
ढाका । बङ्गलादेशका नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई सोमबार श्रम कानुनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै छ महिनाको जेल सजाय तोकिएको छ । उहाँका समर्थकले उक्त मुद्दालाई राजनीतिबाट प्रेरित रहेको दावी गर्दै आएका छन् ।
८३ वर्षीय युनुसलाई आफ्नो अग्रणी माइक्रोफाइनान्स बैंकमार्फत लाखौंलाई गरिबीबाट माथि उकास्ने श्रेय दिइन्छ तर लामो समयदेखि प्रधानमन्त्री रहेकी शेख हसिनासँग उहाँले दुश्मनी कमाउनु भएको छ ।
कुनै समय राजनीतिक प्रतिद्वन्द्वीको रूपमा हेरिएका र सन् २००६ को नोबेल शान्ति पुरस्कार विजेता युनिसविरुद्ध हसिनाले शृङ्खलाबद्ध रूपमा चर्को आलोचना गर्दै आउनुभएको छ ।
विपक्षीको बहिस्कारपछि हसिनाले अर्को साता हुने राष्ट्रिय निर्वाचनमा पाँचौं कार्यकालका लागि जित हासिल गर्ने निश्चितजस्तै भएको छ ।
अर्थशास्त्री युनुस र ग्रामीण टेलिकमका तीन सहकर्मीमाथि कम्पनीमा श्रमिक कल्याण कोष स्थापना गर्न असफल भएपछि श्रम कानुन उल्लङ्घन गरेको आरोप लगाइएको छ । चारै जनाले आरोप अस्वीकार गरेका छन् ।
राजधानी ढाकास्थित श्रम अदालतले सोमबार दिउँसो फैसला सुनाएको हो ।
“प्रोफेसर मोहम्मद युनुस र अन्यले श्रम कानुनको अनिवार्य आवश्यकता उल्लङ्घन गरेको पुष्टि भएको छ,” मुख्य अभियोजक खुर्सिद आलम खानले एएफपीसँग भन्नुभयो ।
युनुसमाथि श्रम कानुन उल्लङ्घन र भ्रष्टाचारको आरोपमा १०० भन्दा बढी अन्य अभियोग लगाइएको छ ।
युनुसले गत महिना भएको सुनुवाइपछि पत्रकारसँग कुरा गर्दै आफूले बङ्गलादेशमा स्थापना गरेका ५० भन्दा बढी सामाजिक व्यवसाय फर्ममध्ये कुनै पनि कम्पनीबाट कुनै लाभ नलिएको बताउनुभएको थियो ।
युनुसले भन्नुभयो, “ती मेरो व्यक्तिगत फाइदाका लागि थिएनन् ।”
उहाँका एक वकिल खाजा तनवीरले एएफपीसँग भन्नुभयो, “यो मुद्दा ’योग्यताहीन, झुटो र गलत मनसायबाट प्रेरित’थियो ।”
उहाँले भन्नुभयो, “यो मुद्दाको एक मात्र उद्देश्य उहाँलाई विश्वसामु उत्पीडन र अपमानित गर्नु हो ।”
गत अगस्टमा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा र संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव बान की मुनसहित विश्वका १६० हस्तीले संयुक्त पत्र लेख्दै युनुसमाथि भइरहेको ‘निरन्तरको न्यायिक उत्पीडन’को निन्दा गरेका थिए ।
नोबेल पुरस्कार विजेतामध्ये १०० भन्दा बढीले उहाँको सुरक्षा र स्वतन्त्रताका लागि आफूहरूलाई डर लागेको बताएका छन् ।
आलोचकहरूले बङ्गलादेशी अदालतमाथि हसिनाको सरकारले गरेका निर्णयलाई रबर स्ट्याम्पिङ गरेको आरोप लगाएका छन् ।
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा