युक्रेनमा रहेका आफ्ना नागरिकलाई अविलम्व युक्रेन छाड्न आग्रह

 

बर्लिन । युक्रेनमा बढ्दो रुसी हमलाका कारण विभिन्न देशले त्यहाँ रहेका आफ्ना नागरिकहरुलाई सुरक्षित स्थानमा जान सुझाव दिएका छन् ।

युक्रेनमा रहेका र त्यहाँ बस्नुपर्ने आवश्यकता नरहेका आफ्ना नागरिकलाई यूक्रेन छोड्न जर्मनीले शनिबार निर्देशन दिएको छ । तनाव बढ्दै जाँदा ‘सैन्य द्वन्द्वलाई रोक्न नसकिने’ भन्दै उनीहरूलाई स्वदेश फर्किन आग्रह गरेको हो ।

विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यूक्रेनी सीमा नजिकै रूसी सैनिक एकाइहरूको बृहत् चालका कारण गत केही दिनहरूमा रूस र युक्रेनबीच फेरि तनाव बढेको छ ।”

“हाल तपाईं युक्रेनमा हुनुहुन्छ भने तपाईंको उपस्थिति जरुरी छ कि छैन पक्का गर्नुहोस् । यदि जरूरी ठान्नुहुन्न भने केही समयको लागि यूक्रेनी भूगोल छोड्नुहोस् ।”

यसैगरी अष्ट्रेलियाले पनि युक्रेनमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिरिन आग्रह गरेको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमाथी रुसले हमला गर्ने खतरा देखिएकाले युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अनुरोध गर्नु भएको हो ।

रुसले युक्रेनसँगको सिमा क्षेत्रमा रहस्यमय तरिकाले हजारौँ सुरक्षाकर्मी तैनाथ गराएकाले रुसले युक्रेनमा आक्रमण गर्ने तयारी गरेको धेरैको दावी छ ।

“युक्रेन र रुसको सीमा क्षेत्रको अवस्था हेर्दा र विभिन्न चर्चा सुन्दा युक्रेनमा बसिरहनु अहिले सुरक्षाको दृष्टीकोणले अत्यन्त खतरा छ, त्यसैले हाम्रा सबै नागरिकलाई युक्रेनबाट बाहिरिन अनुरोध गर्दछौँ,” प्रधानमन्त्री मोरिसनले भन्नुभएको छ ।

उहाँले युक्रेनमा अशान्ति नहोस भन्ने आफूले चाहेको भएपनि द्वन्द्वको अवस्था सृजना हुने खतरा देखिएको उल्लेख गर्नुभएको छ ।

युक्रेनमा अहिले सुरक्षाको सुनिश्चितता नरहेको र जुनसुकै बेला जे पनि हुन सक्ने भएकाले त्यहाँ बसिरहनु उपयुक्त नहुने मोरिसनको भनाइ छ ।

यसअघि नै अमेरिका र बेलायतले युक्रेनमा रहेका आफ्ना नागरिकहरुलाई युक्रेन छाड्न सुझाव दिइसकेको छ ।

यसैबीच, रूसी विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन र पश्चिमले यूक्रेन र रूसबीच यूक्रेनमा द्वन्द्व चाहेको आरोप लगाउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री