लण्डन । सिजनल कामका लागि नेपालबाट कामदार बेलायत लैजाने क्रममा उनीहरुसित पैसा असुलेको अभियोगमा दुई नेपाली एजेन्टलाई बेलायती अदालतले प्रतिबन्ध लगाएको छ ।
बेलायतको ग्याङमास्टर एण्ड लेबर अब्युज अथोरिटीका अनुसार नेपाली कम्पनी एडेप्ट र अजाइलका अध्यक्ष रेशम गुरुङ र प्रविन रिमाललाई बेलायतको डनकास्टर म्याजिष्ट्रेट कोर्टले १८ महिना प्रतिबन्ध लगाएको हो ।
अथोरिटीले बेलायतमा कामदारहरुमाथिको दुर्ब्यवहारका बारेमा नियमन गर्ने गर्दछ ।
गुरुङ र रिमालका विरुद्धमा अथोरिटीले दासता तथा मानव ओसारपसार जोखिम आदेश जारी गर्ने निर्णय गरेकोमा त्यसलाई अदालतले अनुमति प्रदान गरेको छ । अथोरिटीले दुवै एजेन्सीको अनुमति पत्र पनि निलम्बन गरेको छ । यसको अर्थ हुन्छ उनीहरूले बेलायतमा कामदार पठाउन पाउने छैनन् । उनीहरुलाई आफ्नो परिवारका बच्चाबाहेक अरुसित यात्रा गर्न पनि निषेध गरिएको छ । अरूलाई काममा लैजान वा ल्याउन पनि उनीहरूले पाउने छैनन् । आफू बसेको वा आफ्नो घरमा उनीहरूले अरूलाई भाडामा लगाउन पनि पाउने छैनन् । उनीहरूले आफूहरूमाथि प्रतिबन्ध लगाइएको काम गर्न अरूलाई अह्राउन पनि पाउने छैनन् । उनीहरू बसेको वा उनीहरूको नियन्त्रणमा रहेको परिसरमा कानुन कार्यान्वयन गर्ने अधिकारीहरुलाई प्रवेश गरी अनुगमन गर्न दिनु पर्नेछ ।
६५ वर्षीय गुरुङ बेलायतमै बसोबास गर्छन् भने ५६ वर्षीय रिमाल नेपालमा बसोबास गर्ने बताइएको छ ।
उनीहरुले नेपालबाट सिजनल वर्करका रुपमा कामदार बेलायत पठाउँदा १३ हजार पाउण्डसम्म पैसा लिएको पाइएको अथोरिटीले बताएको छ । अथोरिटीले गत वर्ष दुईपटकको भ्रमणमा दक्षिणी योर्कसायरमा रहेको एक मासु कारखानामा काम गर्ने ८५ जना नेपाली कामदारहरुसित अन्तरवार्ता गरेको थियो । अन्तरवार्ताका क्रममा कामदारहरुले दुई एजेन्सीलाई बेलायत उड्नुअघि नै पैसा दिएको बताएका थिए । सो पैसा तिर्नका लागि ऋण लिनु परेको कामदारहरूको भनाइ थियो ।
बेलायतमा काम खोजिदिएवापत शुल्क लिन पाइँदैन ।
केही कामदारहरुलाई शुल्क तिरेको बारेमा कसैलाई नभन्न र भनेमा कामबाट हटाइने र नेपाल फिर्ता पठाइने एजेन्टहरूले डर देखाएको पाइएको पनि अथोरिटीले जनाएको छ ।
अथोरिटीका प्रमुख अधिकृत इलिसिया म्याकाफ्रीले अथोरिटीले कामदारको अधिकारको सधैँ सुरक्षा गर्ने बताउँदै काम खोजिदिएवापत बेलायत नआउँदै जोखिममा रहेका कामदारहरुसित हजारौँ पाउण्ड शुल्क लिने कार्यले अथोरिटीको चासो बढाएको बताए ।
अथोरिटीका अनुसन्धान अधिकृत डेल वाल्करले अन्तरिम प्रतिबन्ध आदेशले दुई एजेन्सीमाथि थप अनुसन्धान गर्न महत्वपूर्ण मौका दिएको बताए ।
सो आदेश उल्लंघन गरेमा पाँच वर्षसम्म कैदसमेत हुन सक्नेछ ।
बेलायतमा नेपालबाट कामदार पठाउने क्रममा पैसा असुल गरेको र बेलायतको कारखानाहरूमा पनि उनीहरूको श्रमिक अधिकार हनन् गरिएको बारे बेलायतका अखबारहरूले श्रृंखलावद्ध समाचार सम्प्रेषण गरे पनि बेलायतको सरकारी कार्यालयले सिजनल वर्करमाथिको ठगीका बारेमा निर्णय गरेको यो पहिलो अवसर हो ।
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन