
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १९५० को नेपाल भारत सन्धि पुनरावलोकनका लागि अन्तरराष्ट्रिय कानूनका विज्ञ प्रा सूर्य सुवेदीले पठाएको मस्यौदा आफूसँग अझै सुरक्षित रहेको बताएका छन्।
शनिबार बिहान काठमाडौंमा आयोजित ‘प्रा सूर्य सुवेदी:महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन् ।
आफू पहिलोपटक प्रधानमन्त्री पदमा निर्वाचित भएपछि भारत भ्रमणमा जानुअघि दुई देशबीचको सन् १९५० को सन्धि पुनरावलोकन गर्नका लागि धेरै पक्षबाट सुझाव आएको र ती मध्ये प्रा सुवेदीले पठाएको सुझावको प्रति आफूसँग अझै सुरक्षित रहेको बताए। ‘मेरो भ्रमण पछि सन्धि पुनरावलोकनको कुरा संयुक्त विज्ञप्तिमा पनि उल्लेख भएको छ, तर कतिपय कारणले उक्त विषय अगाडि बढ्न सकेको छैन’, उनले भने।
‘विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपालीहरू जाने गरेका छन्। त्यहाँ गएकामध्ये कैयौं नेपालीहरूले राम्रो प्रगति पनि गरेका छन्। त्यसको उदाहरण डा सूर्य सुवेदी पनि हुनुहुन्छ। प्रा सुवेदीले नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकहरूसँग गरिएका सन्धि सम्झौताहरूको पुनरावलोकनबारे मैले सहयोग मागेको थिएँ। उहाँले त्यसमा निकै राम्रो सहयोग गर्नुभयो। पछिल्लो एमसीसी सम्झौतामा पनि उहाँले मध्यमार्गी विकल्प दिनुभयो र हामीले लागू पनि गर्यौँ। तपाईंको विज्ञतालाई हामी निरन्तर कदर गर्ने छौं’, उनले भने।
प्रतिनिधि सभाकी पूर्व उपसभामुख पुष्पा भुसालले प्रा सुवेदीको संघर्ष र उपलब्धिको कथाले युवा पुस्तालाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरिन्। लक्ष प्राप्तिको लागि सुवेदीले गरेको मेहनत सबैको लागि उदाहरणीय भएको उनले बताइन् ।
विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयबाट पीएचडी गर्ने पहिलो नेपाली प्रा सुवेदी जस्ता व्यक्तित्वको ज्ञान, सीप र अनुभव नेपालले प्रयोग गर्न ढिलो गर्नु नहुने भुसालको भनाइ थियो।
पूर्व मन्त्री तथा वरिष्ठ अधिवक्ता अग्नि खरेलले सुवेदीले प्राज्ञिक क्षेत्रबाट संसारमै नेपाललाई चिनाइरहेको बताए। ‘हामीले निष्ठापूर्वक देशको लागि केही गर्छौं कि गर्दैनौँ, मुख्य कुरा त्यो हो’, उनले भने‘शान्ति क्षेत्रको प्रस्तावको हामीले विरोध गर्यौं, तर अहिलेको भूराजनीतिक स्थिति हेर्दै जाँदा शान्ति क्षेत्रको प्रस्ताव गलत थियो भन्ने मलाई लाग्दैन। हामीले निर्वाचन पद्धतिलाई बदल्नु पर्छ र अगाडि बढ्नु पर्छ।’
उनले प्रा सुवेदीले आफूसंग भएका अन्तरराष्ट्रिय कानून सम्बन्धी दुर्लभ ग्रन्थहरु नेपाल ल क्याम्पसलाई प्रदान गरेको भन्दै त्यसको प्रशंसा पनि गरे।
लोकार्पण समारोहलाई सम्बोधन गर्दै बेलायतको लिड्स विश्व विद्यालयमा अन्तरराष्ट्रिय कानूनका प्राध्यापक डा सुवेदीले नेपालको लोकतान्त्रिक आन्दोलन, कम्बोडियाको शान्ति प्रक्रिया र अन्तर्राष्ट्रिय कानुनका क्षेत्रमा आफूले बटुलेको अनुभव र ज्ञान नेपाल र नेपालीको हितका लागि उपयोग गर्न आफू सधैं तत्पर रहेको बताए।
बेलायतलाई कार्यथलो बनाएका पत्रकारद्वय भगीरथ योगी र नवीन पोखरेलले लेखन तथा सम्पादन गरेको उक्त पुस्तक बुक हिलले प्रकाशन गरेको हो।
कार्यक्रम संचालन बुक हिलका प्रकाशक कवि तथा पत्रकार भूपेन्द्र खड्काले गरेका थिए।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी