द गुरुङ (तमु) सोसाइटी युएसएको अध्यक्षमा ओमबहादुर गुरुङ

न्यूयोर्क । द गुरुङ (तमु) सोसाइटी इंक युएसएको अध्यक्षमा ओम बहादुर गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ ।

सोसाइटीको हिजो भएको साधारण सभा तथा १२ औं अधिवेसनले २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । यस्तै, महासचिवमा मच्छेदेवी गुरुङ, उपाध्यक्षमा अलिशा गुरुङ, कोषाध्यक्षमा अञ्जित गुरुङ, सहसचिवमा विजय गुरुङ, सहकोषाध्यक्षमा करुणा गुरुङ निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, बोर्ड सदस्यहरुमा भक्त गुरुङ, लिला गुरुङ, गोमा गुरुङ, अशोक गुरुङ, विन्दु गुरुङ, भीम गुरुङ, वुद्धि गुरुङ, सागर गुरुङ, अभिषेक गुरुङ, हिरालाल गुरुङ, अर्जुन गुरुङ, प्रयुद गुरुङ, प्रकाश गुरुङ, नविन गुरुङ, केभिन गुरुङ निर्विरोध चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष ओम गुरुङले एकता नै शक्ति भएकोले अमेरिकामा रहेका सबै गुरुङहरुलाई सहयोग गरी सोसाइटीको कार्यक्रमहरु सफल बनाउन अनुरोध गरे । भाषा, धर्म र भेषभूषालाई जगेर्ना गर्ने कामलाई निरन्तर दिई आउने दिनहरुमा सबै गुरुङहरुलाई समेटेर जानको लागि कार्यसमितिले गरेका सबै निर्णयहरुलाई हरेक सदस्यहरुलाई इमेल तथा भाइबरमार्फत जानकारी दिने बताए । संस्थाको आर्थिक अवस्थालाई सुदृढ गर्नको लागि पहल गर्ने नवनिर्वाचित अध्यक्ष गुरुङको भनाइ छ । साथै साँस्कृतिक, शैक्षिक, खेलकुद लगायत विभिन्न समितिहरु बनाएर युवाहरुको सहभागितालाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष गुरुङले ओपन फोरुमको शुरुवात गर्ने बताए । आफूलाई विश्वास गरेर नेतृत्व चयन गरेकोमा सम्पूर्ण सदस्यहरु, निवर्तमान कार्यसमिति सदस्यहरु, निर्वाचन समिति तथा गुरुङ आमा समूहलाई धन्यवाद व्यक्त गर्दै भोलिका दिनमा सबैलाई हातेमालो गरेर साथ दिनको लागि सबैलाई आग्रह गरे । युवाहरुलाई हरेक कार्यक्रममा सहभागी गराई युवाहरुलाई प्रोत्साहन गर्ने र गुरुङ आमा समूहसँग सहकार्य गरेर कसरी समाजलाई बलियो बनाउन सकिन्छ भन्ने बारेमा आमा समूहसँग सहकार्य गरी अघि बढ्ने उनको भनाइ छ ।

अध्यक्ष गुरुङ पेशाले इन्जिनियर हुन् ।

समाजले नयाँ नेतृत्व चयनका लागि गौतम गुरुङको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति बनाइ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिएको थियो । निर्वाचन समिति सदस्यहरुमा पूर्वअध्यक्ष मेख गुरुङ तथा पूर्व सल्लाहकार टेक गुरुङ संलग्न थिए ।

नवनिर्वाचित समितिका सदस्यहरुलाई निर्वाचन समिति संयोजक गौतम गुरुङले पद तथा गोपनियताको सपथ गराएका थिए । दुई सत्रमा सञ्चालित कार्यक्रममा पहिलो चरणमा समाजले गएको दुई वर्षमा गरेका कार्यक्रमको कार्यप्रगति विवरण तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । त्यस्तै साधारणसभाले विधान संसोधन गरी ट्रष्टी स्थापना गर्ने, कार्यसमितिको कार्यकाल ३ वर्षको रहने, नयाँ कार्यसमिति २१ सदस्य रहने, आजीवन सदस्यहरुका श्रीमान श्रीमती दुवै जनालाई भोट गर्ने अधिकार रहने व्यवस्था गरेको छ ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका न्यूजर्सी च्याप्टरका अध्यक्ष भक्त गुरुङलाई सम्मान गरिएको थियो । सम्मानित न्यूजर्सी च्याप्टरका अध्यक्ष भक्त गुरुङले आफू बाँचुन्जेलसम्म सोसाइटीको लागि निरन्तर सहयोग गर्ने बताउँदै सबै गुरुङहरुलाई एक भएर लाग्न अनुरोध गरे ।

त्यस्तै, नेपाल तथा युकेबाट आउनु भएका गुरुङ आमा बुबाहरुलाई स्वागत तथा खादा ओढाएर सम्मान गरिएको थियो । सोसाइटीका निवर्तमान अध्यक्ष तोरण गुरुङले आफ्नो कार्यकाल सफल बनाउनको लागि सहयोग गर्ने सम्पूर्ण बोर्ड सदस्यहरु, सल्लाहकारहरु, आमा समूह, युवा समूह लगायत सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्दै समाजबाट कोही पनि रिटायर्ड नहुने भएकोले आफू सधैँ समाजको साथमा रहने प्रतिवद्धता व्यक्त गरे । उनले गुरुङ सोसाइटी अन्य समुदायका लागि पनि उदाहरणीय बनाउनका लागि सबै गुरुङहरु एकजुट भएर लाग्न अनुरोध गरे ।

त्यस्तै संस्थाका संस्थापक अध्यक्ष तुलसी गुरुङले उपस्थित सबै गुरुङहरुलाई धन्यवाद दिंदै सबै जना एक भएर उभिन सकेमा समाजलाई अझ बलियो बनाउन सकिने बताए ।

कार्यक्रममा उपस्थित सबैलाई संस्थाकी उपाध्यक्ष शान्ति गुरुङले स्वागत गर्दै समाजमा पारिवारिक वातावरण सिर्जना गर्न सबै गुरुङहरुलाई अनुरोध गरिन् ।

द गुरुङ (तमु) सोसाइटी इंक, न्यूयोर्कको स्थापना सन् १९९९ सालमा भए पनि औपचारिक रुपमा जुन ३१, २००१ मा विधिवत रुपमा सञ्चालनमा छ ।

नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको रहने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री