
काठमाडौँ ।
“आहै ! कति प्यारो नानी”
भित्ताभरि टाँसिएका बच्चाका तस्बिरले रीमा घलेको मन थामिँदैन । चिकित्सकको पालो कुर्दै बसेकी उहाँ जुरुक्क उठेर तस्बिर भएतिर पुग्नुहुन्छ । औँलाले आकृति सुम्सुमाउनुहुन्छ । यतिले मात्रै उहाँको मातृत्व भरिँदैन । मोबाइलले तस्बिर खिच्न थाल्नुहुन्छ । हुन त उहाँको रहर काखैमा बच्चा समाउने, हुर्काउने थियो तर तस्बिर हेरेरै चित्त बुझाउनुपर्ने नियति छ । बिजुलीबजारस्थित निःसन्तान केन्द्रमा बाँझोपनको उपचार गर्न आउनुभएकी उहाँ भन्नुहुन्छ, “आमा बन्ने रहरले केसम्म गरिनँ । सन्तानको तिर्खाले मन भतभती पोल्छ, सताउँछ ।”
अर्घाखाँची घर भएकी ४२ वर्षीया रीमालाई आमा बन्नुको पछाडि शारीरिक आवश्यकतासँगै सामाजिक बोझ समेत छ । सन्तान जन्माउन ढिलाइ भएकै कारण उहाँले परिवार र समाजमै विभेद् खेप्नुपरेको बताउनुहुन्छ । सन्तान जन्माउने सपना बोकेर उहाँका दम्पतीसहित निःसन्तान केन्द्रमा धाउनुपरेको छ । उपचारका लागि छ महिनादेखि पालो कुरेर केन्द्र आउन सक्नुभएको उहाँले बताउनुभयो । “सकेसम्म प्रयास गर्छु, भइहाल्छ कि”, उहाँ भन्नुहुन्छ ।
सन्तानको सपना बोकेर आउनेहरुले उपचार केन्द्र भरिभराउ हुन्छ । आमा, बुबा बन्न सफल हुनुभएका पात्र देखेर कतिपय दम्पतीमा भरोसा जाग्छ । सर्लाहीकी भीमा साह सन्तानप्रति उहाँले सजाएका थुप्रै सपना छन् । कुनै दिन उहाँमा पनि आमा बनेर सन्तानसहित खिचेको तस्बिर सुत्ने कोठाको भित्तामा टाँस्ने रहर छ । त्यति मात्रै होइन, सबैभन्दा ठूलो रहर त उहाँले मातृत्व अनुभूति गर्नुछ । सुत्दा, उठ्दा, हिँड्दा, बोल्दा जहाँसुकै सन्तानकै पीडाले पिरोल्छ उहाँलाई । बिहे गरेको पाँच वर्ष नाघ्यो ।
भीमाका दम्पती निःसन्तान छन् । उपचारका लागि सामान्य खर्च गर्दै आए पनि के समस्या हो ? अझै पत्तो लागेको छैन । बिजुलीबजारस्थित निःसन्तान केन्द्रमा उपचार गर्न आएका यी दम्पतीले सन्तानको रहर पूरा हुने वा नहुने उपचारकै क्रममा थाहा पाउने गर्नुहुन्छ । उहाँले जस्तै सन्तानको तिर्खा लिएर चिकित्सक कहाँ भौँतारिने दम्पती थुपै्र हुनुहुन्छ ।
एक्लै हुँदा आफूलाई मात्रै यस्तो परेको जस्तो मानेकी ललितपुरकी जेनिसा श्रेष्ठ जब उपचार केन्द्रमा अन्य निःसन्तान दम्पती देख्निुहुन्छ्, मन शान्त पार्नुहुन्छ । २९ वर्षीया उहाँ सन्तान नभएकै कारण मायाले समेटिएको परिवारमा पीडा थपिएको अनुभव सुनाउनुभयो । सन्तान जन्माउन नसकेपछि श्रीमान्को अर्कै बिहे गरिदिने दबाब आएको उहाँले दुःखेसो पोख्नुभयो । उहाँ भन्नुहुन्छ, “एकारित बाँझो हुनुको पीडा छ, अर्कोतिर बेघर हुनुको डर ।”
