
काठमाडौँ । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनापछि जहाजको प्राविधिक विषयमा सर्वत्र चासो देखिएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका आन्तरिक उडानमा प्रयोग भइरहेका सबै एटिआर जहाजको प्राविधिक परीक्षण गरेको छ ।
क्यानका प्रवक्ता जगन्नाथ निरौलाले आज साँझ विज्ञप्ति जारी गर्दै पोखरा विमानस्थल नजिक भएको यती एयरलाइन्सको विमान दुर्घटनापश्चात् क्यानका सुरक्षा निरीक्षकहरूबाट नेपालमा सञ्चालित सम्पूर्ण एटिआर–४२ तथा एटिआर–७२ वायुयानको थप विस्तृत प्राविधिक परीक्षण गर्ने कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो ।
परीक्षणका क्रममा उपरोक्त वायुयानहरूमा कुनै प्राविधिक त्रुटि फेला नपरेको पनि क्यानले उल्लेख गरेको छ ।
कुनै पनि वायुयानको नियमित उडान योग्यता (एयरवर्दिनेस) का लागि दैनिक गरिने ‘डेली इन्सपेक्सन’, उडानपूर्व गरिने ‘प्री फ्लाइट इन्सपेक्सन’ जस्ता मर्मतसम्भारका कार्यहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्ड तथा सिफारिस एवं वायुयान निर्माता कम्पनीका मापदण्डबमोजिम गर्ने गरिएको क्यानले विज्ञप्तिमा जनाएको छ ।
यही माघ १ गते आइतबार काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कलसाइन नाइन–एएनसी (एटिआर–७२–२१२) विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिकै सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो । दुघर्टनाग्रस्त विमानमा सवार चालकदलका सदस्यसहित ७२ सवार थिए । दुर्घटनास्थलबाट ६९ जनाको शव फेला परेको छ भने बाँकी तीन जनाको खोजी कार्य जारी रहेको छ । उक्त घटनाप्रति दुःख व्यक्त गर्दै क्यानले दुर्घटनामा ज्यान गुमाउने चालक दलका सदस्य तथा यात्रुहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा