
लिस्बन (पोर्चुगल) । पोर्चुगलमा रोजगारीका लागि पुगेकी एक नेपाली चेली सडक दुर्घटनामा परी गम्भीर घाइते भएर उपचार नपाउँदा बिचल्लीमा परेकी छिन् ।
वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि पोर्चुगल आएकी सिन्धुली जिल्ला मरिण–३ की २९ वर्षीया सुस्मिता मोक्तान उपचार अभावमा बिचल्लीमा परेकी हुन् ।
सडक पार गर्ने क्रममा कारको ठक्करबाट गम्भीर घाइते भएकी मोक्तान औषधि उपचारको अभावमा ओछ्यानमै थलिएर बसेकी छिन् ।
जनवरी १० तारिखका दिन कामबाट फर्कने क्रममा मोन्तिजोमा साँझ ७ बजेतिर जेब्रा क्रसिङबाट बाटो काट्दै गर्दा तीव्रगतिमा आएको कारले उनलाई एक्कासी ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उनको दाहिने हात र देब्रे तिघ्राको हड्डी भाँचिएको छ । कारको ठक्करबाट उछिट्टिएर सडकको छेउमा रगताम्मे अवस्थामा ढलेकी उनको अनुहारमा समेत चोट लागेको छ । देब्रे खुट्टा नचल्ने भएपछि मोक्तान ओछ्यानमै थला परेको एक महिना हुन लागेको छ । सामान्य उपचारबाट समेत बञ्चित भएकी उनको स्थिति दिनप्रतिदिन नाजुक बन्दै गएको छ ।
दुर्घटनापश्चात् प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेपछि उनलाई तत्काल मोन्तिजोस्थित बरेइरो अस्पताल पुर्याइएको थियो भने कार चालक फरार भएका थिए । उपचारका लागि अस्पताल पुर्याइए पनि अस्पतालले हातको मात्रै शल्यक्रिया गरी खुट्टाको उपचार नै नगरी घर पठाएको पीडित मोक्तानले दुःखेसो पोख्नुभयो । खुट्टाको उपचारका लागि अस्पतालसँग धेरै अनुरोध गरे पनि उपचार नै नगरी घरमै आराम गर्नु भनी अस्पतालले जबर्जस्ती डिस्चार्ज गरेको उनले बताइन् ।
रोजगारदाता मोन्तिजोस्थित ट्रान्सएटलान्टिको टरभालो टेम्पोरेरिया एलडीए कम्पनीले समेत उपचारमा बेवास्ता गरेपछि मोक्तानले उपचारका लागि सहयोगको याचना गरेकी छिन् ।
“उपचारै नपाउँदा म त मुढाजस्तै ढलिरहेको छु । न त उठ्न, चल्न सक्छु, न त दिसापिसाब नै गर्न सक्छु । विदेशी भूमिमा मेरो रेखदेख र स्याहारसुसार गरिदिने पनि कोही छैन । उपचार नपाउँदा जीवनभर कुँजिएरै बस्नुपर्ने हो कि भन्ने चिन्ताले सताउन थालेको छ”, पीडा सुनाउँदै मोक्तानले भनिन् ।
दुर्घटनामा परी बाँचेपनि उपचार पाउन नसक्दा घरपरिवारसमेत चिन्तित बनेका छन् ।
मोक्तान मोन्तिजोस्थित ट्रान्सएटलान्टिको टरभालो टेम्पोरेरिया एलडीए कम्पनीमा कृषि मजदुरका रुपमा कार्यरत थिइन् ।
मोक्तानकी साथी प्रतिज्ञा बानियाँ मोक्तानको अस्था दयनीय भएको बताउँछिन् । “सुस्मिताको उठ्न, चल्न सक्ने अवस्था छैन । ओछ्यानमा थला परेकी छिन्, रेखदेख गर्ने कोही छैन । उनको त बिजोग नै भएको छ”, बानियाँले भनिन् ।
मोक्तानको दुर्घटनाको विषयमा लिस्बनस्थित महावाणिज्यदूतको कार्यालय र गैरआवासीय नेपाली सङ्घलाई जानकारी गराइएको छ । मोक्तानको उपचारका लागि विभिन्न माध्यममार्फत पहल भइरहेको यहाँ कार्यरत नेपाली पत्रकार प्रबल भट्टराईले बताउनुभयो ।
पीडित मोक्तानको औषधोपचारसहित पाउन सक्ने सेवा सुविधाका लागि कानुन व्यवसायीको व्यवस्था गरी औषधोपचारसँगै आवश्यक कानुनी उपचारको समेत पहल भइरहेको मोन्तिजो नेपाली समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनले बताए । उनको उपचारका लागि यहाँ क्रियाशील नेपाली सङ्घसंस्थामार्फत आर्थिक सहयोग सङ््कलन अभियानसमेत सञ्चालन गरिएको उनले जानकारी दिए ।
अस्पतालले डिस्चार्ज गरेपछि मोक्तान कम्पनीले कामदार राख्दै आएको एक आवासगृहमा साथीहरूसँग बस्दै आएकी छिन् ।
चार वर्षदेखि नेपाल नगएकी मोक्तानको नेपालमा आठ वर्षीय छोरा र श्रीमान् रहेको जनाइएको छ ।
मोक्तान दुर्घटनामा परी उपचारबाट समेत बञ्चित हुनुपरेको विषयमा सम्बन्धित निकायमा बुझ्ने काम भइरहेको र उपचारका लागि आवश्यक पहल भइरहेको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले बताए ।
मोक्तान रोजगारीको सिलसिलामा चार वर्षअघि साइप्रस र दुई वर्षअघि पोर्चुगल आएकी हुन् ।
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन