टेक्सासमा दोस्रो पारुहाङ साँझ

अर्भिङ, टेक्सास । किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) टेक्सास च्याप्टरले शनिवार पारुहाङ साँझ २ आयोजना गरेको छ ।
किराँत राई जातिको संस्कार र संस्कृति जगेर्ना तथा प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन् ।
पारुहाङ साँझ २ का प्रमुख अतिथि सिटी अफ अर्भिङका डेपुटी मेयर प्रो टेम डेनिस वेवले किरात राईहरू ‘ब्रेभ सोल्जर’ रहेको बताए । उनले किरात राईहरूको संस्कार र संस्कृतिका बारे चासो राख्दै साकेला सिली, सांस्कृतिक भेषभूषा र बाजागाजा अवलोकन गरेका थिए ।
‘उहाँले साकेला सिली भनेको के हो भन्ने जस्ता सांस्कृतिक विषयमा जिज्ञासा राख्नु भएको थियो,’ केआरएसए टेक्सास च्याप्टर अध्यक्ष तथा कार्यक्रमका सभापति दिलिप राईले भने, ‘हामीले त्यस विषयमा आवश्यक जानकारी दियौँ ।’
साथै, च्याप्टर अध्यक्ष राईले डेपुटी मेयर प्रो टेमले भविष्यमा किरात राई समुदायसँग सहकार्य गरेर अघि बढ्ने आश्वासन दिएको बताए । ‘भविष्यमा सँगसँगै काम गर्ने आश्वासन दिनुभयो,’ उनले भने, ‘सिटीसँग कुनै काम परे सीधै मोबाइल फोनमा सम्पर्क गर्न भन्नु भएको छ । हामीले नम्बर साटासाट गरेका छौँ।’
कार्यक्रमका विशिष्ट अतिथि केआरएसएका केन्द्रीय अध्यक्ष खगेन्द्र राई थिए । उनी कार्यक्रममा सहभागी हुन राईहरूको सानो समूहसहित न्यूयोर्कबाट टेक्सास पुगेका थिए । उनले किरात राई संस्कृति, अमेरिकामा केआरएसले राई जातिको संस्कार र संस्कृति सम्बद्धन र प्रवर्धनमा खेलेको भूमिका र केआरएसएको इतिहासका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा गायिका प्रविशा अधिकारी र सुम्निमा इङनामले सांगीतिक प्रस्तुति दिएका थिए । उनीहरुको चर्चित गीतमा पारुहाङ नाइटको फ्लोर विहान १ बजेसम्म तातेको थियो ।
कार्यक्रममा नेपाल सोसाइटी अफ टेक्सासको अध्यक्ष राजेन्द्र वाग्लेले किरात राईहरू नेपालमा मात्र नभएर अमेरिकामा समेत किरात राई भाषा, संस्कार र संकृति जगेर्ना गरिरहेको भन्दै खुसी व्यक्त गरेका थिए । उनले कार्यक्रम सफलताको शुभकामना दिनुका साथै भविष्यमा सँगै मिलेर अन्य कार्यक्रम गर्ने बताएका थिए ।


तामाङ सोसाइटी अफ टेक्सासका अध्यक्ष सूर्य मोक्तान, मधेसी समाज युएसएका अध्यक्षका रामबाबु गुप्ता, मगर सोसाइटी टेक्सासका अध्यक्ष भीम थापा, किरात याक्थुङ चुम्लुङ टेक्सासको अध्यक्ष भुपेन तोङ्सा योङ्या लगायतले शुभकामना मन्तव्य दिएका थिए।
कार्यक्रममा हाल अमेरिका भ्रमणमा रहेका कुङ फु खेलाडी सन्जितकुमार राईलाई सम्मान गरिएको थियो। उनलाई एउटा अन्तर्राष्ट्रिय, र दुई वटा राष्ट्रिय स्तरको स्वर्ण पदक जितेर नेपाल, नेपाली र किरात राई समुदायको नाम राखेको भन्दै कदर पत्र दिई सम्मान गरिएको थियो। कुङ फु खेलाडी राई कुङ फुसँग सम्बन्धित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था नेतृत्वदायी भूमिकामा छन् । नेपाली कुङ फुका मुख्य प्रशिक्षक तथा जज उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जजको भूमिका निर्वाह गरेका छन् ।
कार्यक्रमलाई सौजन्य गर्ने एभरेष्ट नेपाली रेस्टुरेन्टका सञ्चालक मनोज राई, कबाब एण्ड करी नेपाली रेस्टुरेन्टका सञ्चालक विश्व राई, नेप्लीज बुद्धिस्ट एशोसियसन टेक्सासका अध्यक्ष शैलेन्द्र मानन्धर र एफोर्डेबल हेल्थ इन्सुरेन्सका सिइओ रोमा पिथाडियालाई पनि सम्मान पत्र दिएको थियो। साथै, कार्यक्रममा सकिला राईलाई मास्टर अफ साइन्स एण्ड नर्स प्राक्टिसनरमा भर्खरै ग्रेजुयट भएकोमा सम्मान पत्र दिइएको । ‘नयाँ पुस्तामा केही गर्ने उत्साह जागोस् भन्ने उद्देश्यले आफ्नो क्षेत्रमा सफलता हात पारेका समुदायका मानिसहरूलाई सम्मान गर्ने गरेका छौँ,’ च्याप्टर अध्यक्ष राईले भने ।
टेक्सासको अर्भिङमा केआरएसए टेक्सास च्याप्टरले पारुहाङ साँझ आयोजना गरेको यो दोस्रो पटक हो । आयोजकले हरेक वर्ष पारुहाङ साँझ आयोजना गर्ने उद्देश्य राखेको छ। कार्यक्रममा करिब सहभागी २५० मानिस सहभागी थिए । कार्यक्रम अर्भिङ इन्टर कनेक्सन बैंकिट हलमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री