सन्तानको तिर्खा एकातिर छँदैछ । सन्तान नहुँदा समाज र परिवारले दिने पीडा अर्को समस्या छ । खासगरी महिलाले निःसन्तान हुनुको बोझ बढी झेल्नुपर्छ । उहाँ निःसन्तान हुनुहुन्छ । बिहे गरेको थुर्पै वर्ष पुग्दा पनि उहाँ आमा बन्न सक्नुभएन । परिवारमा “बाँँँझी आइमाई ! अलच्छिनी आइमाई” भन्दै दुव्र्यवहार गर्न थाल्नुभयो । छोरीको माया गर्ने थलो भनेको माइतीघर हो । उहाँ त्यही विश्वासका साथ सानीआमाको छोरीको बिहेमा पुग्नुभएको थियो । उहाँ उत्साहित हुँदै जन्ती ल्याउन अघि सर्न नपाउँदै, उहाँकी सानीआमाले सबैको अगाडि समाएर घिसार्दै तानिन् ।
“यस्तो विवाहको अवसरमा तँ बाँझी आइमाई अगाडि देखा परेर अपसगुन गरिस् । तँ अलच्छिनीले गर्दा अब बहिनीको पनि बच्चा हुँदैन” भनेर गाली गर्दै कुटपिट गर्नुभयो । घरमा सासूलगायतले दिने यातना त छँदै थियो माइतीमा पनि यस्तो अपमान र यातना पाएपछि उहाँ सहन सक्नु भएन । सिधै त्रिशूलीतिर हामफाल्न कस्सिनुभयो । समाजले न मर्न दिन्छ, न बाँच्न नै उहाँ भन्नुहुन्छ, “एकजना गाउँकै भाइले देखेर बचायो ।”
सन्तान नहुनुमा दोष उहाँको मात्रै छैन । कुलत र धुप्रपानमा फसेका श्रीमान्मा शुक्रकिट कमी हुनाका साथै उहाँको अण्ड विकास कमजोर छ । दम्पती दुवैको समस्याले सन्तान नजन्मिएको हुँदा समाजले महिलालाई नै दोषी ठहर गर्ने पितृसत्तात्मक सोचको सिकार उहाँ हुनुभएको छ ।
डा उमा श्रीवास्तवका अनुसार सन्तान नहुनुको सामाजिक विभेदमा सबैभन्दा बढी महिला पर्नुहुन्छ । ६० वटा मुद्दामा एकजना मात्रै पुरुष पीडित हुनुहुन्छ । नभए सबै महिला सामाजिक र पारिवारीक चपेटामा परेको अवस्था छ । सन्तान नभएकै कारण ‘बाँझी आइमाई’ भन्दै सरापेर नन्दले तातोपानी खनाइदिएको घटना डा श्रीवास्तवले पीडितबाट सुनेको बताउनुभयो ।
श्रीमान्बाट सन्तान नहुने सम्भावना देखिएमा पत्नी अझै पीडित हुन्छन् । कतिपय श्रीमान्ले आफू सन्तान उत्पादन गर्न नसक्ने अवस्था लुकाउन तीनजना पत्नी बिहे गर्न पछि नपरेको उदाहरण छन् । डा श्रीवास्तवका अनुसार पत्नी पढेलेखा शिक्षित र सुन्दर थिए । श्रीमान्को कुनै राम्रै व्यवसाय छ । उहाँ काठमाडौँ बाहिरबाट आउनुभएको थियो । एक सन्दर्भमा श्रीमतीले “मभन्दा अघिकी श्रीमती बच्चा नहुँदै छोडेर गएपछि उहाँले मलाई बिहे गरेको” भन्नुभयो । श्रीमतीले खुलेर कुरा गर्नुभयो तर श्रीमान् अलि अनकनाउँदै हुनुहुन्थ्यो ।
यसअघि धेरै वर्षपहिले उहाँ दोस्रो पत्नी लिएर क्लिनिकमा निःसन्तान उपचार गर्न आउनुभएको थियो । त्यतिबेला नै चिकित्सकले तपाईंको शुक्रकीट उत्पादन हँुदैन, वीर्यदाताबाट सन्तान जन्माउन सकिन्छ भन्दै सल्लाह दिइएको थियो । त्यो सल्लाहले ती पुरुष रिसाएर अस्वीकार गरे । आफू सन्तान उत्पादन गर्न सक्षम भएको दाबी गर्दै उहाँले फेरि अर्को बिहे गर्नुभएछ । तेस्रो पत्नीका साथ पुनः क्लिनिकमा उपचार गर्न आएपछि डा श्रीवास्तवले त्यही सल्लाह दिएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “पितृसत्तात्मक सोचले पुरुषले यथार्थ स्वीकार गर्दैनन् जसको मर्कामा महिला परेका छन् ।”
