चीनबाट फर्किएपछि अनन्तले भने- ‘महासचिवमा मेरो दाबी छ’


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अनन्त’ले पार्टी महासचिवमा आफनो दाबी स्वभाविक भएको बताउनुभएको छ । चीनमा स्वास्थ्योपचार गरी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले आफू पहिले नै सचिव भइसकेकाले महासचिवमा दाबेदारी स्वभाविक भएको टिप्पणी गर्नुभयो ।

नेता पुनले भन्नुभयो, “सहमति जुट्न सकेन भने प्रक्रिया होस्, त्यसमा म ‘फेस’ गर्न चाहन्छु, पार्टी अध्यक्ष र नेताहरूलाई मैले उतैबाट पनि भनेको थिएँ । मलाई विश्वास छ, पार्टीले सहमतिमै टुङ्गो लगाउनेछ ।”

एक प्रश्नको जवाफमा नेता पुनले वर्तमान सत्ता गठबन्धनका वैचारिक धरातल र मान्यतामा धेरै भिन्नता भए तापनि लोकतन्त्र र परिवर्तनका उपलब्धिको रक्षा गर्ने विषयमा साझा मत रहेको र त्यो रहिरहने बताउनुभयो । पूर्वमन्त्री पुनले भन्नुभयो,“प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले लामो समयदेखि लोकतान्त्रिक प्रक्रियालाई अवरोध गरिरहेकोछ, जिम्मेवार राजनीतिक दलकारुपमा त्यसमा उसले पुनः विचार गरोस् । लोकतान्त्रिक प्रक्रियालाई अवरुद्ध गर्ने काम अन्त्य गरोस् ।” नेता पुनले आफू पूर्णरुपमा स्वस्थ्य भएको बताउँदै आफनो स्वास्थ्यलाभको कामना गरी चासो व्यक्त गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

नेता पुनलाई विमानस्थलमा नेता नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ताले स्वागत अभिवादन गर्नुभयो । करिब चार महिनाको उपचारपछि पूर्ण स्वास्थ्यलाभ गरी पार्टीका पूर्वस्थायी समिति सदस्यसमेत रहनुभएका पुन आज नेपाल फिर्ता हुनुभएको हो ।

हिमालयन एयरलाइन्सको फर्कंदै गरेको कार्गाे विमानमा टिकट मिलाएर पूर्वमन्त्री पुन, उहाँकी धर्मपत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला फर्कनुभएको छ । क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ वंशाणुगत जण्डिसको समस्या झेल्नुभएका पुनले चीन सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएर फर्कनुभएको हो । नेता पुनको सेनजेनमा ३९ र बैंककमा ५९ दिन उपचार गरियो । यसअघि उहाँको ललितपुरस्थित सुमेरू अस्पतालमा उपचार गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री