सिसेक्पा तङ्नाममा बेलायतमा हज्जारौँको सहभागिता

मेडस्टोन(केन्ट) । याक्थुङ लिम्बु समुदायको महान् पर्वमध्ये एक सिसेक्पा तङ्नाम(साउने संक्रान्ति)लाई बेलायतमा हजारौँको उपस्थितिमा मनाइएको छ ।
कोभिड महामारीपछि करिब तीन वर्षको अन्तरालमा भएको सिसेक्पा तङ्नाममा बेलायतका विभिन्न स्थानहरुबाट सहभागिता रहेको आयोजक किरात याक्थुङ चुम्लुङ यूकेले जनाएको छ ।
मेडस्टोनको याल्डिङमा रहेको चुम्लुङ देन(जग्गा)मा सम्पन्न सन् २०२२ को सिसेक्पा तङ्नाम कार्यक्रममा करिब ३ हजार ५०० बढीको सहभागिता रहेको कियाचु यूके अध्यक्ष नरवीर आङ्वोले बताए । कोभिड महामारीका कारण तीन वर्षपछि भएको तङ्नाममा यूकेभरबाट याक्थुङ लिम्बु र गैरलिम्बु समुदायको व्यापक सहभागिताले आफूहरू हौसिएको अध्यक्ष आङ्वोले प्रतिक्रिया दिए ।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यमा भएको तङ्नाममा यूकेको चारै राज्यबाट सहभागीहरू आएका थिए ।
चुम्लुङ यूकेमा आवद्ध १६ शाखा समितिका हज्जारौँ चुम्लुङकर्मीहरू बिहानैबाट २५.३३ एकड क्षेत्रफलमा फैलिएको चुम्लुङ देनमा केन्द्रित भएका थिए ।
राजदूत आचार्य, धर्मपत्नी सुनिता आचार्य, एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगर, नेपाल आदिवासी जनजाति महासंघ(नेफिन) यूके अध्यक्ष कर्मा पहाडी शेर्पा, लन्डन होन्स्लोका पूर्र्व मेयर एवम् काउन्सिलर विष्णु गुरुङ, विभिन्न जातीय संगठनका प्रमुख एवम् प्रतिनिधिहरू, चुम्लुङ पूर्व अध्यक्षहरु, पूर्व पदाधिकारी एवम् सल्लाहकारहरु लगायतलाई केलाङ समूहले स्वागत गरेका थिए ।
तङ्नामलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजदूत आचार्यले नेपालको साँस्कृतिक विविधतालाई झल्काउन बेलायतका जातीय सामाजिक संस्थाहरूले महत्वपूर्ण योगदान दिएको धारणा राखे । उनले प्रवासमा रहेका नेपालीहरूको भाषा, संस्कृतिका क्षेत्रमा केही काम गर्न दूतावासको इच्छा रहेको बताए ।
उद्घाटनलाई एनआरएनए यूके अध्यक्ष मगर, नेफिन यूके अध्यक्ष शेर्पा लगायतले सम्बोधन गरेका थिए ।
सम्मान र पुरस्कार
सिसेक्पा तङ्नामकै अवसर पारेर कियाचुले बेलायतका विभिन्न विश्वविद्यालयबाट उच्च तहको अध्ययन पूरा गरेका याक्थुङ लिम्बु समुदायका युवा विद्यार्थीहरूलाई प्रशंसा पत्र प्रदान गरिएको उपाध्यक्ष अमृता पालुङ्वाले बताइन् । सोही अवसरमा बेलायतको साङ्गीतिक भ्रमणमा रहेका भ्वाइस अफ नेपाल सिजन दुईका विजेता राम फागो वनेम लिम्बुलाई समेत सम्मान पत्र प्रदान गरिएको थियो ।
त्यसैगरी, गत वर्षको सेप्टेम्बरमा भएको दसौँ महाधिवेशनबाट पदीय जिम्मेवारीबाट बिदा लिएका निवर्तमान पदाधिकारी सदस्यहरूलाई धन्यवाद पत्र दिइएको महासचिव जुरेन्द्र खजुमले बताए । त्यसैगरी, कियाचु यूकेले वार्षिक रूपमा प्रदान गर्ने अवार्डहरू पनि वितरण गरिएको थियो । सबैभन्दा सक्रिय चुम्लुङकर्मीलाई प्रदान गरिने अवार्ड चुम्लुङ अवार्ड वेस्ट केन्ट शाखाका निवर्तमान सचिव इन्द्र थक्लुङले हात पारे । त्यस्तै, चुम्लुङले सञ्चालन गर्ने विभिन्न खेलकुद गतिविधिहरूमा उल्लेख्य योगदान दिनेमध्ये यस वर्ष भगीरथ जवेगूलाई यलम्बरहाङ अवार्ड दिइयो । याक्थुङ संगीत, कला, सँस्कृतिमा सक्रिय भूमिका खेलेकी रीता फोम्वो ‘ठूली’ले आर्टिस्ट अफ दी यर अवार्ड थापिन् ।
आसफोर्डलाई केलाङ र ग्रेटर लन्डनलाई यालाङ
सिसेक्पा तङ्नामको मुख्य आकर्षणका रुपमा रहेको यूकेव्यापी अन्तरशाखा केलाङ(च्याब्रुङ नाच) प्रतियोगिताको उपाधि कियाचु यूके आसफोर्डसम्बद्ध केलाङ समूहले हात पारेको छ । उसले पछिल्लो पटक सन् २०१९ मा भएको प्रतिस्पर्धामा समेत ट्रफी उठाएको थियो । यससँगै आसफोर्ड केलाङ समूहले तीन पटक उपाधिमाथि कब्जा जमाएको छ । उसले रनिङ शिल्डसहित नगद, प्रमाणपत्र समेत हात पारेको छ । प्रतिस्पर्धामा छ टिम सहभागी भएका थिए । यसैगरी, या?लाङ(धान नाच) प्रतियोगितामा ग्रेटर लन्डन शाखाले उपाधि हात पारेको छ । समूहले प्रस्तुत गरेको पाःलाम(धान नाच्दा गाइने लोकगीत) उत्कृष्ट सावित भएको थियो ।
तङ्नाममा सहभागी भएका नयाँ पुस्ताहरूले भरपूर मनोरञ्जन लिएको कार्यक्रम संयोजक एवम् उपाध्यक्ष गणेश इजमले बताए । ‘युवा पुस्ता एवम् बालबालिकाहरूले खुलेर मनोरञ्जन लिए । बालबालिकाहरूका लागि यसपटक रोटेपिङ र बन्जी ट्रेम्पोलिनको व्यवस्था पनि गरेका थियौँ,’ उनले भने, ‘तन्नेरी पुस्ताहरूले समेत सिरिजङ्गा लिपि र याक्थुङ प्रतीक राखेर तयार पारिएका पहिरन र सामग्री खरिद गरेर आफ्नो आकर्षण देखाए । अन्तिमतिर भएको ककटेल केलाङमा उनीहरू खुलेर नाचे ।’
सो अवरसमा भ्वाइस अफ नेपालका विजेता राम लिम्बुले गीत प्रस्तुत गरेका थिए । त्यस्तै, लिम्बुवान आइडलका रनर अप एलवी साँवा, डम्बार इवाहाङले समेत आफ्ना गीत प्रस्तुत गरेका थिए । त्यसैगरी, सुब्रिना लिम्बु, दिवाना पालुङ्वाले नृत्य प्रस्तुत गरेकी थिइन् ।
तङ्नाममा थामेन्दिङ्मा महिला समिति, याक्थुङ कुस्सा चुम्लुङ, खाद्य व्यवसायी, रेष्टुरेन्ट, व्यावसायिक प्रतिष्ठानका करिबा साढे दुई दर्जन बढी स्टलहरु राखिएका थिए । परम्परागत गरगहना र मौलिक परिहनमा सजिएर उपस्थित भएका सहभागीहरूले ती स्टलबाट सुपथ मूल्यमा सामग्री खरिद गरेका थिए । तङ्नाममा ज्येष्ठ नागरिक र दीर्घ रोगीहरूलाई मध्यनजर गरेर स्वास्थ्य शिविर समेत राखिएको संयोजक इजमले जानकारी दिए । तङ्नाममा सहभागी भएर याक्थुङ लिम्बु समुदायको एकता र साँस्कृतिक सम्पदा देखेर आफू ज्यादै प्रभावित भएको मगर सङ्घ यूकेका उपाध्यक्ष रुद्र थापा मगरले प्रतिक्रिया दिए । त्यस्तै, किरात राई यायोक्खा बेलायतका महासचिव देवेन्द्र खेरेसले समेत साँस्कृतिक मेलामा सहभागी हुन पाउँदा गाउँघरमा पुगेको भान भएको बताए । तङ्नाममा मौलिक पेय पदाथै तङ्वा, सेजङ्वा(रक्सी), साग्र्याङ्मा, याङ्वेन, पेना माङ्दक, सि खरेङ लगायत जातीय खाद्य एवम् पेय पदार्थहरू पनि उपलब्ध थिए ।
सन् २००३ मा स्थापना भएको कियाचु यूकेले सन् २००६ बाट सिसेक्पा तङ्नाम मनाउन थालेको हो । बेलायतमा याक्थुुङ लिम्बूको करिब २५ हजारभन्दा बढी जनसंख्या रहेको कियाचु यूकेले दाबी गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री