नेपाली समाज बाँझोपन ठूलो समस्याका रुपमा देखापरेको छ । निःसन्तान केन्द्रकी चिकित्सक डा उमाले केही वर्षयता निःसन्तानको समस्या बढ्दो रहेको बताउनुभयो । विश्वभरि नै प्रत्येक दिन छजनामध्ये एकजनामा बाँझोपन भएको उहाँ सुनाउनुहुन्छ । ढिलो विवाह, खानपान, परिवार नियोजनका अस्थायी साधनको अत्याधिक प्रयोगलगायत थुप्रै कारणले बाँझोपन निम्तिएको डा श्रीवास्तवको ठहर छ ।
आमा बन्ने मोह र सामाजिक दबाबमा परेर महिलाले सन्तानको इच्छा पूरा गर्न अनेक कष्ट र चुनौती पार गर्नुपर्ने हुन्छ । यसको पछिल्लो उदाहरण हो थापाथलीस्थित प्रसूति गृहबाट नवजात शिशु चोरी गरेर लगेकी एक महिलाको मर्मस्पर्शी घटना । पटकपटक सन्तान गर्भपतन भएको पीडासँगै बच्चा नभएर घरै फर्किन नसक्ने स्थिति भोग्दै आएकी ती महिलाले बच्चा चोर्नुबाहेक कुनै उपाय नदेखेको बताउनु भएको थियो ।
टेस्ट्युब बेबीको अवधारणालाई नेपालमा प्रयोग गर्नुभएका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजालका अनुसार बाँझोपनको पीडा सामान्य होइन । महिलाले यो समस्याबाट धेरै दुःख र यातना पाउनुभएको छ । विसं २०४० यताको तथ्याङ्क हेर्ने हो भने बाँझोपनको दर उकालो लागेको डा रिजालको ठम्याइ छ ।
झन्डै १० वर्षअघिको आँकडा हेर्दा १५ प्रतिशत निःसन्तान समस्या देखिएको थियो । यो तथ्याङ्क बढेर २२ प्रतिशत पुग्न लागेको उहाँ सुनाउनुहुन्छ । “वैदेशिक रोजगारमा जाने श्रीमान् र ढिलो विवाह गर्ने महिलाको सङ्ख्या बाँझोपनको मूल समस्या बन्दै गएको छ”, उहाँ थप्नुहुन्छ, “साथै अनधिकृत औषधि सेवनले पाठेघर कमजोर बनाउँदैछ ।”
डा रिजालका अनुसार वैदेशिक रोजगारमा जाने पुरुषले आधा प्रजनन क्षमता हुने समय उतै खर्चिन्छ । चिता र जिम्मेवारीको बोझ थपिँदा प्रजनन शक्ति झनै क्षीण हुन्छ । यता महिलाको उपयुक्त प्रजनन उमेर २५ देखि ३५ वर्षभित्र प्रचुर मानिन्छ । ढिलो विवाह, श्रीमान् विदेशीलगायत समस्याले बाँझोपन निम्तिने कारण रहेको उहाँ बताउनुहुन्छ ।
निःसन्तान महिलाले आमा बन्ने सामाजिक दायित्वको बोझ उठाउनुपर्ने हुँदा उनीहरुको मनोवैज्ञानिक उपचार आवश्यक छ । डा रिजाल थप्नुहुन्छ, “सन्तान नजन्माएकै कारण महिलाले तिरस्कार सहनुपर्छ । यो उनीहरुमाथि समाजले गरेको दुव्र्यवहार हो ।” सामाजिक सोच, व्यवहार र प्रजनन स्वास्थ्यप्रति गम्भीर नबन्ने हो भने भोलि यसले समाजमा ठूलै समस्या ल्याउन सक्नेतर्फ समयमै ध्यान जान आवश्यक छ ।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित