द तमु सोसाइटीले न्यूयोर्कमा ल्होसार मनाउने

न्युयोर्क । द गुरुङ (तमु) सोसाइटी अमेरिकाले गुरुङ तमु जातिको महान् पर्व ल्होछार २०७९ विभिन्न सांस्कृतिक कार्यक्रमका साथ मनाउँदै छ । यो वर्ष तो ल्हो अर्थात बाघ वर्गको बिदाइ र हि ल्हो अर्थात बिरालो वर्गको स्वागत गर्दै यही डिसेम्बर २३ तारिखका दिन ल्होछार मनाउन लागेको द गुरुङ (तमु) सोसाइटीका अध्यक्ष तोरण गुरुङले जानकारी दिए । गुरुङहरुले हरेक वर्ष पुष १५ लाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । ल्होको अर्थ वर्ग (वर्ष) र छारको अर्थ नयाँ हुने भएकोले ल्होछारलाई गुरुङहरूले नयाँ वर्षको रूपमा मनाउने चलन छ । तमु जातिले वर्गको आधारमा उमेर गणना गर्छन् ।
गुरुङ जातिको भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, भेषभूषा, परम्पराको संरक्षण गर्न र पहिचान जोगाउनको लागि सोसाइटीले ल्होछार वार्षिक रुपमा मनाउँदै आएको बताउँदै अध्यक्ष गुरुङले गुरुङ समुदायका सम्पूर्ण बुबाआमा दाजुभाइ तथा दिदीबहिनीहरुलाई आफ्ना छोराछोरीसहित ल्होछारमा सहभागी हुन र कार्यकम सफल बनाउन अनुरोध गरे । अध्यक्ष गुरुङले भने, ‘यो विदेशी भूमीमा ल्होछार मनाउँदा, नयाँ पुस्तालाई हाम्रो संस्कार, संस्कृति, अस्तित्व र पहिचानका बारेमा जानकारी दिने महत्वपूर्ण पर्वसँगै सम्पूर्ण गुरुङ जातिलाई एकताको सुत्रमा बाँध्ने महत्वपूर्ण अवसर पनि हो ।’
आजका युवा भोलिका कर्णधार भन्ने मूल नाराका साथ युवाहरुको क्षमता अभिवृद्धि गराउने उद्देश्यले युवाहरुलाई ल्होछारमा स्वयंसेवकको रुपमा सहभागी गराउँदै आएको सोसाइटीले जनाएको छ ।
न्यूयोर्क र न्यूजर्सीमा बसोबास गर्ने गुरुङ जातिले हरेक वर्ष ल्होछार मनाउँदै आए पनि कोभिडका कारण २०२० मा भने भर्चुअल रुपमा ल्होछार आयोजना गरिएको थियो ।
गुरुङ जातिले विभिन्न १२ ओटा जीव जन्तुहरूको चक्रलाई आधार मानेर प्रत्येक वर्ष नयाँ वर्षको रूपमा ल्होछार मनाउँदै आएको छ ।
गुरुङ सोसाइटीले सम्पूर्ण गुरुङहरू एकजुट हौँ, संस्कार र संस्कृतिको जगेर्ना गरौँ भन्ने मूल नाराका साथ न्यूयोर्कमा ल्होछार पर्व मनाउँदै आएको छ । सोसाइटीले आफ्नो रीतिरिवाज, धर्म, संस्कारलाई जीवित राख्न र पुस्तान्तरणको लागि सन् २००१ मा न्युयोर्क सिटीमा विधिवत् रूपमा संस्था दर्ता गरी हरेक वर्ष पौष १५ मा ल्होछारलाई विशेष पर्वको रूपमा मनाउँदै आइरहेको छ । पुष १५ सबैभन्दा लामो रात र छोटो दिन हुने साथै हेमन्त ऋतु अन्त्य भई शिशिर ऋतु शुरु हुने भएकोले पनि यो दिनको विशेष महत्व रहेको छ ।
न्यूयोर्कमा ल्होछारको यो २३ औं संस्करण हो । ल्होछार पर्वले, गुरुङहरूको संस्कृतिलाई जगेर्ना गर्न, प्रवर्धन गर्न तथा गुरुङ संस्कृतिलाई अन्तराष्ट्र्रिय स्तरमा चिनाउन पनि बर्सेनी तमु ल्होछार मनाउँदै आएको सोसाइटीले जनाएको छ । कार्यक्रममा विभिन्न गुरुङ जातिको मौलिक संस्कृति झल्कने नृत्य सोरठी, कौडा, लगायत विभिन्न सांस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरिने आयोजकले जनाएको छ । विगतमा सामूहिक रुपमा भेला भएर स्यो कै वनभोज खाएर ल्होछार पर्व मनाउने गरिन्थ्यो । ल्होछार पर्वलाई राष्ट्रिय पर्वको रुपमा नेपाल सरकारले दिँदै आएको सार्वजनिक विदा कटौती गरेकोप्रति विश्वका सम्पूण गुरुङहरुले विरोध गर्दै सार्वजनिक विदा कायम गर्न माग गर्दै आएको छ । पुष १५ विश्वभरीका गुरुङहरुले विभिन्न कार्यक्रम गरी ल्होछार मनाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री