बेलायतमा निधन भएकी विद्यार्थी सदीक्षा तामाङका लागि करिब १५ लाख सहयोग संकलन

लन्डन । बेलायतमा पढ्न आएको केही निधन भएकी २१ वर्षीया सदीक्षा तामाङको अन्त्येष्टी तथा परिवारका लागि बेलायतबासी नेपालीहरुले सहयोग संकलन गरेका छन् ।
सदीक्षाको परिवारबाट अन्त्येष्टीमा सघाउन अनुरोध भए लगत्तै एनआरएनए यूकेले सहयोगका लागि आव्हान गरेको थियो ।
एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले १० मेबाट सदीक्षाका लागि शुरु गरिएको सहयोग अभियानमा स्वतस्फूर्त रुपमा १७८ व्यक्ति र ७ संस्थाले कुल ९ हजार १४२ पाउण्ड ३६ पेन्स (करिब १५ लाख रुपैयां) प्रदान गरेको जानकारी दिए ।
तामाङ समाज यूकेले १ हजार ६०९ पाउन्ड, गोर्खा नेपलिज वेलफेयर सोसाइटी यूकेले १ हजार १६२ पाउन्ड, ब्रिटिश गोर्खा एन्ड नेपलिज क्याट्रिक कम्युनिटीबाट ७१८पाउण्ड ९९ पेन्स, गोर्खा अभियन्ता पिटर गुरिङले ३१९ पाउन्ड, सृजनशील नेपाली समाज युके २२० पाउन्ड, छेत्री समाज यूकेले १०१, किरात सुनुवार वेलफेयर सोसाइटी यूकेले १०० पाउन्ड प्रदान गरेका छन् ।
पार्वती गुरुङ (माइला), माया गुरुङ (कान्छा), अर्चना गुरुङ र अन्यले २१ मेको विशेष महाधिवेशनमा २६५ पाउन्ड दिएका थिए ।
संकलित रकम परिवारलाई बेलायतमै सहयोग हस्तान्तरण गरिने पनि गाहामगरले बताए । अध्यक्ष गाहामगरले सहयोगदाता सबैप्रति आभार समेत व्यक्त गरेका छन् ।
सदीक्षाको शव नेपाल लगेर धार्मिक परम्परा अनुसार अन्त्येष्टी गर्ने परिवारको चाहना थियो । तर उनमा भएको भाइरसका कारण अस्पतालले अन्तर्राष्ट्रिय उडानमा शव लैजान नमिल्ने बताएपछि अन्त्येष्टी बेलायतमै गर्न लागिएको छ । आउंदो ७ जुलाईमा अल्डरसट पार्क क्रिमेटोरिएममा फ्यूनरल सर्भिसको कार्यक्रम तय भएको हो ।
तामाङ सोसाइटी अफ यूकेका अध्यक्ष ज्ञान तामाङ र महासचिव मणि तामाङले अन्त्येष्टीमा संयोजन गरिरहेका छन् ।
निमोनिया भएपछि मिल्टन केन्स यूनिभर्सिटी हस्पिटलमा भर्ना भएको भोलिपल्ट नै सदीक्षाको गत १० मेमा निधन भएको थियो । सदिच्छा गत २६ डिसेम्बर २०२२ मा मात्र बेलायत आएकी थिइन् ।
ऋृण जोरजाम गरी खर्चेर पढ्न बेलायत आएकी सदीक्षाले अकालमै ज्यान गुमाउनु परेपछि न्यून आयस्तर भएको उनको परिवार थप प्रताडित छ ।
वि सं २०५८ साल चैत ३ मा दोलखामा जन्मिएकी सदीक्षाका बाबु कृष्णकुमार थोकर लामा गुरु र शैलुङ रिग्सुम गुम्बा सेवा समाजका महासचिव हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री