किन रोजे गेसो सभापति कृष्णकुमार राईले माओवादी केन्द्र ?

लण्डन । लामो समयदेखि नेकपा एमालेमा आवद्ध रहँदै आएका गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राई आज केन्द्रीय समिति, क्षेत्रीय समिति र जिल्ला समितिका दर्जनौँ नेतृत्वसहित नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् ।
२६ वर्षदेखि एमालेको पार्टी सदस्य रहेका राईले विगतमा एमालेको फ्रयाक्सन कमिटी सचिव र प्रवास समितिको सल्लाहकारसमेतको भूमिका निर्वाह गरेका थिए । राईसहितको गेसो टोलीलाई आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराए ।
कृष्णकुमारसहित गेसोका उपसभापतिहरु जितबहादुर राई र मणिकिरात बान्तवा राई, सचिव बुद्धिराज राई, सहकोषाध्यक्ष शहरमान तामाङ, केन्द्रीय सदस्यहरु खड्कचन्द्र राई र केशबहादुर पुन, क्षेत्रीय सभापति वीरध्वज राई, क्षेत्रीय उपसभापति तीर्थराज गुरुङ, ललितपुर जिल्ला महिला समितिका सभापति इन्द्रकुमारी राई, केन्द्रीय सल्लाहकारहरु पुरन्जन राई र अमरसिंह आले लगायत ८२ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
सभापति राईलाई वीनेपालीले एमाले छोडेर माओवादी केन्द्रमा प्रवेश गर्नुपर्ने कारण के पर्यो भनेर सोधेको थियो ।
प्रत्यूत्तरमा राईले व्याख्यासहित लामो जवाफ फर्काए । गेसो र माओवादीलाई तुलना पनि गरे ।
उनले भने, “जसरी माओवादीले नेपालमा उत्पीडित जाति, वर्ग, भाषा, क्षेत्र, लिङ्गका लागि आन्दोलन अगाडी बढायो । गणतन्त्र, समावेशीकरण लगायतको मुद्दा स्थापित गरायो । अहिले ती मुद्दाहरु मूलधारमा स्थापित भए तर माओवादीलाई राजनीतिको नेतृत्वबाट पाखा लगाउन खोजिँदैछ । त्यसैगरी गोरखा भूतपूर्व सैनिकहरुमाथि सदियौँदेखि भइरहेका दमन, उत्पीडन, भेदभावलाई गेसोले शून्यदेखि शुरु गरेर अन्तर्राष्ट्रियकरण गर्यो । गोरखाहरुलाई धेरै उपलब्धिहरु पनि दिलायो तर अहिले गेसोलाई सिण्डिकेट खडा गरेर पाखा लगाउन खोजिँदैछ ।”
“माओवादी पनि उत्पीडित मानिसहरुको आवाज उठाउने, गेसो पनि गोरखा भूतपूर्व सैनिकहरुमाथिको भेदभावको विरुद्ध आवाज उठाउने । यसरी दुवैको कार्यक्रम मिलेकोले पनि पार्टी प्रवेश गरिएको हो”, उनले भने ।
आफू आवद्ध पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीसित अहिले गेसोलाई सबैले कर्नरमा पार्न खोजेको र गोरखा आन्दोलन अहिले अन्तिम लडाइँ लडिरहेको बारेमा जानकारी गराउँदा पनि केही सहयोग, आश्वासन, भरोसा नदिएकोले पनि माओवादी केन्द्र प्रवेश गर्नु परेको उनले प्रष्ट पारे । “धेरै पटक बालकोट धाएँ तर गेसो र गोरखाहरुलाई सहयोग गर्ने आश्वासन पाइनँ,” उनले भने ।
केही साताअघि बेलायतबाट नेपाल फर्केपछि उनी माओवादी अध्यक्ष प्रचण्डसित धेरैपटक वार्तामा बसेका थिए । वार्तामा उनले बेलायत सरकारसित गोरखाहरुको समस्याका बारेमा हुन गइरहेको वार्तामा गेसोको प्रतिनिधि नराख्न अनेक प्रप्रच गरिएको पनि जानकारी गराएका थिए । जवाफमा प्रचण्डले गोरखा आन्दोलनलाई शुरु गरेर अहिलेसम्म नेतृत्व गरिरहेको गेसोको प्रतिनिधि नरहेको वार्ता हुनै नसक्ने जवाफ दिएपछि राईलाई बालकोटबाट पाएको वेवास्ताको शोधभर्ना भएको थियो । प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत यसबारेमा बताइसकेको आज आयोजित कार्यक्रममा सार्वजनिक रुपमै जानकारी दिए । प्रचण्डले गोरखाहरुको समस्या अब आफ्नो प्रतिष्ठाको विषय भएको पनि बताए ।
गेसोको केन्द्रीय समिति, क्षेत्रीय र जिल्ला समितिहरुमा पनि माओवादी केन्द्रमा प्रवेश गर्ने बारेमा प्रशस्त बैठक भएको राईले बताए । भर्चुअलरुपमा भएका बैठकमा गेसोका प्रवासस्थित समितिका प्रतिनिधिहरुले समेत भाग लिएका थिए । गेसोलाई संस्थागत रुपमा बचाउन र गोरखा आन्दोलनलाई संरक्षण गर्न पनि माओवादी केन्द्रमा प्रवेश गर्ने आफनो निर्णयको गेसो नेतृत्वमा रहेका अरु पार्टीमा आवद्ध सहकर्मीले पनि स्वागत गरेको राईले बताए ।
२०४७ सालमा स्थापित गेसो प्रारम्भदेखि नै बामपन्थी पार्टीप्रति नजिक थियो किनभने काँग्रेसले भातृ संगठनका रुपमा गोर्खाहरूको अर्कै संस्था थियो । २०४८ को आमचुनावमा नेकपा एमाले प्रमुख प्रतिपक्षी दल बनेपछि गेसो एमालेसित नजिकिएको थियो । तत्कालिन एमाले अध्यक्ष मनमोहन अधिकारीले संसदमा विशेष समय लिएर गोरखाहरुको समस्यामा बोलिदिएपछि त झन् गेसो र एमालेको सामिप्यता बढेको थियो । तथापि गेसो एमालेले भातृ संगठन भने कहिल्यै रहेन । गेसो नेताहरु पार्टीका खास खास नेताहरुसँग नजिक रहने गर्दथे । कुनै समय एमालेमा प्रभावशाली रहेका वामदेव गौतमसँग पनि गेसोको नजिकको सम्बन्ध थियो ।
माओवादी र गोरखा आन्दोलन एकै समयमा शुरु भएको प्रसंग उल्लेख गर्दै राईले त्यतिबेला सुरेश आलेमगरले माओवादीमा लाग्न अनुरोध गरेको पनि स्मरण गरे ।
“केही पार्टीका केही नेताले गेसोलाई निषेध गर्ने, पाखा लगाउने गर्न लागे । डिलमा पुर्याएपछि बच्नका लागि त सबैले कोसिस गरिहाल्छ । गेसोको संरक्षण गर्न र वार्ताबाट गोरखाहरुको पक्षमा अधिकतम लाभ हासिल गर्न माओवादीमा जानैपर्ने भयो”, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री