
काठमाडौँ । विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जार्बोसले आज अर्थमन्त्री वर्षमान पुनसँग भेट गर्नुभएको छ ।
आज अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पुनले नेपालमा विश्व बैंकको आर्थिक तथा प्राविधिक सहायता बढाउन उहाँसँग आग्रह गर्नुभयो । अर्थमन्त्री पुनले अर्थतन्त्र अझै केही दबाबमा रहेकाले नेपाललाई प्राथमितामा राख्न आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
विश्व बैंक नेपालको ठूलो मध्येको एक विकास साझेदार भएकाले समन्वय र सहकार्यको अपेक्षा पनि उच्चस्तरकै रहेको अर्थमन्त्री पुनले बताउनुभयो । सरकारको खर्च बढाउने, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा तीव्रता दिँदै अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण विकास साझेदारका हैसियतले विश्व बैंकको सहयोग जरुरी रहेकामा उहाँले जोड दिनुभयो ।
“कतिपय आन्तरिक र कतिपय बाह्य कारणले अर्थतन्त्र केही दबाबमा छ । यो चुनौतीपूर्ण अवस्थामा विश्व बैंकबाट थप सहयोगको अपेक्षा हामीले गरेका छौँ”, अर्थमन्त्री पुनले भन्नुभयो । सार्वजनिक वित्तका क्षेत्रमा सुधार र खासगरी पुँजीगत खर्च बढाउने गरी आफूले काम गर्ने उहाँको भनाइ छ ।
विश्व बैंकको लगानीमा निर्माण प्रस्ताव गरिएको महत्वाकांक्षी माथिल्लो अरुण जलविद्युत् आयोजना, प्रदेश तथा स्थानीय सडक पूर्वाधार निर्माण, डिजिटल नेपालसम्बन्धी आयोजनाका काम नेपालले प्राथमिकताका साथ अघि बढाइरहेको मन्त्री पुनले बताउनुभयो ।
अर्थमन्त्री पुनसँगको भेटमा देशीय निर्देशक जार्बोसले विश्व बैंकको लगानीमा सञ्चालित आयोजनाको प्रगति सन्तोषजनक बनाउन सरकारका तर्फबाट गर्नुपर्ने समन्वयका लागि ध्यानाकर्षण गराउनुभयो । विश्व बैंकले निर्माण गर्दै गरेको नयाँ साझेदारी रणनीतिको खाकाबारेसमेत जार्बोसले मन्त्री पुनलाई अवगत गराउनुभयो ।
उहाँले आगामी जुनमा काठमाडौँमा हुने विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए) को बैठकको तयारीबारे पनि मन्त्री पुनलाई जानकारी गराउनुभयो । आइडीएले विकासोन्मुख मुलुकका लागि वित्तीय सहायता, सहुलियतपूर्ण ऋण र अनुदानप्रदान गर्दै आएको छ ।
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार