एनआरएनएको आसन्न निर्वाचनमा भोट कसलाई हाल्ने ?

करिब बीस वर्ष अघि विदेशमा रहेका गैरआवासीय नेपालीहरूलाई एकतावद्ध गर्दै उनीहरूका हितमा काम गर्ने पवित्र उद्देश्यले स्थापना भएको गैरआवासीय नेपाली संघ हाल लर्खराउँदै अगाडि बढी रहेको छ। यति लामो अनुभव प्राप्त भई सक्दा सम्पूर्ण गैरआवासीय नेपालीहरूको मन मनमा बसी उनीहरुको आसा र भरोसाको केन्द्रको रुपमा स्थापित हुनुको सट्टा झन् झन् उनीहरूबाट तिरस्कृत हुँदै गइरहेको त छैन भन्ने कुरा ९८% भन्दा बढी गैरआवासीय नेपालीहरू यस अभियानबाट बाहिर रहनुले जटील प्रश्न खडा गरेको छ।

उपलब्धिहरु 

भौतिक भोगविलास र आर्थिक सम्पन्नताको लागी आफ्ना वंशजको आधारमा प्राप्त नेपाली नागरिकता त्यागी विदेशी नागरिकता लिने गैरआवासीय नेपालीहरूका कानूनी हक अधिकारका बारेमा उनीहरूका कुरा सुन्न समेत नेपाली सत्ता संचालकहरु मन पराउँदैनथे। यसको बाबजुद पनि नेपालको संविधान २०७२ को निर्माणको क्रममा धारा १४ मा गैरआवासीय नेपालीहरूका लागी सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गराउनु महत्वपूर्ण उपलब्धी हो। नागरिकता ऐनको संसोधनको ढिलाईले हालसम्म यो धारा कार्यान्वयन हुन नसकिरहेकोमा हालसालै नागरिकता ऐन संशोधन भई नियमावली समेत पास भइ सकेकोले गैरआवासीय नेपालीहरूले गैरआवासीय नेपाली नागरिकता पाउने बाटो खुलेको छ।

साथै मातृभूमि नेपाललाई प्राकृतिक आपदविपद पर्दा परोपकारी सहयोग गर्नुको साथै नेपालको राष्ट्रियताको सवालमा  कतैबाट धावा हुँदा विश्वभर विभिन्न सहरहरुमा विरोधका आवाजहरू घन्काउँदै आइरहेका छन्। यसको आलावा आर्थिक उन्नति हासिल गरेका केही गैरआवासीय नेपालीहरूको पचासौं अर्बभन्दा बढीको लगानीले नेपाली अर्थतन्त्रलाई सघाउ पुर्‍याएको छ।

आगामी संघको ११ औं अन्तराष्ट्रिय महाधिवेशनमा कसलाई जिताउने ?

क. संघको साख अभिवृद्धी गर्न सक्नेलाई

करीब बीस वर्ष अगाडी सुन्दर सपनाहरू बुन्दै  स्थापित यो संस्थाको नेतृत्व हत्याउन काठमाडौंको हायात होटलमा सम्पन्न नवौं महाधिवेशनमा देखिएको ताण्डव नृत्य संघको दसौं अन्तर्राष्ट्रिय महाधिवेशनको अन्त्यतिर आईपुग्दा संघको अस्तित्वलाई नै मृत्युशैंया तर्फ धकेलेको तीतो यथार्थ हामी सबैसामु छर्लङ्ग छँदैछ। संघको सङ्कटमोचनको हवाला दिंदै तीन अध्यक्षको नेतृत्वमा भीमकाय अन्तर्राष्ट्रिय परिषदको निर्माण गरिएता पनि हाल कार्यरत कार्यकारी अध्यक्ष डा. बद्री केसीको कार्यसमितिले केही सुधारका लक्षणहरु देखाउन  थालेकाले केही आसाका किरणहरु देखिन थालेका  छन्। अन्तर्राष्ट्रिय परिषदको उम्मेदवार बन्न तिर्नु पर्ने चर्को शुल्कलाई न्युन नगरे पनि केही कम गर्नु, पंजिकृत सदस्यताको सुद्धीकरणको लागी फेस भेरिफिकेसनको ब्यबस्था, अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचन अनलाईन गर्ने प्रबन्ध  गर्नु महत्वपूर्ण छन्। यी सुधारका क्रमलाई अझै तीब्रता दिई संघको साखलाई सम्पूर्ण गैरआवासीय नेपालीहरूका माझ अभिवृद्धि गर्दै सबै गैरआवासीय नेपालीहरू अटाउन सक्ने साझा फूलवारी बनाउने प्रतिबद्धता र योजना भएका उम्मेदवारहरूको समूहलाई जिताउनु सबै प्रतिनिधिहरूको प्रमुख जिम्मेवारी हो।

ख. संघको प्रमुख जग पंजिकृत सदस्यताको सुद्धीकरण गर्न सक्नेलाई 

पैसाका बिटाका भरमा पंजीकृत सदस्यता खरीद गरी पदीय आडम्बरीको प्यास मेट्न गैरआवासीय नेपाली संघका नेतृत्वमा पुग्न सपना देख्ने लठुवाहरुलाई निरूत्साहित गर्दे पंजिकृत सदस्यता विवरणलाई प्रभावकारी, स्वच्छ र सुद्धता कायम गर्न सक्ने योजना र कार्यक्रम भएका उम्मेदवारलाई। 

