काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी जान भोल्कले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज उहाँहरूबीच भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको हो ।
सो अवसरमा मन्त्री भुसालले अष्ट्रेलियासँगको साझेदारीलाई नेपालले उच्च महत्व दिएको उल्लेख गर्दै सन् १९६० देखिको द्विपक्षीय घनिष्ट, सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धलाई अझ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वले सामना गरिरहेको महामारी र जलवायु परिवर्तनका चुनौति बढ्दै गएकाले आपसी सहकार्य पहिलाभन्दा अझ बढी आवश्यक रहेको उल्लेख गर्नुभयो ।
नेपाल–अस्ष्ट्रेलिया साझेदारीलाई थप सुदृढ बनाउन राजदूतले निर्वाह गर्नुभएको भूमिकको प्रशंसा गर्दै मन्त्री भुसालले नेपालको आर्थिक तथा सामाजिक विकासमा अस्ष्ट्रेलियाले पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
राजदूत भोल्कले नेपालको आर्थिक तथा मानवीय क्षमता अभिवृद्धिका लागि अष्ट्रेलिया सरकारले निरन्तर सहयोग गर्ने विश्वास दिलाउनुभयो । भेटका क्रममा उहाँले जलस्रोत र नवीकरणीय ऊर्जा प्रवद्र्धनमा पनि सहयोग गर्न इच्छुक रहेको उल्लेख गर्नुभयो । राजदूत भोल्कले विद्युतीय सवारी साधन प्रवर्धन गर्न र जलस्रोतका क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न चाहेको बताउनुभयो । उहाँले जल तथा ऊर्जा आयोगको सचिवालयसँग सहकार्य गरी कमला बेसिनमा काम गरिरहेको उल्लेख गर्दै त्यसलाई थप प्रभावकारी बनाएर अगाडि बढाइने बताउनुभयो ।
जलस्रोत व्यवस्थापनमा सहकार्य गर्नका लागि नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अस्ष्ट्रेलियाको ‘कमनवेल्थ साइन्टिफीक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन’ (सीएसआइआरओ) बीच सन् २०१७ मा समझदारी भएको थियो । सो सम्झौताअनुसार सीएसआइआरओ र जल तथा ऊर्जा आयोगको सविचालयको साझेदारीमा कमला बेसिनको अवस्थाबारे अध्ययन गरी रणनीति बनाएर कार्यान्वयनमा लगिएको छ ।
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न