
महेन्द्रनगर । दोधारा चाँदनीका उपप्रमुख गङ्गादेवी जोशीको परिवार २०२७ सालमा जाजरकोटबाट बसाइँ सरी कञ्चनपुरको दोधारा–चाँदनी आयो । कञ्चनपुरको भौगोलिक रुपले विकट महाकाली नदी पारिको दोधारा चाँदनीमा जोशी परिवारले त्यो बेला अभावै अभाव झेल्नु पर्यो ।
“वन्यजन्तुको त्रासदेखि सदरमुकाम महेन्द्रनगर पुग्नको कठिनाइ विगतमा थिए”, उहाँले भन्नुभयो, “अहिलेको विकास हेर्दा सपना जस्तै लाग्छ ।” कञ्चनपुरको टापुका रुपमा चिनिएको दोधारा चाँदनीमा २०२२ सालको सेरोफेरोमा बसोबास थालिए पनि महाकाली नदीमा झोलुङ्गे पुल बनेपछि मात्रै सुखका दिन आएको जोशी बताउनुहुन्छ ।
“२०५८ सालमा तत्कालीन जनप्रतिनिधिको विशेष पहलमा दोधारा चादँनी जोड्ने झोलुङ्गे पुल बनेपछि हामी सदरमुकाम र मूलधारसित जोडिएका हौँ ।” उहाँले भन्नुभयो, “त्यसअघिका दोधारा चाँदनीवासीको पीडा अहिले शब्दले व्यक्त गर्न सकिँदैन ।”
झोलुङ्गे पुल बन्नुअघि हिउँदमा घण्टौँ बगरमा हिँडेर महेन्द्रनगर लगायतका ठाउँमा आवातजावत गर्नुपरेको थियो । “वर्सातमा स्याउले हुँदै भारतको वनबासाको पुल भएर नेपाल आउनुपर्ने बाध्यता थियो”, जोशीले भन्नुभयो, “वनबासा पुल पुग्नुअघि चोरी डकैतीका साथै जङ्गलमा जनावरको त्रास हुन्थ्यो ।”
महाकाली नदीमा झोलुङ्गे पुल बनेपछि डुङ्गा र भारतीय भूमिबाट ओहोरदोहोर गर्नुपर्ने बाध्यता हटेको छ । दोधारा चादँनीवासी अहिले ठूला सवारीसाधन लिएर निर्माणाधीन चार लेनको पक्की पुलबाट सहज रुपमा आवतजावत गरिरहेका छन् । “त्यो बेला यहाँ वन फाडेर खेतीपाती गर्नुपर्ने तर खाद्यान्न लिन भारतकै भर पर्नुपर्ने बाध्यता थियो ।” दोधारा चादँनी नगरपालिका–१ का राजेन्द्र चन्दले भन्नुभयो, “न यहाँ एम्बुलेन्स थिए, न त डाक्टर नै ।”
सडक, स्वास्थ्य र शिक्षाको पहुँचबाट टाढा रहेको यहाँ २०५० साल अघि स्थानीयले धेरै समस्यासित जुध्नु परेको थियो । “अहिले त स्याउलेदेखि कुतियाकवरसम्म पक्की सडकदेखि हरेक खोला नालामा पक्की पुल बनिसके ।” चन्दले भन्नुभयो, “सुक्खा बन्दरगाह र चार लेनको पक्की पुलले दोधारा चाँदनी आर्थिक समृद्धिको हब भइसक्यो ।”
झोलुङ्गे पुल बनेपछि दुःख, कष्ट नै हराएको चन्द बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चार लेनको पक्की पुल र सुक्खा बन्दगाहले सुदूरपश्चिमकै आर्थिक विकासमा टेवा पुग्ने छ ।” केही वर्षअघि भारतीय रुपैयाँको कारोबार हुने दोधारा चाँदनीमा अहिले त्यो विस्थापित भइसकेको छ ।
“यहाँ विकासका ठूला आयोजना आउँदा जग्गाको कारोबारसमेत ह्वात्तै बढेको छ ।” उहाँले भन्नुभयो, “अब दोधारा चाँदनी विकट होइन, जिल्लाकै आर्थिक गतिविधिको मुख्य स्थान बन्नेमा हामी आशावादी छौँ ।” २६ हजारभन्दा बढी मतदाता रहेको दोधारा चाँदनी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा पर्छ । दोधारा चादँनी नगरपालिका बन्नुअघि यहाँ दुईवटा गाविस थिए ।
सरकारले नै वन फँडानी गरेर बस्ती बसाउन थालेपछि २०२२ सालयता विभिन्न व्यवसाय तथा रोजगारीका लागि भारत जानेहरु त्यो बेला यहाँ बस्न थालेका हुन् । महाकाली नदीमा आउने बाढी नियन्त्रणका लागि वर्षौंअघि यहाँ नदी क्षेत्रको २२ किलोमिटर तटबन्ध निर्माण भएको थियो । पछिल्ला वर्षहरुमा बाढीले कटान गर्दै बस्ती बस्ने खतरा बढ्न थालेपछि यहाँ तटबन्ध निर्माणमा जोड दिइएको छ ।
बाजुराबाट २०३२ सालमा दोधारा चाँदनी सरेका दोधारा चाँदनी नगरपालिका–४ का ७३ वर्षीय भीमबहादुर सिंह आफू यहाँ आउँदा कुवा कोरेर पानी खाएको बताउनुहुन्छ । “पीठो पिस्न भारतीय बजार जानुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “महाकाली तरेर महेन्द्रनगर आउन जोखिम मोल्नु पथ्र्यो ।” उहाँ २० वर्ष आफैँ डुङ्गा चलाएर वारपार गरेको सुनाउनुहुन्छ । “डुङ्गाको सहयोगमा नदी तर्नेहरु प्रतिव्यक्ति रु पाँच तिर्ने गर्दथे, एक पटकमा ४० क्विन्टलसम्म ढुवानी गर्दथ्यौँ”, उहाँले भन्नुभयो । पुल बनेपछिमात्र डुङ्गा बन्द भएको हो ।
%5C202208%5C202208231431-5855fced-a758-4718-b6f8-21ca7e2aa785.jpg
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव