
लण्डन । तामाङ्ग सोसाईटी अफ युकेले मन्जुश्री सम्वत् २८५९ औं सोनाम ल्होसार मनाएको छ ।
शनिबार २१ जनवरीका दिन अल्डरसटस्थित एम्पायर हलमा विविध साँस्कृतिक एवं धार्मिक कार्यक्रमका साथ ह्युई ल्होसार मनाइएको हो ।
नेपालमा बसोबास गर्ने तामाङ्ग जातिले परापूर्व कालदेखि ल्होसारलाई विशेष महत्वका मनाउँदै आएको छ । सोही क्रममा बेलायतमा बसोबास गर्ने तामाङ्ग जातिहरुले विविध कार्यक्रमका साथ उक्त ल्होसार पर्व मनाएका हुन् ।
कार्यक्रममा बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेका धर्मगुरु टुल्कु जिग्मे सामतेन रिन्पोछेले धार्मिक पूजापाठका साथ शुरुवात गरेको उक्त ल्होसार पर्वमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले प्रमुख अतिथिको आशनबाट सोनाम ल्होसारको शुभकामना दिएका थिए ।
तामाङ्ग सोसाईटी अफ युकेका अध्यक्ष ज्ञान तामाङ्गले सोसाईटीको स्थापना, यसले गर्दै आएको विभिन्न सामाजिक, धार्मिक एवं परोपकारी कार्यबारे जानकारी गराउँदै प्रमुख अतिथि राजदूतलगायत अतिथिहरुलाई सहभागीताको लागि धन्यवादसहित स्वागत गरे ।
बेलायतका विभिन्न स्थानबाट तामाङ्ग पोशाकमा सजिएर आएका पाहुनाहरुको करीब ६०० जनाभन्दा बढीको उपस्थिति रहेको उक्त कार्यक्रममा धर्मगुरु टुल्कु जिग्मे रिन्पोछेले आयुको वाङ्ग प्रदान गरेका थिए । उक्त पूजा तथा वाङ्गको तामाङ्ग सोसाईटी अफ युकेका प्रमुख लामा प्रेम लामाले संयोजन गरेका थिए भने बीसीसी युकेका लामाहरु तीर्थ गुरुङ, सानो लामालगायतले उक्त पूजा तथा वाङ्गमा साथ दिएका थिए ।
विविध साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न उक्त कार्यक्रममा नेपालबाट आएका गायक आसमान लोप्चाङ्ग, सानु लामा वाईवा, सागर एस वाईवालगायत स्थानीय कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत् गरेका थिए । कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकार तथा स्थानीय कलाकारहरुलाई प्रसंशा पत्र प्रदान गरिएको थियो । त्यस्तै, तामाङ्ग धिंम अर्थात तामाङ्ग भवनमा आर्थिक सहयोग गर्ने दानवीरहरुलाई प्रसंशा पत्रसहित धन्यवाद ज्ञापन गरिएको थियो ।
उक्त कार्यक्रममा तामाङ्ग घेदुङ युकेका अध्यक्ष राजेन योन्जन, तमु प्ये ल्हु संघ युकेका अध्यक्ष रन गुरुङ, बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्ग, सुनुवार समाज युकेका अध्यक्ष यादव सुनुवार, पीपल मोर्गेजका निर्देशक सूर्य गुरुङ, तामाङ्ग समाज युकेका अध्यक्ष कुमार लामा, बिएफबिएस रेडियोका योगराज राई लगायत बेलायतमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो ।
तामाङ्ग सोसाईटी अफ युकेका अध्यक्ष ज्ञान तामाङ्गको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमलाई महासचिव मणि तामाङ्ग र नेपालबाट आएकी मिस तामाङ्ग नेपालकी विजेता–२०१८ सिम्रन स्याङ्बो तामाङ्गले संयुक्त रूपमा औपचारिक कार्यक्रमको संचालन गरेका थिए भने पंच तामाङ्गले साँस्कृतिक कार्यक्रमको संचालन गरेका थिए ।
त्यस्तै, सोही ल्होसारको अवसरमा तामाङ्ग सोसाईटी अफ युकेले गत आइतबार २२ जनवरीका दिन अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको गुम्बामा सम्पूर्ण प्राणीजगतको सुस्वास्थ्य, दीर्घायू र शान्तिका लागि घ्यासी पूजापाठ समेत गरिएको थियो । बीसीसी युकेका श्रद्धेय लामा गुरु टुल्कु जिग्मे रिन्पोछे र खेन्पो टासी छिरिङ्गले उक्त घ्यासी पूजाको संयोजन तामाङ्ग सोसाईटी अफ युकेका प्रमुख लामा प्रेम लामाले गरेका थिए ।
बेलायतका विभिन्न स्थानबाट भक्तजनहरुको विशेष सहभागिता रहेको कार्यक्रममा तामाङ्ग सोसाईटी अफ युकेको निमन्त्रणामा नेपालबाट बेलायत आएका आसमान लोप्चनलाई बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्ग, आमा प्रमुख उर्मिला गुरुङ, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, उपाध्यक्षद्धय हर्क गुरुङ, रोबिन गुरुङ, कोषाध्यक्ष मेजर हितमान गुरुङ, महासचिव क्याप्टेन देब घले, आमा सचिव शारदा गुरुङलगायतले खादा लगाई स्वागत गरेका थिए ।

गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम