
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अनन्त’ले पार्टी महासचिवमा आफनो दाबी स्वभाविक भएको बताउनुभएको छ । चीनमा स्वास्थ्योपचार गरी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले आफू पहिले नै सचिव भइसकेकाले महासचिवमा दाबेदारी स्वभाविक भएको टिप्पणी गर्नुभयो ।
नेता पुनले भन्नुभयो, “सहमति जुट्न सकेन भने प्रक्रिया होस्, त्यसमा म ‘फेस’ गर्न चाहन्छु, पार्टी अध्यक्ष र नेताहरूलाई मैले उतैबाट पनि भनेको थिएँ । मलाई विश्वास छ, पार्टीले सहमतिमै टुङ्गो लगाउनेछ ।”
एक प्रश्नको जवाफमा नेता पुनले वर्तमान सत्ता गठबन्धनका वैचारिक धरातल र मान्यतामा धेरै भिन्नता भए तापनि लोकतन्त्र र परिवर्तनका उपलब्धिको रक्षा गर्ने विषयमा साझा मत रहेको र त्यो रहिरहने बताउनुभयो । पूर्वमन्त्री पुनले भन्नुभयो,“प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले लामो समयदेखि लोकतान्त्रिक प्रक्रियालाई अवरोध गरिरहेकोछ, जिम्मेवार राजनीतिक दलकारुपमा त्यसमा उसले पुनः विचार गरोस् । लोकतान्त्रिक प्रक्रियालाई अवरुद्ध गर्ने काम अन्त्य गरोस् ।” नेता पुनले आफू पूर्णरुपमा स्वस्थ्य भएको बताउँदै आफनो स्वास्थ्यलाभको कामना गरी चासो व्यक्त गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।
नेता पुनलाई विमानस्थलमा नेता नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ताले स्वागत अभिवादन गर्नुभयो । करिब चार महिनाको उपचारपछि पूर्ण स्वास्थ्यलाभ गरी पार्टीका पूर्वस्थायी समिति सदस्यसमेत रहनुभएका पुन आज नेपाल फिर्ता हुनुभएको हो ।
हिमालयन एयरलाइन्सको फर्कंदै गरेको कार्गाे विमानमा टिकट मिलाएर पूर्वमन्त्री पुन, उहाँकी धर्मपत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला फर्कनुभएको छ । क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ वंशाणुगत जण्डिसको समस्या झेल्नुभएका पुनले चीन सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएर फर्कनुभएको हो । नेता पुनको सेनजेनमा ३९ र बैंककमा ५९ दिन उपचार गरियो । यसअघि उहाँको ललितपुरस्थित सुमेरू अस्पतालमा उपचार गरिएको थियो ।
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न