ग. संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचन सबै पंजिकृत सदस्यहरूको प्रत्यक्ष निर्वाचनबाट गर्न विधान संशोधन गर्नेलाई

हाल कायम रहेको संघको संसोधित विधान २०२२ को दफा १३(७) को वैधानिक ब्यवस्थाले नै संघको अस्तित्वलाई संकटमा पारेको हो। पैसाको भरमा पंजिकृत सदस्यता खरीद गरी अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचनमा मतदाता बन्ने प्रमाणपत्र हत्याउने निच हर्कतलाई उक्त दफाले मान्यता दिएको छ। तसर्थ उक्त विकृतिलाई हटाउन पंजीकृत सदस्यतालाई शुद्ध बनाई तिनै पंजिकृत सदस्यहरुबाट प्रत्यक्ष निर्वाचनमार्फत अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचन गर्ने प्रतिवद्धता ब्यक्त गर्नेलाई। 

घ. गैरआवासीय नेपाली संघको उम्मेदवार शुल्क न्यून गर्नेलाई

हालसम्म गैरआवासीय नेपाली संघका विभिन्न तहमा उम्मेदवार बन्न तिर्नु पर्ने चर्को शुल्ककै कारण ब्यबस्थापकीय क्षमताको आधारमा भन्दा पनि जसले उम्मेदवार शुल्कका साथै अन्य सहयोग तिर्न सक्छ उनीहरू मात्रै नेतृत्वमा पुगेका छन्। कुशलतापूर्वक संघको नेतृत्व गरी संघको रूपान्तरण गर्ने क्षमतावान ब्यक्ति नेतृत्वमा पुग्नु पर्दछ। तसर्थ यसको लागी उम्मेदवार शुल्क अत्यन्तै न्यून बनाउने उद्‍घोष गर्ने लाई। 

ङ. गैरआवासीय नेपालीहरूको विदेशमा छरिएर रहेको पुंजी नेपालको सम्बृद्धिको लागी लैजाने वातावरण बनाउनेलाई

हाल केही आर्थिक हैसियत बनाएका गैरआवासीय नेपालीहरुको नेपालमा भइरहेको लगानीलाई अन्य दसौं लाख गैरआवासीय नेपालीहरूलाई समेत सामेल गराई अरबौँ डलर नेपालको विकासमा भित्र्याउने योजना भएकालाई। 

च. गैरआवासीय नेपाली संघलाई एकता र अक्षुण्ण राख्नेलाई

गैरआवासीय नेपालीहरूको प्रवासमा तत्कालीन परिस्थितिलाई मध्यनजर राखी ५० जना पंजिकृत सदस्यता भएका २५ राष्ट्रिय समन्वय समितिहरू भएमा अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली संघ नेपालमा दर्ता गर्न सकिने वैधानिक ब्यबस्थाको संशोधन गरी हालको  प्रवासमा रहेका गैरआवासीय नेपालीहरूको संख्यालाई मध्यनजर राख्दै संघलाई एकल र अक्षुण्ण राख्ने योजना भएकालाई। 

छ. संघमा सबै गैरआवासीय नेपालीहरूलाई आवद्ध गर्न सक्नेलाई

सबै गैरआवासीय नेपालीहरूको चाहनाअनुसार काम गरी कसैको पदीय प्यास मेटाउनभन्दा पनि स्वत स्फूर्त संघको सदस्यता लिने वातावरण निर्माण गर्ने इच्छा शक्ति भएकालाई। साथै विदेशी मुलुकका नागरिकता वाहकहरूको हकमा गैरआवासीय नेपाली नागरिकता लिनको लागी अनिवार्य गैरआवासीय नेपाली संघको पंजिकृत सदस्यता लिनुपर्ने वैधानिक ब्यवस्था गर्नेलाई। 

ज. गैरआवासीय नेपालीहरूको नेपालमा संवैधानिक र कानुनी अधिकारको प्रत्याभूति गर्न सक्नेलाई

नेपालको संविधानको धारा १४ ले गैरआवासीय नेपालीहरूका लागी ब्यबस्था गरेको गैरआवासीय नेपाली नागरिकता वाहकहरुले उपभोग गर्न पाउने आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरुको कार्यान्वयनको लागी अझै गैरआवासीय नेपाली ऐन २०६६ लाई संशोधन गर्न बाँकी छ। यो ऐन संशोधन गर्न बनेको विधेयक नमूनाको रुपमा प्रकाशित भइसकेको छ । तर बिडम्बना आफैँले बनाएको संविधानको विपरीत आफ्नै नागरिकहरु बीच विभेद हुने गरी कानून निर्माण गर्ने तयारी भइरहेको छ। संविधानको धारा १४ अनुसार वंशजको नेपाली नागरिकता बाहकले उपभोग गर्ने आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार हुबहु गैरआवासीय नेपाली नागरिकता बाहकले पनि उपभोग गर्न पाउनु पर्नेछ। तसर्थ यस सम्बन्धमा नेपाल सरकारसंग संवाद गरी संविधानको मर्मअनुसार गैरआवासीय नेपाली ऐन संशोधन गर्न सक्नेलाई। 

तसर्थ, गैरआवासीय नेपाली संघको नेतृत्वमा पुग्न चाहने सबै उम्मेदवारहरूको प्रतिबद्धताहरु सुनी समीक्षा गरेर मात्रै आफ्नो अमूल्य मत उपयोग गर्नु सम्पूर्ण गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू महत्वपूर्ण जिम्मेवारी हो।

विदुर खत्री

अधिवक्ता खत्री एनआरएनका विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री