एमालेले तय गर्यो उम्मेदवार छनौटको मापदण्ड


काठमाडौँ । नेकपा (एमाले)ले यही भदौ २० गतेभित्रमा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको सिफारिस केन्द्रमा गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

भदौ १० गतेदेखि दुई दिनसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा भएको चौथो केन्द्रीय कमिटी बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भदौ २० भित्रमा उम्मेदवारको सिफारिस गर्नका लागि निर्देशन दिएको बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
पार्टीले समानुपातिकतर्फको बन्दसूचीका लागि उम्मेदवारको प्रस्ताव पठाउँदा सन्तुलन, समावेशी र अवसरको न्यायोचित वितरणलाई समेत ध्यान दिन जिल्ला कमिटीबाट सिफारिस गर्न निर्देशन दिएको छ । जिल्ला कमिटीले सिफारिस गरेको उम्मेदवारको प्रदेश कमिटीले आफ्नो राय भए सोसमेत उल्लेख गरेर केन्द्रमा पठाउने र केन्द्रले आवश्यक ठानेमा कुनै पनि तहको प्रत्यक्ष वा समानुपातिकतर्फको निर्णयलाई पुनःविचार गर्नसक्ने उहाँले बताउनुुभयो ।
जिल्लाको सम्बन्धित प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले प्रतिनिधिसभा सदस्यको उम्मेदवारको सिफारिस गर्नेछन् । यस्तै एउटा मात्र निर्वाचन क्षेत्र रहेका जिल्ला कमिटीको बैठकबाट उम्मेदवारको सिफारिस गर्ने र प्रदेशसभा सदस्यको उम्मेदवारको सिफारिस पनि निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले गर्नेछ ।
यसरी सिफारिस गर्दा जिल्ला कमिटी र प्रदेश कमिटीले आफ्नो रायसमेत उल्लेख गरी सिफारिस गर्नुपर्नेछ । उहाँका अनुसार मातहतका कमिटीले प्रत्येक निर्वाचन क्षेत्रबाट तोकिएको मापदण्ड पूरा गरेका कम्तीमा एक जना महिलासहित तीन जना उम्मेदवारको नाम सिफारिस गर्नुपर्नेछ ।
एमालेले निर्वाचनका लागि उम्मेदवारको छनोटका पाँच वटा मापदण्ड तय गरेको छ । प्रचार विभाग प्रमुख गुरुङका अनुसार पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, लोकप्रियता र विजयको सुनिश्चिता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशीता तथा निर्वाचन कानूनबमोजिमको योग्यता रहेका छन् ।
लोकप्रियलाई टिकट
यस्तै पार्टीले जित्ने सम्भावना र संसदीय भूमिका प्रभावकारी भएकालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै पार्टीले समानुपातिक उम्मेदवार नदोहोर्याउने निर्णय गरेको छ । उहाँले समानुपातिक वा कुनै पनि अप्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधित्व हुने स्थानमा एकचोटी अवसर प्राप्त गरेका पार्टीका नेता, कार्यकर्ता वा समर्थकलाई पुनःसोहीमा दोहोर्याउने र पालैपालो वितरण प्रणाली लागू गरिने जानकारी दिनुभयो ।
यस्तै पार्टीले स्थानीय तह वा कुनै पनि तहमा बहालवाला जनप्रतिनिधिलाई राजिनामा गराएर प्रतिनिधि वा प्रदेशसभामा उम्मेदवार सिफारिस नगर्नेसमेत निर्णय गरेको छ । पहिलो पटक भएको कुनै पनि तहको निर्वाचनमा पराजित उम्मेदवार कसैलाई पनि प्रदेशसभा वा प्रतिनिधिसभाको प्रत्यक्ष वा समानुपातिकतर्फको उम्मेदवार बनाउनेसमेत निर्णय गरेको छ ।
बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फ पार्टीले निर्धारण गरेको मापदण्ड पूरा भई योग्य उम्मेदवारको चयन गरी औपचारिक मनोनयन र बन्दसूचीको निर्णय गर्ने अधिकार भने केन्द्रीय कमिटीकोतर्फबाट केन्द्रीय सचिवालयलाई प्रदान गरेको छ ।
यसरी सचिवालय बैठकले गरेको उम्मेदवारलाई मनोनयन पत्र दिन र उम्मेदवारको बन्दसूची पेश गर्ने दलको केन्द्रीय कमिटीकोतर्फबाट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई अख्तियारी दिने निर्णयसमेत गरेको छ । बैठकले प्रत्येक मतदान केन्द्रमा निर्वाचन परिचालन बुथ कमिटी गठन निर्णय गरेको छ ।
स्थानीय निर्वाचनमा प्रत्येक कमिटीका सदस्यलाई घरधुरी ताकेर परिचालन गर्ने र पार्टीलाई आवश्यक पु¥याउन ६ प्रतिशत मत वृद्धिका लागि हरेक पार्टी सदस्यले नयाँ दुई भोट थप्ने पाँच भोट संरक्षण गर्ने नीति बैठकले लिएको उहाँले बताउनुभयो । बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि सुझावसहित पारित गरेको छ ।
सदस्यको समस्या समाधान
बैठकले दोहोरिएका सङ्गठित सदस्य नम्बरलाई व्यवस्थित गर्ने निर्णय गरेको छ । प्रचार विभाग प्रमुख गुरुङले दोहोरिएका सदस्यमध्ये सबैभन्दा पुरानो सदस्यको नम्बर कायम राखी बाँकी सदस्यलाई विशेष नम्बर दिने र त्यस्तो विशेष नम्बर १४ लाख ३१ हजारबाट १५ लाखसम्मको कल्स्टरमा व्यवस्थित गर्ने उल्लेख गरिएको बताउनुभयो ।
यसअघि पार्टीको सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो निर्णय केन्द्रीय कमिटी बैठकले निर्वाचन घोषणापत्र मस्यौदा कार्यदल, निर्वाचन परिचालन कमिटी, १२ विभागको सचिवको मनोनयन र तीन विभाग विस्तार, स्थानीय तह विकास विभागको निर्देशिका र नीति अनुसन्धान प्रतिष्ठानको कार्यविधि, पार्टीको वार्षिक बजेट र पार्टी प्रवेश गरेकाको व्यवस्थापनको कामसम्बन्धी प्रस्ताव, केन्द्रीय सल्लाहाकार परिषद्मा मनोनयन र केन्द्रीय कमिटीमा मनोनयन गरिएको प्रस्तावलाई अनुमोदन गरेको छ ।
बैठकले भारत प्रवासको कामलाई व्यवस्थित गर्न नियमावली निर्माण र प्रतिष्ठानको कामलाई व्यवस्थित गर्न नियमावली निर्माण गर्नका लागि खगराज अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरेको छ । पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजत्वमा स्थानीय तह निर्वाचनमा अन्तरघात भएको सम्बन्धमा छानबिन गर्न गठित कार्यदलले कामका प्रगतिबारे जानकारी गराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री