अक्सफोर्डमा नेपालबारे दुई दिन विमर्श

लण्डन । विश्वकै शैक्षिक शहरका रुपमा चिनिएको बेलायतको अक्सफोर्डस्थित अक्सफोर्ड विश्वविद्यालयमा नेपालका विभिन्न विषयमा अनुसन्धान गरिरहेका प्राज्ञहरुको सम्मेलन भएको छ ।
बेलायत नेपाल प्रज्ञा परिषद र युनिभर्सिटी अफ अक्सफोर्ड, इन्स्टिच्युट अफ सोसियल एण्ड कल्चरल एन्थ्रोपोलोजीको आयोजनामा भएको यस वर्षको १९ औँ नेपाल अध्ययन दिवस बुधबार र बिहीबार सम्पन्न भएको छ ।
कार्यक्रमको शुरुवातमा परिषदका अध्यक्ष डा कृष्ण अधिकारीले सहभागीलाई स्वागत गरेका थिए ।
दुई वटा समानान्तर सत्रमा प्रत्यक्ष उपस्थिति र अनलाइन उपस्थितिबाट चलेको सो सम्मेलनमा नेपालको इतिहास र साँस्कृतिक उत्पादन, स्वास्थ्य, राजनीति र संघीयता, युवा र सोसल मिडिया, दलित, आप्रवासन, शिक्षा, लिंग र विकास, उर्जा पर्यावरण र भूकम्प, पेशा, व्यवसाय र विविधताका बारेमा ४० वटा प्रस्तुति दिइएको थियो ।
यस्तै, नेपाल कन्भर्सेसनः ज्ञान उत्पादन र साटासाटमा पुनर्विचार, डा जीवनराज शर्माको पुस्तक ‘पोलिटिकल इकोनोमी अफ सोसल चेन्ज एण्ड डेभलपमेण्ट इन नेपाल’ पुस्तकमाथि गोलमेच विमर्श गरिएको थियो ।
सम्मेलनमा नेपाल, भारत, बेलायत, अष्ट्रेलिया, नर्वे, जापान, जर्मनी, फ्रान्स, पोल्याण्ड, सिंगापुरबाट भाग लिएका थिए ।
सम्मेलनमा यस वर्षको बीएनएसी पीएचडी शोधवृत्ति पुरस्कार हेमा किरुप्पालिनी र मिकेल भिण्डेगलाई संयुक्त रुपमा प्रदान गरियो । पुरस्कारको राशी जनही २५० पाउण्ड रहेको छ । किरुप्पालिनीको गोरखा सैनिकका श्रीमतीहरुको सामाजिक योगदान र भिण्डेगको नेपालको उर्जा क्षेत्रः सामाजिक पुनरुत्पादनको सिद्धान्तलाई सो पुरस्कार दिइएको थियो । यस्तै अमृता लिम्बुको अष्ट्रेलियाका आप्रवासी नेपालीहरुको संवेगबारेको शोध उपविजेता भएको थियो ।
सम्मेलनले परिषदको नेतृत्व पनि परिवर्तन गरेको छ । वर्तमान अध्यक्ष अधिकारीले आफ्नो कार्यभार नयाँ अध्यक्षमा सारा पार्करलाई हस्तान्तरण गरेका छन् । त्यस्तै नयाँ महासचिवमा जीवनराज शर्मा र कोषाध्यक्षमा फ्रेजर सुग्डेन निर्वाचित भएका छन् ।
सम्मेलनले अर्को वर्षको नेपाल अध्ययन दिवस बर्मिङघम विश्वविद्यालयमा गर्ने तय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री