साहित्य विकास परिषद् युकेका संस्थापक शाहलाई स्वर्ण पदक

लण्डन । बेलायतमा रहेका नेपालीहरूको जेठो साहित्यक संस्था नेपाली साहित्य विकास परिषद् यूकेले परिषद्का संस्थापक तथा वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहलाई स्वर्ण पदकद्वारा सम्मान  गर्ने भएको छ ।

परिषद्का वरिष्ठ सल्लाहकार डा राघवप्रसाद धिताल प्रमुख निर्णायक रहेको पुरस्कार सम्मान समितिको निर्णय अनुसार परिषद्का अध्यक्ष कोमल मल्लको अध्यक्षतामा बसेको परिषद्को बैठकले आगामी जुलाईमा हुने ११०औ भानु जयन्तीका अवसरमा शाहलाई उक्त पुरस्कार सम्मानद्वारा अभिनन्दन गर्ने निर्णय गरेको हो ।

जुलाईमा परिषद् स्थापना भएको २८ वर्ष पूरा हुँदैछ ।

परिषद्को स्थापनाकाल सन् १९९५ मा स्थापना गरिएको २४ क्यारेटको एक तोला सुन र पाँच तोला शुद्ध चाँदीमा बनेको यो स्वर्ण पदक पुरस्कार परिषदमा आवद्ध भएर साहित्यमा सिर्जना र सेवाले विशिष्ट योगदान पुर्याएका सर्जकहरूलाई दिने गरिएको छ । सोको सट्टामा नगद लिन चाहेमा जुनसुकैबेला एक लाख रूपियाँ पुरस्कृतले परिषदबाट लिन सक्ने प्रावधान पनि परिषदमा रहेको छ ।

यसअघि यो एनएलडिसी स्वर्ण पदक पुरस्कार सन् २००५ मा साढे दश वर्षको उमेरमा नै ‘गार्डेन अफ फ्लावर’ र ‘रोजेज् एण्ड पेटल्स्’ दुईवटा कवितासङ्ग्रह पुस्तक प्रकाशित गर्ने प्रतिभाशाली बाल कवियित्री प्रेणा थापालाई प्रदान गरिएको थियो । यसैगरी सन् २००९ मा वरिष्ठ कवि कोमल मल्ल र कवि तथा गीतकार घनबहादुर थापालाई, सन् २०१६ मा कवि तथा साहित्यसेवीद्वय  ध्रुव केसी र हरिविभोर कार्कीलाई र सन् २०१७ मा परिषद्को नेपाल च्यप्टरका प्रमुख सल्लाहकार वरिष्ठ कवि गोपाल पराजुलीलाई प्रदान गरिएको थियो ।

बेलायतमम तीन दशकभन्दा बढी समयदेखि नेपाली  साहित्य, पत्रकारिता र समाजसेवामा सक्रियरूपले लागिपर्दै आएका वरिष्ठ साहित्यकार तथा समाजसेवी सुरेशजङ्ग शाहका डेढ् दर्जन कथा, कविता, नाटक, उपन्यास, जीवनी र गीत एल्वम् आदि विधाका मौलिक कृतिहरू प्रकाशित छन् भने फुटकर लेख रचना र पुस्तक समालोचनाहरू पनि विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित हुँदैआएका छन् । शाहका रचनाका तीन दर्जन भन्दा बढी गीतहरू रेकर्ड भएर नेपाल तथा बेलायतमा रहेका विभिन्न गायकहरूले गाएका छन् ।

सन् १९९२ मा बेलायत आए लगत्तै शाहले सगरमाथा टाइम्स नेपाली खबर पत्रिका छापामा प्रकाशन सम्पादन  आरम्भ गरेर सन् १९९६ सम्म सम्पादक रहे । इन्टरनेट आइनसकेको यस अवधिमा नेपालका समाचारहरू बेलायतमा रहेका नेपाली जनसमाजको घरदैलोमा पुर्याउन यो पत्रिकाको महत्त्वपूर्ण योगदान रहेको थियो र तत्कालीन अवस्थामा चर्चित र लोकप्रिय रहेको थियो । शाहले सन् १९६० मा स्थापना भएको यती नेपाली एसोसिएसन युकेको संस्थागत पत्रिका ‘यती पत्र’को सन् १९९४ देखि सन् २००६ सम्म प्रधान सम्पादक भएर त्रैमासिकरूले नियमित प्रकाशन गरे । यसैगरी सन् १९८६ मा स्थापना भएको कोसेली नेपाली सांस्कृतिक परिवार युकेको संस्थागत पत्रिका ‘कोसेली’को सन् २००३ देखि सन् २००६ सम्म प्रधान सम्पादक भएर नियमित प्रकाशन गरे । सन् २००३ देखि सन् २००४ सम्म ‘लन्डन पोष्ट’ विचार विश्लेषण म्यागेजिन र यस अघि सन् १९९८ मा भीएनवाई ९८ पर्यटन म्यागेजीनको प्रधान सम्पादक भएर नियमित प्रकाशन गरे ।

यसैगरी शाहले सन् १९९५ मा नेपाली साहित्य विकास परिषद् युकेको स्थापना गरी विभिन्न साहित्यिक गतिविधिहरू सञ्चालन गर्नुका साथै ‘लाली गुराँस’ साहित्यक पत्रिका परिषद्को स्थापनाकाल सन् १९९५ बाटै संस्थागतरूपले प्रकाशन आरम्भ गरी हालसम्म प्रधान सम्पादक भएर नियमितरूपले प्रकाशन गर्दै आएका छन् । यी छापा पत्रिकाहरू बाहेक पनि शाह वरिष्ठ पत्रकार केशव श्रेष्ठ प्रधान सम्पादक तथा प्रकाशक रहेको ‘युके  चैतारी डट कम’ अनलाईन पत्रिका र डा. गोपाल पौडेल प्रधान सम्पाक तथा प्रकाशक रहेको ‘ग्लोबल नेपाली  न्युज डट कम’ अनलाईन पत्रिकाहरूमा समेत सम्पादक रहेका थिए ।

यसका साथै समाजसेवाको क्षेत्रमा पनि वरिष्ठ साहित्यकार शाहको सक्रियता प्रशंसनीय रहेको छ । सन् १९९४ मा तत्कालिन समयका जागरूक युवाहरू कोमल मल्ल, चिरञ्जीवी ढकाल, गोपाल पौडेल, राजु थापा, ग्याल्साङ्ग लामा, राजकुमार थापा, कुसल बस्नेत, रामहरि रायमाझी, विजय थापा, प्रकाश थापा, भरत थापा, राजेन्द्र भुजु लगायतका युवाहरूको सहभागितामा बेलायतमा पहिलो चोटी शाहको संयोजनमा बेलायतव्यापी युवा भेला रोयल तन्दुरी रेस्टुरेन्ट, बोस्टन म्यानर, वेस्ट लन्डनमा सम्पन्न गरेर समाजसेवामा युवा सहभागिता र अतिरिक्त विकासका लागि युवा एकता अभियान अगाडि सारिएको थियो । त्यसै वर्ष टेवल टेनिस, ब्याडमिन्टन, भलिबल,स्नुकर, बुद्धिचाल, बागचाल आदि १२ वटा खेलहरू बृहद युवा सहभागिताबीच सम्पन्न गरिएको थियो । यसै युवा अभियानको दवावमा सन् १९६० मा स्थापना भएको युरोपकै पहिलो सामाजिक संस्था यती नेपाली एसोसिएसन युकेको पहिलो पटक इङ्ग्ल्याण्ड, स्कटल्याण्ड, म्यानेचेस्टर, नटिङ्घम आदि सबै क्षेत्रबाट बृहद सहभागितामा ठूलो उत्साहका साथ बेलायतब्यापी प्रत्यक्ष आम निर्बाचन सम्पन्न भएको थियो र उक्त निर्वाचनमा शाह स्वयम्  महासचिवमा निर्वाचित भएका थिए । अध्यक्ष डा धितालको नेतृत्वमा निर्वाचित यती संस्थाको उक्त १७औँ कार्य समितिले सामाजसेवाका विविध क्षेत्रमा सेवा र सञ्चारका क्रियाकलापहरू ह्वात्तै अगाडि बढाएको थियो । यसैगरी वरिष्ठ कलाकार मदन थापा संस्थापक अध्यक्ष रहेको सन् १९८६ मा स्थापना भएको बेलायतको दोस्रो पुरानो सामाजिक सांस्कृक संस्था कोसेली नेपाली सांस्कृतिक परिवार युकेको सन् १९९८ मा सम्पन्न सम्मेलनबाट महासचिव भएर नेपाली लोक संस्कृति तर्फका गतिविधिहरू बढाउने तथा कलाकारहरूलाई पुरस्कार र सम्मानले प्रोत्साहन पुर्याउने कार्यमा शाहको गहन योगदान रहेको थियो  ।

यसप्रकार बेलायतमा नेपाली भाषा साहित्य, नेपाली कला, लोकसंस्कृति, नेपाली पत्रकारिता र समाजसेवाको क्षेत्रमा  सक्रिय योगदान पुर्याउनुका साथै साहित्यका सबै विधामा करिब डेढ दर्जन जति मौलिक कृतिहरू प्रकाशन गरेर सिर्जना र सेवाले नेपाली पहिचान फैलाउन अविच्छिन्न लागिपरेका वरिष्ठ साहित्यकार तथा पत्रकार, समाजसेवी नेपाली साहित्य विकास परिषद् युकेका संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजङ्ग शाहलाई उनको विशिष्ट योगदानको उच्चतम मूल्याङ्कन गरेर परिषद्ले आफ्नो स्थापनाको २८ वर्ष पार गरेको अवसरमा ‘एनएलडिसी स्वर्ण पदक पुरस्कार र ताम्रपत्र’द्वारा सम्मान अभिनन्दन गर्न लागेको कुरा परिषद्का अध्यक्ष कोमल मल्लद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उक्त पुरस्कार सम्मान आगामी जुलाई ९ तारिकका दिन परिषद्का संरक्षक महाहिम राजदूत ज्ञानचन्द्र आचार्यबाट हस्तान्तरण गरिने कार्यक्रम रहेको छ ।

परिषदले हरेक वर्ष घोषणा भएका पुरस्कार सम्मानहरू आफ्ना नियमित वार्षिक कार्यक्रमहरूमा क्रमश प्रदान गर्ने गरेको छ । यसैवर्ष गत अप्रिल महिनामा  नेपाली नयाँ वर्ष २०८० साल आगमन उत्सव कार्यक्रममा परिषद्का सल्लाहकार तथा यती संस्थाका पूर्व महासचिव वरिष्ठ समाजसेवी सञ्चारकर्मी पत्रकार विजय थापालाई नेपाली रेडियो, टिभी र समाजसेवाको क्षेत्रबाट नेपाली पहिचान फैलाउने कार्यमा विशिष्ट योगदान पुर्याएवापत परिषद्ले  ‘एनएलडिसी रजत महोत्सव विशिष्ट साहित्य सम्मान अभिनन्दन पुरस्कार पदक’ बाट सम्मानित गरेको थियो र साथै परिषद्का सदस्य तथा कोसेली नेपाली सास्कृतिक परिवार युकेका पूर्व सङ्गीत विभाग प्रमुख वरिष्ठ कलाकार डम्वर सुव्वालाई लामो समयदेखि बेलायतमा गीत सङ्गीत कलाको क्षेत्रबाट नेपाली पहिचान फैलाउन विशिष्ट योगदान पुर्यावापत ‘एनएलडिसी साहित्य कला सम्मान पुरस्कार पदक’बाट सम्मानित गरिएको थियो ।

नेपाली साहित्य विकास परिषदमा नगद लिन चाहेमा २० हजारदेखि एक लाखसम्मका विभिन्न १२ वटा पुरस्कार पदक तथा सम्मानहरू स्थापना गरिएका छन् ।

परिषद्ले नेपाली भाषा साहित्य कला संस्कृति आदि नेपाली पहिचान र परिचय फैलाउने कार्यमा सिर्जना वा सेवाले विशिष्ट योगदान पुर्याउने कवि, लेखक, साहित्यकार, कलाकार, पत्रकार र साहित्यसेवी/ समाजसेवीहरूलाई हरेक वर्ष यी पुरस्कारहरूले सम्मानित गर्दै आएको छ ।

हालसम्म करिब २०० जना नेपाल तथा बेलायतमा रहेका सर्जक, कलाकार , पत्रकार, साहित्यसेवी समाजसेवीहरू  यी पुरस्कारहरूबाट सम्मानित भइसकेका छन् ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री