हेग । अन्तर्राष्ट्रिय फौजदारी अदालत(आइसिसी)ले युक्रेनमा युद्ध अपराध गरेको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
उनीमाथि १६ हजारभन्दा बढी युक्रेनी बालबालिकालाई गैरकानूनी रूपमा देश निकाला गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो ।
आइसिसीले बालबालिकाको अधिकारसम्बन्धी रुसी राष्ट्रपतिका आयुक्त मारिया लभोभा बेलोभाविरुद्ध पनि सोही आरोपमा पक्राउ पुर्जी जारी गरेको बताएको छ । तर आइसिसी सदस्य देशका सरकारको सहयोग बिना संदिग्धहरूलाई पक्राउ गर्ने अधिकार अदालतलाई नभएकाले पुटिन र मारिया पक्राउ पर्ने सम्भावना अति कम छ ।
मस्कोले आइसिसीका आदेशलाई अर्थहीन भन्दै खारेज गरेको छ । साथै मस्कोले आरोप अस्वीकार गर्दै पक्राउ पुर्जी जारी हुनुलाई अपमानजनक भनेर त्यसको निन्दा गरेको छ । रुसी नेता पुटिन आइसिसीले पक्राउ पुर्जी जारी गरेका तेस्रो बहालवाला राष्ट्रपति हुनुभएको छ ।
रुस आइसिसीको पक्ष राष्ट्र नभएकाले राष्ट्रपति पुटिन पक्राउ पर्ने सम्भावना भने छैन । उक्त अदालतको आदेश रसिमा कार्यान्वयन हुने कुनै आधार पनि छैन । यद्यपि यस वारेन्टले राष्ट्रपति पुटिनको अन्तर्राष्ट्रिय यात्रामा भने असर पर्नसक्छ ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्यता लिएका विश्वका १ सय २३ सदस्य राष्ट्रहमा पाइला राखेमा पुटिनलाई पक्राउ गर्न सकिनेछ । आइसिसीका अध्यक्ष पिओटर होफमान्स्कीले पक्राउ आदेश कार्यान्वयन अन्तर्राष्ट्रिय सहयोगमा निर्भर हुने बताउनुभएको छ ।
युद्धग्रस्त युक्रेनले राष्ट्रपति पुटिनविरुद्ध आइसिसीले पक्राउ पुर्जी जारी गरेकामा त्यसको स्वागत गरेको छ । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अदालतको कदमलाई ऐतिहासिक निर्णय भन्दै स्वागत गर्नुभएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको आगामी साता हुने मस्को भ्रमण तथा रुसलाई चीनले सैन्य सहायता गर्ने समाचार सार्वजनिक भइरहेका बेला जारी भएको आइसिसीको आदेशले अन्तर्राष्ट्रिय जगतमा भने तरङ्ग पैदा गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि आफ्ना रुसी समकक्षी पुटिनविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ पुर्जी जारी गरेकामा त्यसको स्वागत गर्नुभएको छ । राष्ट्रपति पुटिनले युक्रेनमा युद्ध अपराध गरेको ठहर गर्दै पक्राउ पुर्जी जारी गर्नुलाई अमेरिकी राष्ट्रपति ‘न्यायसङ्गत’ भन्नुभएको छ । अमेरिका पनि आइसिसीको पक्ष राष्ट्र होइन ।
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप