जिन्दगीको पहिलो र अन्तिम दुई दिन

मानिसहरु भन्ने गर्छन् दुई दिनको जिन्दगी । हो मोजमस्ती अनि रमाइलो गर्नु पर्छ भनेर लापरबाही तरिकाले खानेकुराहरु खाँदै पिउँदै गरिरहेको हुन्छन् । तर उनीहरुले आफ्नो स्वास्थ्यको बारेमा भने ख्यालै राखेको हुँदैन। मजाले रातभरि निन्द्रा मारेर पिउँदै गरेको भोलिपल्ट टाउको दुखेपछि बल्ल थाहा हुन्छ कि ‘ओहो मैले पिउनु नहुने रहेछ । अबदेखि नपिउनु पर्ला’ भनेर सोच्ने गर्छौं। झगडा गरेर सम्बन्धदेखि के के तोडफोड भैसकेर पछुतो गर्नुभन्दा दुई दिन अगाडी मात्रै सोचेको भए केही हुने थिएन।
जीवनमा दुई दिन कति धेरै महत्त्व हुँदोरहेछ भन्ने कुरा जब बुढेसकाल हुन्छ तब मात्रै थाहा हुने रहेछ। हेमन्त रानाको ‘सुन साइँली चालीस काटेसी रमाउँला’ भन्ने गीत सुन्दा साँच्चै पो कि जस्तो पनि लाग्थ्यो तर होइन रहेछ। अब चालीस काटेसी रमाउनुभन्दा पनि दु:ख र पीडाको दिनहरु सुरुवात भएको जस्तो अनुभव हुन थालेको छ। अब कति नै बाँचिन्छ होला भन्ने चिन्ताले मानिसहरुमा विभिन्न रोगहरुले आक्रमण गर्न थालिसकेको हुन्छ। मानिसहरुलाई रोगले भन्दा पनि मनको चिन्ताले धेरै रोगहरु निम्त्याउने रहेछ जस्तो मलाई लागेको छ। मैले सामाजिक संजालमा एउटा अडियो सुनेको थिएँ । अमेरिकामा एक जना मान्छेलाई मृत्युदण्ड दिनुभन्दा अगाडी वैज्ञानिकहरुले परीक्षण गर्नको लागि कस्तो प्रतिक्रिया हुँदो रहेछ भनेर जान्नको लागि त्यो मान्छेलाई हामी तपाईलाई बिषालु सर्पले टोकाएर मृत्युदण्ड दिनेछु भनेछन् र उसको अगाडी एउटा बिषालु सर्प ल्याएर राखी दिए पछि उसको आँखा छोपी दिएछन्। त्यसपछि त्यो मान्छेलाई सर्पले टोकाउनुभन्दा पनि सियोले दुई ठाउँमा घोची दिएछन् र केही समयपछि त्यो मान्छे मरेछ । सर्पले टोक्नुभन्दा पहिले नै त्यो मान्छेमा नकारात्मक सोच आइसकेको थियो । त्यसैले त्यो मान्छे नकारात्मक सोचले नै मृत्यु भयो। साँच्ची नै अहिले आएको कोरोना भाइरस नामको रोगले भन्दा पनि मानिसहरुमा डर र त्रासको हावा फैलाएर मानिसहरुको मृत्यु भएको भन्ने मलाई लागेको छ।

जयराम तामाङ

जे होस् यो दुई दिनको होइन दुई सेकेन्डको पनि महत्त्व हुने रहेछ भन्ने आजभोलि लागि रहेको छ । म प्रत्येक दिन मेरो उमेर कति भयो भनेर सम्झने गर्दछु । मैले विगतमा के गरे र के गरिएन त्यो कुराहरु सम्झने गर्दछु। अहिले सम्मको जीवनको दौरानमा कहिले आरोह कहिले अवरोह कति भएको थियो । त्यो कुनै सम्झिनु लायकको थियो भने कुनै चाहिँ सम्झिन्न भने पनि मेरो मानसपटलमा घुमिरहन्छ। म काम गर्ने ठाउँमा प्रत्येक दिन आफूले बनाएको खाने कुराहरुको बनाएको मिति र नाम अनि कति दिनसम्म राख्न मिल्छ र त्यो खाने कुराहरु भित्र के के मिसाएको छ भनेर लेख्नु पर्ने हुन्छ। जब मिति लेख्न सुरु गर्छु तब म सोच्न सुरु गरिहाल्छु। ‘लौ आज त यति तारिख गइसक्यो अब मैले छिट्टो छिट्टो यो वर्षभरिमा यो काम गर्नु पर्छ, त्यो काम गर्नु पर्छ’ भनेर सोच्ने गर्दछु। कसैले आफू जन्मेको दिनलाई विशेष मान्छन् भने कसैले आफू वैवाहिक सम्बन्ध गाँसेको दिनलाई मान्ने गर्दछन्।
आ-आफ्नो विचार अनि सोचाइअनुसार फरक-फरक दिनलाई फरक-फरक तरिकाले महत्त्व दिने गर्दछ। विश्वका धेरै देशहरुले आमाको मुख हेर्ने दिन र बाउको मुख हेर्ने दिन अर्थात मदर्स डे र फादर्स डे मनाउने गर्दछ तर देशअनुसार फरक-फरक दिनमा मनाउने गर्दछन्। क्रिस्मस, रमादान, दशैँ तिहार जस्ता चाडपर्वहरु भने एकै तारिख मनाउने गर्दछन्।
मैले इश्वी सम्वत दुई हजार बाह्र साल डिसेम्बर बाह्र तारिखको दिन क्रिस्मस र नयाँ वर्षको लागि  क्रिस्मस कार्ड लेखेर काम गर्ने  ठाउँको सहकर्मीहरुलाई दिएको थिएँ । त्यो बेला मैले कार्डमा ‘आजको जस्तो दिन हाम्रो जीवनमा कहिल्यै फर्केर आउने छैन, यो पहिलो र अन्तिम हो’ भनेर सहकर्मीहरुलाई भनेको थिएँ। मैले त्यसबेला किन त्यसो भनेको हो भने त्यो दिनको जस्तो मिति हामीले जीवनमा कहिले पनि लेखन पाउने छैन भनेर भनेको थिएँ । त्यो दिन दुई हजार बाह्र साल, बाह्र महिना बाह्र तारिख बाह्र बजे त्यो कुरा मैले भनेको थिएँ।
यस्तै गरेर यो वर्ष पनि त्यस्तै  मिति लेख्ने मौका मिलेको छ। दुई हजार बाइस साल दुईको महिना बाइस तारिख बाइस बजे रातिको समयसहित लेख्दा  २२/०२ / २०२२ / २२ बजे भनेर लेख्न सकिन्छ। यस्तो किसिमको मिति अब मेरो जीवनमा मैले कहिल्यै लेख्न नपाउने भएर मेरो लागि पहिलो र अन्तिम मिति भएको छ।  त्यसैले मैले पनि दुईवटा युट्यूब  भिडियो बनाएर यही मितिको रातिको बाइस घन्टामा रिलिज हुने गरेर अपलोड गरेको छु।  येशू ख्रीष्ट जन्मेर यतिको दिन भैसकेको रहेछ भनेर संसारको धेरै मानिसहरुलाई थाहा नहुन पनि सकिन्छ।  तर वास्तवमा येशू ख्रीष्ट जन्मेको दिनदेखि गन्न शुरु गरेको दिन आजको मितिसम्म आइपुग्दा सबै दुई हुन पुगेको छ। जतिले इश्वी सम्वत प्रयोग गर्छन् उनीहरु सबैको लागि फेब्रुअरी बाइस तारिख दुईको महत्व अथवा त्यो मिति सम्झना योग्य होस्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री