अयोध्यामा राम लल्लाको मूर्ति अनावरण

अयोध्या (भारत) । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सोमबार अयोध्याको श्री राम जन्मभूमि मन्दिरमा राम लल्लाको मूर्ति अनावरण गरिएको छ ।
मन्दिरको गर्भगृहमा भएको प्राण प्रतिष्ठा समारोहमा प्रधानमन्त्री मोदीले अनुष्ठानको नेतृत्व गर्नुभएको थियो । गहिरो भक्तिभावको वातावरणमा समारोहको आयोजना भएको हो ।
राम लल्लाको मूर्ति अनावरण हुनेबित्तिकै भारतीय वायु सेना (आइएएफ) का हेलिकप्टरहरूले अयोध्यामा श्री राम जन्मभूमि मन्दिर परिसरमा फूलको वर्षा गरेका थिए । समारोह आयोजना भएकामा भक्त तथा अतिथिहरूले ‘जय श्री राम’ को नारा लगाएका थिए ।
समारोहमा राष्ट्रिय स्वयंसेवक सङ्घका प्रमुख मोहन भागवत, उत्तर प्रदेशका राज्यपाल आनन्दीबेन पटेल र राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ उपस्थित हुनुहुन्थ्यो । भव्य मन्दिरमा समारोहका लागि आठ हजारभन्दा धेरै अतिथिलाई आमन्त्रण गरिएको थियो ।
ऐतिहासिक प्राण प्रतिष्ठा समारोहमा मुलुकका सबै प्रमुख आध्यात्मिक तथा धार्मिक सम्प्रदायका प्रतिनिधिले भाग लिएका छन् । समारोहमा विभिन्न आदिवासी समुदायका प्रतिनिधिसहित सबै क्षेत्रका मानिस पनि सहभागी भएका छन् ।
श्री राम जन्मभूमिको निर्माण परम्परागत नगारा शैलीमा गरिएको हो । यसको लम्बाइ (पूर्व–पश्चिम) तीन सय ८० फिट, चौडाइ दुई सय ५० फिट र उचाइ एक सय ६१ फिट रहेको छ । समग्रमा मन्दिरमा कूल तीन सय ९२ स्तम्भ र ४४ ढोका छन् ।
मन्दिरको स्तम्भ र पर्खालहरूमा हिन्दू देवी–देवताका साथै देवीहरूका जटिल मूर्तिकला प्रदर्शित छन् । भुइँतलामा रहेको मुख्य गर्भगृहमा भगवान् श्री रामको बाल्यकालको स्वरूप (श्री राम लल्लाको मूर्ति) राखिएको छ ।
मन्दिरको मुख्य प्रवेशद्वार पूर्वी दिशामा रहेको छ । त्यहाँ सिंहद्वार हुँदै ३२ सिँढी चढेर पुग्न सकिन्छ । मन्दिरमा कूल पाँच मण्डप (हल) नृत्य मण्डप, रङ्ग मण्डप, सभा मण्डप, प्रार्थना मण्डप र कीर्तन मण्डप छन् । मन्दिर नजिकै ऐतिहासिक इनार (सीता कूप) छ । यो इनार प्राचीनकालको हो ।
मन्दिर परिसरको दक्षिणपश्चिमी भागमा रहेको कुबेर टिलामा भगवान् शिवको प्राचीन मन्दिरको जीर्णोद्धार गरिएको छ भने जटायुको एउटा मूर्ति पनि स्थापना गरिएको छ ।
मन्दिरको जगलाई कृत्रिम रूप दिने गरी रोलर–कम्प्याक्ट कङ्क्रिकट (आरसिसी) को १४ मिटर बाक्लो तहले निर्माण गरिएको छ । मन्दिरमा कतै पनि फलामको प्रयोग गरिएको छैन । जमिनको चिसोबाट बचाउनका लागि ग्रेनाइटको प्रयोग गरेर २१ फिट अग्लो स्तम्भमुनि चौकी निर्माण गरिएको छ ।
मन्दिर परिसरमा एउटा ढल प्रशोधन संयन्त्र, पानी प्रशोधन संयन्त्र, अग्नि सुरक्षाका लागि पानीको आपूर्ति र एउटा स्वतन्त्र पावर स्टेसन राखिएको छ । मुलुकको परम्परागत र स्वदेशी प्रविधि प्रयोग गरी मन्दिर निर्माण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री