
काठमाडौँ । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवाजति खाडीमा । तिनै युवाले पठाएको विप्रेषणको पैसा खर्च गरेर विदेशबाट खाद्यान्नको आयात गर्नु परिरहेको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ ।
भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आवका ११ महिनामा रु १६ अर्ब बढीको कृषि तथा फलफूल आयात भएको पाइएको छ ।
विभागका अनुसार चालू आवको जेठ मसान्तसम्म रु छ अर्ब ६५ करोड ११ लाख ९९ हजार मूल्य बराबरको आठ करोड १५ लाख ३८ हजार ४२६ किलो स्याउ आयात भएको छ । त्यसबाट सरकारले रु ६३ करोड ५८ लाख ७८ हजार बराबरको राजस्वसमेत सङ्कलन गरेको छ ।
स्याउ चीनबाट सबैभन्दा धेरै भित्रिएको तथ्याङ्कमा उल्लेख छ । चीनबाट मात्र रु पाँच अर्ब ४८ करोड ८० लाख १७ हजार बराबरको स्याउ आयात भएको छ । त्यस्तै भारतबाट रु एक अर्ब १५ करोड ५९ लाख ८३ हजार, अमेरिकाबाट रु ४४ लाख १३ हजार, टर्कीबाट रु २६ लाख २५ हजार र गिनी बिसाउबाट रु एक लाख ६१ हजार बराबरको स्याउ आयात भएको विवरणमा उल्लेख छ ।
यस्तै, रु दुई अर्ब १९ करोड ५३ लाख ३५ हजारको तीन करोड २१ लाख ३१ हजार ७९२ किलो अङ्गुर आयात भएको देखिन्छ । त्यसबाट सरकारले रु ११ करोड ११ लाख ७४ हजार राजस्व सङ्कलन गरेको जनाइएको छ ।
यही अवधिमा रु एक अर्ब ५७ करोड ४७ लाख ५३ हजार बराबरको केरा आयात गरेको छ । चालु आवको जेठ मसान्तसम्म कूल छ करोड २१ लाख ६३ हजार ९८८ किलो केरा आयात भएको छ । त्यसबाट सरकारले रु १९ करोड १२ लाख तीन हजार राजस्व सङ्कलन गरेको छ ।
विभागको विवरणानुसार सुन्तलाको आयात पनि उस्तै छ । एघार महिनाको अवधिमा मात्रै रु एक अर्ब २४ करोड ८६ लाख २१ हजार बराबरको दुई करोड २८ लाख चार हजार १७३ किलो सुन्तला आयात भएको छ ।
त्यस्तै एक करोड चार लाख ८४ हजार १०१ किलो अनार आयात भएको छ । त्यसका लागि रु एक अर्ब नौ करोड तीन लाख ९८ हजार रकम बाहिरिएको छ भने यस्तै खरबुजा एक करोड ९७ लाख ३९ हजार २७७ किलो आयात भएको छ । खरबुजाको आयात मूल्य रु ५१ करोड ३१ लाख ९१ हजार बराबर छ ।
नेपालको हावापानी सुहाउँदो फल मेवाको आयातसमेत उच्च देखिन्छ । विभागका अनुसार चालु आवको ११ महिनामा ६६ लाख ४४ हजार १६१ किलो मेवा आयात भएको देखिन्छ । मेवाको आयात मूल्य रु २३ करोड ४० लाख दुई हजार बराबर छ ।
यस अवधिमा २१ लाख ९४ हजार १९९ किलो नास्पाती रु १५ करोड आठ लाख ३९ हजार बराबरको आयात भएको छ भने २६ लाख ८५ हजार ६९१ किलो भुँइकटहर (ताजा र सुकेका) रु १२ करोड चार लाख ६२ हजारको आयात भएको छ । अम्बा र आँप रु ७१ करोड ७५ लाख ९४ हजार बराबरको आयात भएको देखिन्छ ।
दुई लाख ४५ हजार ८६९ किलो एभोकाडो रु छ करोड ९१ लाख बराबरको आयात भएको छ भने व्यावसायिकरुपमा मुलुकमै खेती गरिने किबी रु छ करोड २२ लाख ६९ हजार बराबर मूल्यमा तीन लाख ३५ हजार ५४७ किलो आयात भएको छ । लिची नौ लाख ९१ हजार २२८ किलो आयात हुँदा तीन करोड ८७ लाख ६६ हजार मूल्य बाहिरिएको छ ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव