिस्कुटले स्वास्थ्यलाई समेत फाइदा पुग्ने उहाँको भनाइ छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]