भिडियो ब्लगमार्फत नेपालको पर्यटनको प्रचार

काठमाडौँ । जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा पारेको असर न्यूनीकरणका लागि विश्वसमुदायको ध्यानाकर्षण गर्न नेपालमा आयोजना गरिएको वर्ल्ड ब्लग च्यालेन्ज अन्तर्गत विश्वका चर्चित ब्लगर्सका भिडियोहरू सार्वजनिक गरिएको छ ।

पार्टी नेपालको आयोजना तथा नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) र इसिमोड लगायतका संस्थाहरुको प्रबर्धनमा गत कात्तिक ३ देखि ११ गतेसम्म विभिन्न देशका ११ जना ब्लगरहरूले खुम्बु क्षेत्र र सगरमाथा आधार शिविर पुगेर दृश्य खिचेका थिए । एघारमध्ये ६ ब्लगरले एक हप्तासम्म सो क्षेत्रमा रहेर तयार पारेका भिडियोहरु काठमाण्डौँमा प्रिमियर सो मार्फत प्रदर्शन गरिएको थियो । त्यसमा उत्कृष्ट तीनवटालाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

गत मङ्गलबारबाट सुरु भएको पब्लिक भोटिङमार्फत उत्कृष्ट पाँच ब्लग छानिने र त्यसपछि निर्णायक टोलीले तीनवटा सर्वोत्कृष्ट ब्लग छानेर पुरस्कार प्रदान गर्ने काठमाण्डौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उत्कृष्ट भिडियो ब्लग पहिलोलाई ५० हजार अमेरिकी डलर ( करिब रू.६० लाख) ,दोस्रोलाई ३० हजार अमेरिकी डलर (करिब रू.२६ लाख ) र तेस्रोलाई २० हजार अमेरिकी डलर (करिब रू.२४ लाख) प्रदान गर्ने आयोजकले जानकारी दिएको छ ।

सो प्रतिस्र्धामा वर्ल्ड ब्लग च्यालेन्जका लागि नेपाल सहित भारत, कोलम्बिया, फिलिपिन्स, थाइल्यान्ड र अमेरिकाका ब्लगरहरू सहभागी भएका थिए । उनीहरूलाई वर्ल्ड ब्लग च्यालेन्जको सामाजिक सञ्जालहरूमा गएर भोट गर्न सकिने आयोजकले जनाएको छ ।
प्रिमियर सोका क्रममा आयोजित पत्रकार सम्मलेनमा बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले यो प्रतियोगिताले जलवायु परिवर्तनका मुद्धालाई अन्तर्राष्ट्रियकरण गर्नुका साथै नेपाललाई विश्वसामू थप परिचित गराउन तथा पर्यटन प्रबर्द्धनमा समेत सहयोग पुर्याउने बताउनु भयो । यस्तै पार्टी नेपालका अध्यक्ष श्री गुरुङले कार्यक्रमको मुख्य उद्देश्य जलवायु परिवर्तनका विषयमा विश्वको ध्यान खिच्नु रहेपनि यसबाट नेपालको पर्यटन प्रवर्धन समेत हुने बताउनु भयो ।

विश्वविख्यात आरोही तथा वर्ल्ड ब्लग च्यालेन्लका टिम लिडर मिङमा डेभिड शेर्पाले नेपालका हिमालहरुमा निरन्तर हिउँ पग्लिने क्रम बढ्दै गएकोले यसले भविष्यमा मानविय संकट ल्याउनेतर्फ विश्व समुदायलाई सचेत गराउन आवश्यक भएको भन्दै यो प्रयासले त्यसका लागि सहयोगी हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री